
तर, पोल्यान्डका उत्पादकका अनुसार रूसको यो कदम राजनीतिबाट प्रेरित छ। रूसमाथि अमेरिका र युरोपेली संघले कयौं प्रतिबन्ध लगाएका छन्। युरोपेली संघको प्रतिबन्धको बदला दिन रूसले पोल्यान्डका फलफूलमाथि प्रतिबन्ध लगाएको आरोप पोल्यान्डका उत्पादकहरूको छ। रूसले यो आरोप अस्वीकार गरेको छ। फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल पोल्यान्डका मानिसले स्याउ खाएको तस्बिर राख्दै यो अभियानमा सहयोग गरिरहेका छन्। यस्तो गरेर किसानप्रति समर्थन देखाइएको हो। यसको सुरुवात एक पत्रकार ग्रेगोर्ज नवाकीले गरेका हुन्। उनले सुरुमा हाँस्दै स्याउ खाइरहेका तस्बिर सेयर गरे।
उनले तस्बिरमा ह्यासट्याग लेखेका छन्, 'पोल्यान्डका किसानका लागि दु:खद खबर छ। देशमा उत्पादन हुने स्याउमा करिब आधा स्याउ रूसमा निर्यात हुन्छ। मलाई लाग्छ कि किसानको सहयोगका लागि हामीले धेरैभन्दा धेरै स्याउ खानुपर्छ।' उक्त ह्यास ट्याग ट्विटरमा पूरै छायो। सामाजिक सञ्जाल फेसबुकमा पनि 'इट एप्पल्स टु एनोय पुटिन' मा हास्यास्पद तस्बिरहरू देख्न सकिन्छ। यसमा अहिलेसम्म नौ हजारभन्दा बढी लाइक आइसकेको छ। यो अभियान यति लोकप्रिय बन्यो कि पोल्यान्डका कृषिमन्त्रीसहित कयौं राजनेता यसमा सहभागी भएका छन्। देशको प्रमुख सुपरमार्केट चेन पोलो मार्केटले पनि आफ्नो फेसबुक र ट्विटर पेजमा यो अभियानको समर्थन गरेको छ।
प्रतिबन्धले हतियार बिक्री प्रभावित नहुने रुसको भनाई
मस्को : रूसमाथि पश्चिमी मुलुकले लगाएको प्रतिबन्धले मस्कोलाई अर्बौं अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न प्रभाव नपर्ने दाबी सरकारी स्वामित्वमा रहेको हतियार निर्यातक कम्पनीले गरेको छ। मस्कोको बाहिरी भागमा एक प्रदर्शनमा रोसोबोरोनेक्सपोर्टका प्रवक्ताले प्रतिबन्धले आफ्नो बजारमा परिवर्तन नगरेको बताए। कम्पनीका उपनिर्देशक इगोर सेभास्तियानोभले जमिनमा प्रयोग हुने हतियारको निर्यात कुल निर्यातको १० देखि १२ प्रतिशत हुने गरेको र त्यो अझै बढ्नसक्ने बताए।
उनले स्थानीय द्वन्द्वमा सधैं विमान, पनडुब्बी तथा विमानभेदक प्रणाली आवश्यक नपर्ने र त्यसमा ट्यांक गोलाबारुद, मेसिन गन, बन्दुकजस्ता हतियार आवश्यक पर्ने जानकारी दिए भनी इन्टरफ्याक्स समाचार संस्थाले उल्लेख गरेको छ। त्यहाँ ओबोरोनएक्सपो २०१४ सञ्चालन भइरहेको छ। रोसोबोरोनेक्सपोर्टले यस वर्ष १३ अर्ब डलर बराबरको हतियार तथा सामग्री बिक्री गर्ने लक्ष्य राखेको छ। गत वर्ष पनि उसले यत्तिकै मात्रामा हतियार बिक्री गरेको थियो।
क्राइमियालाई आफूमा गाभेको तथा युक्रेनमा रूस समर्थक पृथकतावादीलाई सहयोग गरेको आरोप मस्कोमाथि लगाउँदै इयु र अमेरिकाले प्रतिबन्ध लगाएका छन्। केही समयअघि मात्र युक्रेनको क्राइमिया राज्यमा जनमत संग्रह गरी रूसमा गाभिएपछि उक्त पूर्वी क्षेत्रमा पनि रूस समर्थक नागरिकले विद्रोह गरिरहेका छन्। उनीहरूले क्राइमियावासीले जस्तै जनमत संग्रहको माध्यमबाट आफूहरू रूसमा गाभिन पाउनुपर्ने माग गरिरहेका छन्। सरकारले भने उक्त निर्णय युक्रेनको संविधान र कानुनसम्मत नरहेको भन्दै देश टुक्रिन नदिने अडान लिँदै आएको छ। - एजेन्सी