काठमाडौं, असार ३२ - धान रोपाईंको काम सकिएको दिनको रुपमा गाउँघरमा बिहीबार किसानहरुले साउने संक्रान्ति पर्व मनाउँदै छन् । महिनाभरि हिलोमा पसेर खोतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा, लुतोआदि आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी यस दिन लुतो फाल्ने गर्दछन् । गाउँघरमा यस दिन साँझ अगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँ 'लुतो लैजाउ' भनी अगुल्टो फ्याक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाएर त्यसको मलम बनाएर लगाउने चलन छ । शहर बजारतिर भने छोरीबेटीहरुलाई बोलाएर मिठा परिकारहरु बनाएर खृवाउने गर्दछ । यस दिनदेखि सूर्यको गति दक्षिण तिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भन्ने गर्दछन् ।
नेवार समुदायमा भने यस्तो चलन भएको देखिन्दैन । उनीहरु भने घण्टाकर्ण चतुर्दशी (गथाँमुग चह्रे) का दिन रोपाइँ समापन (नेपालभाषामा 'सीना ज्या ब्यूंकेगु) किसानहरुले यस दिन बिहानै घरमा लिपपोत गरी परिवारका सवै सदस्यहरुले नुहाई धुवाई गरी चोख्याउने गर्दछन् ।
साउन महिनाभरि पार्वतीले ब्रत बसी महादेव पति पाएकाले हिन्दू महिलाहरु लागि यो महिना महिना पबित्र मानिन्छ । यसैले यस महिनाभरि खास गरी विवाहिता महिलाहरुले आफ्नी परिवारको सुस्वास्थ्य, दिर्घायु र सुख स्मृद्धिको कामना गर्दै महादेवको बत, उपासना, पूजा आराधना गर्ने गर्दछन् । महिनाभरि खासगरी सोमवारका दिन महिलाहरु राजधानीको पशुपतिमा र मखन टोलस्थित महेन्द्रेश्वर महादेवको मन्दिरमा श्रद्धालु महिला भक्तजनहरुको भीड लाग्ने गर्दछ । यस पर्वमा उनीहरु हरियो पोते, हरियोनै चुरा र रातो लुगामा सज्जिएको हुन्छ ।