Headlines News :
fb
Home » » के रक्सीले मुटुलाई फाइदा गर्छ ?

के रक्सीले मुटुलाई फाइदा गर्छ ?

के रक्सीले मुटुलाई फाइदा गर्छ ?
डा. प्रकाशराज रेग्मी,

रक्सीले मुटुलाई बलियो बनाउँछ यस कारण मुटुका रोगीले रक्सी पिउनु पर्छ भने भ्रम कतिपयमा परेको देखिन्छ । हृदयघातबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देश पनि विभिन्न लेख रचनामा प्रकाशित हुने गरेको छ । रक्सी पिउनु हुन्छ वा हुँदैन, यसबाट फाइदा बेफाइदा के हुन्छ । यदि पिउनु हुन्छ भने कति मात्रामा पिउनु सुरक्षित हुन्छ भन्ने जिज्ञासा धेरै व्यक्तिमा रहेको हुन्छ । रक्सी (अल्कोहल) मादक पदार्थ हो । विश्वको सबै क्षेत्रमा यसको अत्यधिक प्रयोग भइरहेको छ । रक्सी पिउने चलन परापूर्वकालदेखिको हो । समाजमा अहिले रक्सी नपिउने मानिस एक्लो जस्तो हुन्छ, अनि रक्सी नराखिएको भोज खल्लो मानिन्छ । यसले मान्छेलाई पशु बनाउन सक्छ, पारिवारिक सम्बन्धलाई तोड्न सक्छ, समाजलाई नष्ट पार्न सक्छ, साथै मान्छेको शरीरको अङ्गप्रत्यङ्गलाई क्षतविक्षत पार्न सक्छ ।
रक्सी थोरै मात्रामा खाए औषधी हुन्छ धेरै खाए विष हुन्छ । भिटामिनलगायत कतिपय औषधीमा थोरै मात्रामा अल्कोहल मिसाइएको पनि हुन्छ । रक्सी पिउने जति सबैले अनुभव गरेकै हुनुपर्छ कि थोरै पिउँदासम्म मन खुसी र आनन्दको अनुभूति हुन्छ भने धेरै भएपछि चक्कर लाग्ने, टाउको दुख्ने, वान्ता हुने र बेहोस् हुने हुन्छ । रक्सीले शरीरलाई प्रत्यक्ष रूपमा असर पार्छ । अल्कोहल वियर, वाइन, रम, जिन, भोड्का, ब्रान्डी, ह्विस्की जस्ता पेय पदार्थमा पाइन्छ । यी पेय पदार्थमध्ये बियर, वाइन आदिमा अल्कोहलको मात्रा कम रहेको हुन्छ भने रम, जिन, भोड्का, ब्रान्डी र ह्विस्कीमा अल्कोहलको मात्रा बढी हुन्छ ।
पेय पदार्थमा अल्कोलको मात्रा
बियर ३–८% वाइन ८–१२%
रम ४०–४५% जिन ४०–४५%
ब्राण्डी ४०–४५% भोड्का ४०–४५%
ह्विस्की ४०–४५%
पिएपछि रक्सी सोझै पेटमा पुग्छ । पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्दछ । रगतमा रहेको अल्कोहलको मात्रा जति जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ । रक्सीले सबैभन्दा पहिलो असर पार्ने अङ्ग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन् । रक्सी पचाउने कार्य कलेजोले गर्छ । कलेजोमा अल्कोहल जम्मा हुँदै र विघटन हुँदै जान्छ । यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ जुन खर्च नभएको खण्डमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनलीहरू र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजाले जोडतोडका साथ काम गर्नु पर्ने हुन्छ । लगातार काम गरिरहनु पर्दा कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै गएर लिभर सिरोसिस हुने र कलेजो असफल हुने समस्या आइलाग्छ । रक्सी मुख्यतया कार्बोहाइड्रेट हो । यस कारण यसबाट शरीरलाई प्रशस्त क्यालोरी प्राप्त हुन्छ । यो शरीरका लागि शक्तिको सजिलो स्रोत हो, जसले शरीरको तौल बढाउँछ ।
कुन रक्सीले कति क्यालोरी (शक्ति) दिन्छ ?
रक्सीको किसिम मात्रा क्यालोरी
बियर २५० मिलि (१ गिलास) १२२
ब्रान्डी ३० मिलि (१ पेग) ९८
जिन ३० मिलि (१ पेग) ८४
रम ३० मिलि (१ पेग) ९८
ह्विस्की ३० मिलि (१ पेग) ९१
रेड वाइन १०० मिलि (१.५ गिलास) ८२
ह्वाइट वाइन १०० मिलि (१.५ गिलास) ७५
रक्सीको अत्यधिक सेवनले स्वास्थ्यमा हानी पु¥याउँछ । यसको अत्याधिक सेवनबाट कलेजोको रोग, दिमागको रोग, मुटुको रोग, क्यान्सर तथा दुर्घटना, आत्महत्या, पागलपन आदि समस्या भोग्नुपर्ने खतरा हुन्छ । हामीले रक्सीले मुटुमा पर्ने असरका बारेमा कुरा गर्दा रक्सीको मात्राको कुरा गर्छौं । थोरैदेखि ठीक मात्रामा पिउँदा फाइदा हुन्छ । धेरै मात्रा पिएमा बेफाइदा हुन्छ भन्ने गर्छौं । कति मात्रालाई थोरै र कतिलाई धेरै भन्ने ?
