Headlines News :
fb
Home » » लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ पखेटापट्टिको आकस्मिक ढोका (स्केप स्लाइड) मा रहेको ग्यासको बोतल नफेरेर करोडौं आम्दानी गुमाइरहेको छ। अहिले जहाजमै रहेको बोतलको म्याद २१ दिन (असार १७) अघि नै सकिएको थियो।

सम्बद्ध अधिकारीका अनुसार नाइट्रोजन ग्यास भरिएको हुने यस्तो बोतल जहाजलाई पानीमाथि वा जमिनमा आकस्मिक अवतरण गराउँदा निस्कने स्केप स्लाइड फुलाउन प्रयोग गरिन्छ। स्केप स्लाइड खुल्नासाथ यस्तो बोतलको नाइट्रोजन ग्यास स्लाइडभित्र जान्छ र स्लाइड फुल्ने गर्छ। त्यसपछि यात्रु त्यही स्लाइडमा चिप्लेटी खेल्दै बाहिर निस्किन्छन्।
स्केप स्लाइडको बोतलको म्याद सकिएपछि निगमले प्रत्येक उडान (एकतर्फी) ३६ सिट खालि उडाइरहेको छ। दुईतर्फी गर्दा ७२ सिटको आम्दानी खेर फालिरहेको छ। बोतलको म्याद सकिएको बोइङ एसिए जहाजले दैनिक एक उडान गरिरहेको छ। यो जहाजमा १ सय ९० सिट छन्।
सम्बद्ध अर्का अधिकारीका अनुसार निगमको अन्तर्राष्ट्रिय उडान भाडा दर एकतर्फी औसत २२ हजार रुपैयाँ पर्ने गर्छ। यो हिसाबले एउटा उडान (दुईतर्फी) बराबर ७२ सिटलाई ४४ हजार रुपैयाँले गुणा गर्दा ३१ लाख ६८ हजार हुन्छ। दैनिक ३१ लाख ६८ हजारका दरले २१ दिन (साउन ५) सम्म हिसाब गर्दा ६ करोड ६५ लाख २८ हजार रुपैयाँ आम्दानी चोखै गुमेको छ।
'निगम व्यवस्थापनको चरम लापरबाहीको यो उत्कृष्ट उदाहरण हो,' निगमकै एक वरिष्ठ क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सोमबार नागरिकसँग भने, 'अझै कति दिन यसैगरी उडाउने हो, पत्तो छैन।'
स्केप स्लाइडभित्र रहने बोतलको म्याद कहिले सकिने भन्ने त्यसैमा उल्लेख हुने भए पनि व्यवस्थापनले हेल्चेक्र्याइँ गरेको गर्यैा सोमबारसम्म पनि नयाँ बोतल नल्याएको उनले जानकारी दिए। 'यसको लेखाजोखा कसले गर्ने हो? जिम्मेवारी कसले लिने हो?,' उनले भने, 'सम्बद्ध अधिकारीहरू नै निगमको अस्तित्व हरण गर्न लागिपरेका छन्। होइन भने सामान्यभन्दा सामान्य काम बेवास्ता गरी करोडौं आम्दानी गुमाउनुको अर्थ के हो?'
निगमसँग रहेका दुई ठूला जहाज प्रत्येकको दायाँ र बायाँ भागमा गरी चार–चारवटा आकस्मिक ढोका (स्केप स्लाइड) रहेका छन्। उक्त बोतलको म्याद सकिएयता कम यात्रु उडाउने गरी आगामी शनिबार (साउन १०) सम्मका लागि जहाज उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार स्केप स्लाइडमा रहने नाइट्रोजन ग्यास बोतलको म्याद सकिएपछि कम यात्रु लिएर उडान गर्नुपर्छ।
'निगम व्यवस्थापनले यो विषयलाई कतिसम्म हेल्चेक्र्याइँ गरिरहेको छ भन्ने यसबाट पनि पुष्टि हुन्छ,' ती क्याप्टेनले भने, 'यसबारे पाइलटहरूले निगमका महाप्रबन्धक मदन खरेललाई पनि भेटेर जानकारी गराइसकेका छन्। तै पनि अहिलेसम्म केही काम भएको छैन। उड्डयन प्राधिकरणलाई केही हुने होइन, उसले म्याद थपिदिइरहन्छ। मुख्य कुरा ठूलो परिमाणको आम्दानी र उडान सुरक्षाको प्रश्न हो।'
अर्को कुरा के हो भने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि त्यस्तो खालको बोतल नयाँ खरिद गरेर फेर्नु कुनै ठूलो विषय होइन। सम्बद्ध अधिकारीका अनुसार नाइट्रोजन ग्यास भरिएको त्यस्तो एउटा बोतल नयाँ खरिद गर्नुपरे यसको वर्तमान बजार भाउ ४० हजार अमेरिकी डलर (३८ लाख ४० हजार रुपैयाँ) रहेको छ।
'निगमसँगै रहेको त्यस्तो बोतल मर्मत गर्दा पनि तीन हजारदेखि २० हजार डलरसम्म मात्र खर्च हन्छ,' उनले भने, 'यति सामान्य विषयमा पनि व्यवस्थापनले गम्भीर लापरबाही गरेको छ।'
निगमको इन्जिनियरिङ विभागले भने समस्या आउनसक्छ भनेर पहिले नै त्यस्तो बोतल विदेशबाट मगाएको जनाएको छ। विभागका एक अधिकारीले अमेरिकास्थित एक कम्पनीबाट बोतल मगाइएको भए पनि अझै काठमाडौं नआइपुगेको जानकारी दिए। 'अमेरिकी कम्पनीसँग साट्फेरको सर्तमा बोतल मगाएका छौं,' उनले भने, 'अब चाँडै आइपुग्छ।'
उनका अनुसार कार्गो कम्पनी डिएचएलमार्फत अमेरिकाबाट उक्त बोतल मगाइएको छ। डिएचएलले अमेरिकाको एक ठाउँबाट अर्कोमा ल्याएको थियो। तर त्यस्तो बोतलमा ग्यास भरिएको हुनाले विष्फोटक पदार्थअन्तर्गत पर्ने रहेछ। त्यही भएर हवाई जहाज नभई पानी जहाजबाट ल्याउनुपर्ने नियम रहेछ। त्यसकारण बोतल आइपुग्न ढिलो भएको हो।
निगमसँग यस्तो जगेडा बोतल स्टोरमा रहेछ, तर त्यसको पनि म्याद सकिइसकेको उनले जानकारी दिए। इन्जिनियरिङ विभाग जगेडा बोतलमा भर परिरहे पनि त्यसलाई उपयोग गरिसक्नुपर्ने मितितर्फ भने बेखबर देखिएको छ।
चिनियाँ जहाज आजबाट उड्ने
नेपाल वायुसेवा निगमसँग रहेको एउटा चिनियाँ जहाजले मंगलबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ।
गत असार १६ मा विराटनगर विमानस्थलमा चरा ठोक्किएर 'ग्राउन्डेड' भएको ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) जहाज पुनः असार ३२ मा राडारमा प्राविधिक समस्या उत्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो।
निगम व्यवस्थापनले गत आइतबारसम्म जहाज ग्राउन्डेड गरिएको जनाएको थियो। चीनबाट सामान मगाएपछि जडान हुनासाथ उडान गर्ने भने पनि अग्रिम टिकट बिक्री नहुँदा सोमबार उडान गर्न सकेन।
'आइतबार नै सामान आएर जडान भयो, तर नियमित उडान गर्न भने सकिएन,' सम्बद्ध एक अधिकारीले नागरिकसँग भने, 'मंगलबारबाट जहाज उड्छ।'
एमए–६० मा रहेको राडार बिग्रिएपछि यही जहाजको निर्माता कम्पनी जियना एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनबाट मगाएको थियो। यसका लागि पनि १ लाख डलर (करिब १ करोड रुपैयाँ) जति खर्च लाग्ने भएको छ। अहिले बिग्रिएको राडार पनि मर्मतपछि सञ्चालनमा आउँछ।
विराटनगर विमानस्थलमा चरा ठोक्किएर दुई साता ग्राउन्डेड भएको यही जहाज असार ३० बाट उड्न थालेको थियो। तर, दुई दिन नबित्तै राडारमा समस्या आएपछि पुनः ग्राउन्डेड भएको थियो। जहाजमा रहेको राडारको सहयोगमा पाइलटले 'भिजिबिलिटी' हेर्न तथा विमानस्थल टावरसँग कुराकानी गर्छन्।
उक्त जहाज काठमाडौंबाट विराटनगर पुगेपछि धावनमार्गमा कुदिरहँदा एउटा चरा ठोक्किएको थियो। त्यसबाट दायाँ पखेटाको एउटा प्रोपेलर (ब्लेड) चर्र्किएको थियो। एउटा पखेटामा ६ वटा ब्लेड हुन्छन्। क्षतिग्रस्त ब्लेड हटाएर नयाँ जडान गरेपछि जहाज काठमाडौं फर्किएको थियो। निगमले नयाँ प्रोपेलर फेर्न १ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो।
चीनको जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनमा निर्मित यो एमए–६० जहाज गत वैशाख १४ मा काठमाडौं ल्याइएको थियो। त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजले एकैचोटि असार ११ बाट मात्र नियमित व्यापारिक उडान गरेको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar