Headlines News :
fb
Home » » उपत्‍यकाभित्र साझा तथा बाहिर रात्रि बसहरुमा वाइफाइ र थ्रीडीको मज्‍जा लिनुस्

उपत्‍यकाभित्र साझा तथा बाहिर रात्रि बसहरुमा वाइफाइ र थ्रीडीको मज्‍जा लिनुस्

मानिसका लागि गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य र मनोरञ्जन पनि त्यत्तिकै आवश्यक मानिन्छ। पछिल्लो समय प्रविधि मानवको अभिन्न अंगजस्तै बनेको छ। अहिले धेरैको हातमा मोबाइल छ। सडकमा झाडु लगाउनेदेखि उच्च ओहोदाका कर्मचारी, व्यवसायी, बैंकर, विद्यार्थीमा मोबाइलको पहुँच छ। गाउँदेखि सहरसम्म मोबाइलको पहुँच पुगेपछि प्रविधिको प्रयोग पनि बढेको हो। त्यसैले कतै यात्रा गर्दा पनि उनीहरू प्रविधियुक्त सुविधा खोज्न थालेका छन्।

यस्तै साझा सहकारी लिमिटेडद्वारा काठमाडौंंमा सञ्चालित साझा यातायातले नेपाल टेलिकमको प्रविधि जडान गरेर साझामा चढ्ने यात्रुलाई वाइफाई सेवा उपलब्ध गराएको छ।




साझाले सरकारी स्वामित्वमा रहेको टेलिकम अपरेटर नेपाल टेलिकमसँगको सहकार्यमा एनटी वाइफाई सेवा प्रदान गरेको साझा यातायातका म्यानेजर महेन्द्रराज पाण्डेले बताए।

पाण्डेका अनुसार साझाले कलंकीबाट त्रिपुरेश्‍व र हुँदै एअरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल, महाराजगन्ज हुँदै गोँगबु बसपार्कसम्म दुईवटा रुटमा १६ वटा बस सञ्‍चालनमा ल्याएको छ। साझामा चढ्ने यात्रुले आफूले बोकेको फोन, ल्यापटप, आइप्याडलगायत आईटी डिभाइसबाट वाइफाईको मज्जा लिन सक्छन्।

वाइफाई चलाउन यात्रुले जीएसएम तथा सीडीएमए पोस्टपेड प्रिपेड मोबाइलको म्यासेज बक्समा गएर वाइफाई टाइप गरी १४१६ मा म्यासेज पठाएपछि एउटा पासवर्ड पाउनेछन्। उक्त पासवर्डबाट एक घन्टा इन्टरनेट चलाउन सकिनेछ भने यसको म्याद २४ घन्टासम्म रहनेछ। यात्रुले वाइफाई चलाएबापत १० रुपैयाँ मोबाइलबाटै काटिनेछ।

साझाले वाइफाई सेवाप्रति उपभोक्ताको आकर्षण हेरी आगामी दिनमा अन्य रुटमा चल्ने बसमा समेत वाइफाई हटस्पट सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। वैशाख १ गतेबाट सञ्चालनमा आएको साझा यातायातले एक वर्षमा २७ लाख यात्रुलाई सेवा दिन सफल भएसँगै यो सेवा उपलब्ध गराएको हो।

साझा बसमा जडान गरिएको वाइफाई सेवा आफू स्कुल जाँदा बाटोमा चलाउने गरेको शिक्षिका अनिता घिमिरेले बताइन्। प्रविधिको प्रयोग गर्नेका लागि पनि यो वाइफाई सेवा निकै फाइदाजनक रहेको उनको भनाइ छ। उनी भन्छिन्, 'बसमै वाइफाई हुँदा तत्काल आफूले चाहेको समाचार, घटना थाहा पाउन सजिलो भएको छ।'

यस्तै साझा यातायातमा यात्रा गर्ने शिक्षक ओम चौधरीको पनि यस्तै अनुभव छ। उनको भनाइमा साझा बसमा भएको वाइफाईले फेसबुकमा क्रिकेटको अपडेट हुन सजिलो बनाइदिएको छ। त्यसैगरी सागर गौतम पनि साझाको वाइफाईले आफूलाई विषयवस्तुको ज्ञान दिन सहयोग गरको बताउँछन्।

यसअघि लामो दूरीको यात्रा सहज र भरपर्दो बनाउन नेपालमै पहिलोपटक चन्द्रसूर्य डिलक्स गाडीले पूर्वको धरान, विराटनगरबाट काठमाडौंं आउनेजाने रात्रिबसमा वाइफाई र थ्रीडी सुविधा सुरुआत गरेको थियो।



यता लामो दूरीको यात्रा सहज र भरपर्दो बनाउन अहिले रात्रि बसहरूमा धमाधम थ्रीडी र वाइफाई सेवा नि:शुल्क गरिएको छ। राजधानी काठमाडौंबाट पूर्वको विराटनगर, धरान वा धरान, विराटनगरबाट राजधानी काठमाडौंसम्मको लामो यात्रामा थ्रीडी र वाइफाई सुविधा नेपालमै पहिलो पटक चन्द्रसूर्य डिलक्सले दिएको चन्द्रसूर्य बसका डाइरेक्टर रवि शाक्यले दाबी गरे।

शाक्यले भने, 'थ्रीडी र वाइफाई सुविधा पहिलोपटक २०७० कात्तिक १५ गतेदेखि काठमाडौं विराटनगर चल्ने ना. ५ ख १४६७ र ना. ५ ख १६६८ नम्बरको दुईवटा रात्रि बसमा राख्यौं। गाडीको यात्रा सहज बनाई यात्रुको अल्छीपना हटाउन यो सुविधा ल्यायौं। पछि त सबै रात्रि बसले थ्रीडी र वाइफाई सुविधा दिन थाले।' सूचनाप्रविधि मानिसको दैनिक जीवनसँग नजिक भइसकेकाले बसमै यस्तो सुविधा दिएको उनले बताए।



यसपछि यती ट्राभल्स, कोसी डिलक्स, मारुती डिलक्स, बाराही डिलक्स, एसएनएस डिलक्स, मकालु मितेरी मेट्रोलगायत लामो दूरीमा चल्ने बस व्यवसायीहरूले आआफ्ना गाडीमा एअर कन्डिसनलगायतका सुविधा उपलब्ध गराइरहेका छन्।

यसका साथै कतिपय यायायात व्यवसायीले भने गाडीको टिकट अनलाइनमार्फत नै बिक्रीवितरण गरिरहेका छन्। टिकट सेवा डटकम डट एनपीले अनलाइनमार्फत नै यात्रुलाई लामो दूरीको यात्राका लागि टिकट बुकिङ गर्ने व्यवस्था मिलाइदिएको छ।

तर पनि लामो दूरीमा यात्रुहरूले कसरी अनलाइन टिकट किन्‍ने भनेर उपयुक्त ठाउँ पाएका छैनन्। टिकक खरिद गर्न यात्रुहरूले भरपर्दो ईसेवा पाइरहेका छैनन्। कुनै पनि छुट्टै कम्पनीले टिकटकै लागि अनलाइन सेवा सुरु गरेका छैनन्।

नेपालमा लामो दूरीमा चल्ने कति यातायातमा थ्रीडी र वाइफाई सुविधा उपलब्ध छ भनेर नेपाल सरकार यातायात व्यवस्था कार्यालयसँग किटानी तथ्य भने छैन। यातायात व्यवस्था विभागका महानिर्देशक इन्द्रकुमारी थपलियाले भने देशभर थ्रीडी र वाइफाईका गाडीबारे कुनै तथ्यांक नभएको बताइन्। उनले भनिन्, 'मलाई त थ्रीडी र वाइफाईका गाडी चलेको भनेर जानकारी नै छैन। तर, काठमाडौंमा साझा बसमा भने यो सेवा सुरु भइसकेको सुनेकी छु।'

यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्‍जन भट्टराईले लामो दूरीका गाडीमा थ्रीडी र वाइफाई सुविधा हुनु दक्षिण एसियामै राम्रो उदाहरण भएको बताए। यायायात व्यवस्था विभाग मीनभवनका अनुसार अहिले देशभर करिब ३० हजार आठ सय ९५ गाडी दैनिक रूपमा गुडिरहेका छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar