चैनपुर (बझाङ)- सात वर्षअघि दौलीचौर–९ घोगाडाका वीरसिंगे बोहरालाई परिवारको खर्च धान्न गाह्रो पर्थ्यो। खेतको उब्जनीले दुई महिना पनि पुग्दैनथ्यो। वर्षको आठ महिना अन्न बेसाउनै पर्थ्यो। सदरमुकाम चैनपुरमा कुल्ली काम गरी घरखर्च चलाउँथे।
तैपनि भरपेट खान सधैं गाह्रो। तर, यार्सागुम्बा संकलन थालेदेखि ८६ बर्से बोहराका दिन फेरिएका छन्।
७ छोरा र तीन छोरीका पिता बोहराको परिवारमा नाति–नातिना र पनातिना गरी ७१ सदस्य छन्। यति ठूलो परिवार यार्साकै भरमा बाँचेको छ। यार्सागुम्बा संकलन थालेयता बोहरा परिवार चैनपुरका सम्पन्नमा गनिन थालेको छ। चैनपुरमा तीनवटा घडेरी छन्। त्यसमा बनेको घरको समेत मूल्यांकन गर्दा उनीसित १ करोड रुपैंयाबढीको सम्पत्ति छ। गाउँमा सातवटा नयाँ घर बनाएका छन्। यसका लागि २१ लाख रुपैंयाभन्दा बढी खर्चिएका छन्। उनका ५ नाति राजधानीमा पढ्दै छन् भने १३ नातिनातिना चैनपुरमै बोर्डिङ पढ्छन्।
यो सबै यार्सागुम्बाको कमाइले सम्भव बनाएको बोहरा बताउँछन्। 'पहिला निगालोले डोको, डालो, मान्द्रो बुन्थें,' यार्सागुम्बा संकलन थाल्नुअघि फर्किए उनी, 'चुल्हो जलाउनै मुस्किल पर्थ्यो।' सगोलको परिवारको मासिक खर्च मात्रै ५० हजार रुपैयाँभन्दा बढी भएको उनले बताए। 'एउटा छोराको परिवारका सबैले वर्षमा ७ लाख रुपैयाँबढी यार्सा संकलनबाट कमाउँछन्,' बोहराले भने, 'पहिला जंगल फँडानी गर्दा नि खान पुग्दैनथ्यो, अहिले राम्रै गरी जीवन चलेको छ।'
दौलीचौर–२ का ७९ वर्षीय वीरजित बोहरा एक दशकअघिसम्म परिवारको खर्च धान्न भारतको नैनीताल जाने गर्थे। त्यहाँ भारी बोकेर कमाएको पैसाले पनि दुई छाक टार्न मुस्किल हुन्थ्यो। आर्थिक अभावकै कारण ९ छोराछोरीले उच्चशिक्षा हासिल गर्न सकेनन्। तर, पछिल्लो समय यार्साको कमाइले चैनपुरमा घरजग्गा जोडेका मात्र होइनन्, ७ पनाति–पनातिनालाई बोर्डिङ पढाउँदैछन्। 'यार्साकै कमाइले चैनपुरमा ६ वटा पक्की घर बनाएँ,' उनले भने, 'पसल थापेर व्यापारसमेत गर्दै छु।'
यार्सा संकलन थाल्नुअघि एक्लैको कमाइले खर्च धान्न नसक्दा पूरै परिवार भारी बोक्न भारत जानुपरेको विगत उनले सुनाए। 'मंसिरमा जान्थ्यांै, चैतमा फर्किन्थ्यौं तर पनि खान–लाउन मुस्किल हुन्थ्यो,' बोहराले भने, 'यार्सा संकलन थालेदेखि घर खर्च राम्रै चलेको छ, कुल्ली काम गर्न भारत जानुपरेको छैन।' परिवारका सबै जना मिलेर यार्सा संकलनबाट गत वर्ष ३० लाख रुपैयाँ कमाएको उनले बताए।
पछिल्लोपटक यार्सा बिक्रीको कमाइले बझाङको दुर्गम गाउँबाट सदरमुकाम चैनपुरमा बसाइँ सर्ने क्रम बढ्दो छ। दौलीचौरबाट मात्रै चैनपुरमा एक सयबढी परिवार बसाइँ सरेका छन्। उनीहरूले एकदेखि ६ तलेसम्मका घर बनाएका छन्। अनि उनीहरू बस्दै आएको टोलकै नाम नै 'यार्सा टोल' राखिएको छ। चैनपुरमा जग्गाको मूल्य यार्साकै कारण अकासिएको छ। प्रतिवर्गमिटर ३० देखि ४० हजार रुपैंया पर्छ। घरजग्गा जोड्न नसक्नेले पनि आफ्ना बालबच्चालाई गाउँबाट चैनपुर ल्याई पढाउने गरेका छन्। बर्सेनि विद्यार्थी पढाइखर्च जुटाउन यार्सा संकलनमा जाने गर्छन्। यसले शिक्षाको स्तरमा समेत सुधार आएको छ।
यार्सागुम्बाकै कारण जमिनको मूल्य अकासिएको छ। जिल्ला मालपोत कार्यालयका अनुसार पाँच वर्षयता जग्गा खरिद–बिक्री तीव्र छ। 'दुई वर्षयता मात्रै ७ सय घडेरी खरिद–बिक्री भए,' मालपोत अधिकृत रमेश पौड्यालले भने, 'बजारमा जग्गा अभावले एउटै घडेरी टुक्य्राउने चलन बढेको छ।'
fb