नियमित व्यापारिक उडान सुरु गरेको छैठौं दिन (असार १६) मा ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेलको उक्त जहाज विराटनगर विमानस्थल अवतरण गरी धावनमार्गमा कुदिरहेका बेला चरासँग ठोक्किएको हो। त्यसपछि जहाज ग्राउन्डेड भएको थियो।
चरा ठोक्किएपछि जहाजको दायाँ पखेटामा रहेको एउटा प्रोपेलर (ब्लेड) चर्किएको छ। यो जहाजको एउटा पखेटामा ६ वटा प्रोपेलर छन्। 'त्यो चर्किएको एउटा प्रोपेलरको मूल्य १ करोड रुपैयाँ पर्यो,' निगमका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'यसबाहेक भन्सार शुल्क छुट्टै छ।'
उनका अनुसार चीनबाट मगाइएको प्रोपेलर अहिले वीरगन्ज भन्सार कार्यालयमा आइपुगेको छ। सामान छुटाउन निगमका अधिकारी त्यसतर्फ गएका छन्। चीनबाट सामान मगाइए पनि अन्यको दाँजोमा महँगो भएको उनले बताए।
विराटनगर विमानस्थलमा ग्राउन्डेड जहाज पुनः उडाउन प्रोपेलर सकेसम्म चाँडै जहाजबाटै ल्याउनुपर्ने भए पनि उक्त सामान पानीजहाजबाट भारतको कोलकाता बन्दरगाह हुँदै गाडीबाट वीरगन्ज आइपुगेको थियो। 'साढे दुई दशकपछि बल्ल नयाँ जहाज ल्याएको, नसोचेको घटना हुन पुग्यो,' ती अधिकारीले भने, 'व्यवस्थापनले पनि चाँडै जहाज उडाउन ताकेता गर्नुपर्ने, अलि ढिला भयो।'
चीनबाट मगाइएको प्रोपेलर महँगो भएपछि निगम व्यवस्थापनले भाउ घटाउन आग्रह पनि गरेको छ। अब चीनले कति घटाउँछ वा घटाउँदैन त्यसबारे अहिले केही भन्न नसकिने उनले बताए।
चरा ठोक्किएर जहाज ग्राउन्डेड भएलगत्तै निगम व्यवस्थापनले एक साताभित्र पुनः नियमित व्यापारिक उडान गर्ने जानकारी दिएको थियो। 'आगामी बुधबारसम्ममा प्रोपेलर काठमाडौं आइपुग्छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता सरोज कसजुले भने, 'सामान आइपुग्नासाथ विराटनगर लगेर जडान गरिहाल्छौं। बिहीबारबाट एमए–६० ले पुनः उडान गर्नेछ।'
चीनबाट मगाइएको प्रोपेलर महँगो भएका बारेमा भने प्रवक्ता कसजुले उक्त सामान 'कम्पोजिट मेटरियल' बाट बनेका कारण महँगो भएको जानकारी दिए। यस्तो मेटरियल ठूला जहाजमा प्रयोग हुने गरेको उनले बताए।
असार १६ मा काठमाडौंबाट विराटनगर गएको एमए–६० जहाजलाई चिनियाँ क्याप्टेन पाम क्वि र निगमका को–पाइलट प्रशान्त श्रेष्ठले उडाएका थिए। साथमा त्यही जहाजका दुईजना चिनियाँ इन्जिनियर पनि थिए। धावनमार्गमा जहाज कुदिरहँदा एउटा चरा दायाँ पखेटाको प्रोपेलरमा ठोक्किएपछि प्रोपेलर चर्किएको थियो।
चीनको जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनमा निर्मित यो एमए–६० जहाज गत वैशाख १४ मा काठमाडौं ल्याइएको थियो। त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजको चीनमा दर्ता खारेज गरिएको कागजात्र पठाइदिन निगमले वैशाख २२ मा निर्मातालाई पत्राचार गरेको थियो। तारन्तार आग्रह गरेको ३६ दिन (जेठ २७) मा बल्ल उताबाट दर्ता खारेज भएको पत्र पठाइदिएका थिए। त्यसपछि बल्ल असार ११ बाट जहाजले नियमित व्यापारिक उडान सुरु गरेको थियो।
नयाँ जहाज लिन निगम टोली चीनतिर
यसैबीच नेपाल वायुसेवा निगमको एक टोली अर्को एउटा नयाँ जहाज लिन चीन गएको छ। निगमका महाप्रबन्धक मदन खरेलले टोलीको नेतृत्व गरेका छन्। चीनले अर्को नयाँ जहाज लिन निगमलाई पत्राचार गरेपछि ५६औं वार्षिकोत्सव मनाएको भोलिपल्ट असार १८ मा टोली गएको हो।
जहाज अभावमा यात्रु र शाख गुमाउँदै आएको वायुसेवा निगम चिनियाँ जहाजबाट आन्तरिक उडान बजारमा उल्लेख्य हिस्सा ओगट्ने रणनीतिमा छ। अर्को जहाज आएपछि बजार हिस्सा थप बढ्ने छ। दुर्गम भेगको उडान संख्या पनि बढ्ने छ।
जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनबाट पत्र आएपछि निगमको टोली चीन गएको हो। चीनले भने यसअघि निगमलाई दिएको आपूर्ति मितिअनुसार यो जहाज सोमबार (असार १६) मा काठमाडौं अवतरण गर्ने तालिका थियो।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार ५६ सिट क्षमतायुक्त एमए–६० मोडेलका दुई र १८ सिटयुक्त वाई१२–ई मोडेलका चार जहाज उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
चीनले अहिले लिन बोलाएको जहाज अनुदानमा पाइने चाहिँ हो। यसअघि आएको एउटा एमए–६० पनि अनुदानमै दिइएको जहाज हो। त्यसैगरी सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने छन्। निगमले यसापालिबाट सबै जहाजको बाहिरी रंग, आवरण ढाँचा (लिभरी) अहिले भएका जहाजमा भन्दा नयाँ स्वरूपको बनाएको छ।
'बढीमा दुई साताभित्र अर्को नयाँ जहाजबाट दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तयारी भइरहेको छ,' सम्बद्ध एक अधिकारीले भने, 'पाइलट, इन्जिनियरलगायत सहभागी निगमको टोली चीनबाट फर्केपछि जहाज आउने मिति थाहा हुन्छ।'
जहाज आएपछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा जहाज दर्ता गर्ने, एयर वर्दिनेस प्रमाणपत्र लिने, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिनेजस्ता प्रक्रिया सुरु हुने उनले जानकारी दिए।