दैनिक एक सिसी बियर अथवा एक गिलास (२५० मिलि) वाइन अथवा ६० मिलि भोड्का, ह्विस्की आदि पिउनुलाई ठीक मात्रा भन्ने गरिन्छ । दैनिक योभन्दा कम लिनेलाई थोरै र धेरै लिनेलाई बढी मात्रा भनिन्छ । यो मापदण्ड ४० वर्ष काटेका पुरुषहरूका लागि हो । महिलाको हकमा कुरा गर्दा यसको ठीक आधा मात्रा हिसाब गर्नुपर्छ । पुरुषको तुलनामा महिलाको शरीर सानो र कमजोर हुने भएकाले रक्सीको असर महिलामा पुरुषमा भन्दा बढी हुन्छ । यो मापदण्ड अमेरिकी र युरोपेलीले बनाएका हुन् । जुन हामी नेपालीलाई लागू नहन पनि सक्छ तर वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको तथ्य यो हो कि थोरैदेखि ठीक मात्रामा रक्सी पिएको खण्डमा रक्सीले मुटुलाई फाइदा पु¥याउँछ तर धेरै भएको खण्डमा यसले मुटुलाई निकै नै क्षति गर्छ ।
रक्सीबाट मुटुलाई पुग्ने फाइदा
ठीक मात्रामा पिएको खण्डमा रक्सीबाट मुटुमा सकारात्मक असर पुग्न सक्छ । यसको सेवनले बढेको रक्तचापलाई घटाउँछ । रगतमा राम्रो कोलेस्टेरोललाई बढाउँछ । जसबाट हृदयघात हुने सम्भावना कम हुन्छ । रगतको जम्ने प्रवृत्तिलाई कम गर्छ । जसका कारण हृदयघात, एन्जाइना आदि समस्या घटाउँछ । साथै मुटुबाट हुन सक्ने आकस्मिक मृत्युलाई कम गर्छ ।
रक्सीबाट मुटुलाई पुग्ने बेफाइदा
धेरै मात्रामा पिएको खण्डमा अथवा पिउन नहुनेहरूले थोरै मात्रामा पिएको खण्डमा रक्सीबाट मुटुलाई बेफाइदा पुग्न सक्छ । यसले रक्तचाप बढाउँछ, मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस) गराउँछ, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । यसैगरी मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटु असफल हुन सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ । साथै रगतमा युरिक एसिड र ट्राइग्लाइसेराइड बढाउँछ । यस अतिरिक्त रक्सीले आन्द्राको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना बढाउँछ । रक्सीको सेवनबाट मुटुलाई केही फाइदा हुने कुरा वैज्ञानिकहरूले प्रमाणित गरिदिएको हुनाले के मुटु रोगबाट बच्न सबैलाई रक्सी सेवन गर्ने सल्लाह दिनु उचित होला त ? अवश्य पनि यो उचित होइन ।
सुझावः
१. रक्सी नपिउनेहरूले कहिल्यै रक्सी नपिउनु बेस ।
२. २० वर्ष उमेर नपुगेका पुरुष महिलाले रक्सीको सेवन नगर्नु उचित हुन्छ ।
३. गर्भवती महिलाले रक्सी सेवन गर्नु हानिकारक हुन्छ ।
४. कलेजोेको रोग, मधुमेह, उच्च रक्त ट्राइग्लाइसेराइड, युरिक एसिड, मिर्गौलाको रोग, क्यान्सर, अल्सर आदि भएकाहरूले रक्सी पिउनु अत्यन्त हानिकारक हुन्छ ।
५. मुटुका रोगीको सम्बन्धमा बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धड्कनको गडबडी भएकाहरू, रगत पातलो पार्ने औषधीहरू खाई राखेकाहरूले रक्सीको सेवन गर्नु हुँदैन ।
६. उच्च रक्तचाप, कोरोनरी मुटुको रोग, हृदयघात, उच्च रक्त कोलेस्टेरोल आदि भएकाहरूले थोरैदेखि ठीक मात्रासम्म रक्सी पिउँदा फाइदा हुन्छ ।
७. शरीरको तौल घटाउन चाहनेले रक्सी पिउनुहुँदैन ।
हुनत रक्सीहरू मध्ये रेड वाइनको मुटुलाई सबैभन्दा बढी फाइदा गर्छ भनिन्छ तर अनुसन्धानबाट यो पत्ता लागेको छ कि मुटुमा पर्ने असर सबै प्रकारका रक्सीबाट एकै किसिमको हो । रेड वाइनमा अरू रक्सीहरूमा भन्दा एन्टिअक्सिडेन्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीमा कोलेस्टेरोल जम्मा भई साँगुरिने गतिमा कमी आउन सक्छ ।
(लेखक राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा कार्डीयोलाजी युनिट–२ का प्रमुख र नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)
--------------------------------------------------------
जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस।
--------------------------------------------------------
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar