Headlines News :
fb
Home » » सविको बिदाइ

सविको बिदाइ

नीलकण्ठलाई सबैले कठोर मन भा'को भन्छन्। उनलाई पनि त्यस्तै लाग्थ्यो।
सविता नमरुन्जेल नीलकण्ठलाई आफ्नो मुटु करिब–करिब ढुंगाको हो भन्नेमा पक्का भइसकेको थियो।
...
'देश सम्झेर मात्र भावुक हुनू। जीवनमा अरू केही कुराप्रति भावुक भइस् भने राजनीति छाडिदिए हुन्छ,' दाइले भनेको कुरा नीलकण्ठको मनमा आइराख्छ। खासमा उनले यसैलाई मूलमन्त्र बनाएका थिए। नीलकण्ठले आफूलाई यसरी कठोर बनाए कि मुहार पनि रूखो देखिन थालेको थियो उनको। पार्टीको मिटिङमा अरू हाँसिरहँदा उनी चुपचाप हुन्थे।

'तपार्इं धेरै गम्भीर हुनु भो!' एकपटक पार्टी अध्यक्षले बैठकमै भन्दिए।
पार्टीको केन्द्रीय कमिटीको मिटिङ चलिरहँदा अध्यक्षको कुरामा अरूले पनि सहमति जनाए। 'हामी एजेन्डामा प्रवेश गर्दा ठिक होला,' नीलकण्ठले फिस्स मुस्कुराएर टारिदिए।
'जे भए पनि तपाईं हाम्रो पार्टीको महासचिव जस्तो मान्छे!' अध्यक्षले पार्टीभन्दा आफ्नै एजेन्डामा बल दिए, 'हँसीमजाक पनि गर्नुस्!
'म प्रयास गर्छु,' नीलकण्ठले यति भने। मध्यावधि चुनावको घोषणा भएकाले आफ्ना उम्मेदवारहरूको नाम टुंगो गर्न एक समिति बनाउने मिटिङको मुख्य एजेन्डा थियो।
...
नीलकण्ठ राष्ट्रिय एकता पार्टीका महासचिव हुँदै अध्यक्ष भए। ठिक्कको ज्यान, गोलो अनुहारमा ठूलो निधार अनि चम्किला आँखामा मोटो फ्रेम भएको चस्मा। उनको लामो नाकमा वर्षौंदेखिको चस्माको डाम बसेको थियो, जुन चस्मा सफा गर्ने क्रममा मात्र देखिन्थ्यो। प्रायः खैरो दौरासुरुवाल लगाउने उनी गृहमन्त्री भएपछि सेतो दौरासुरुवाल लगाउन थालेका थिए। जवानीका दिनदेखि नै उनी सर्ट–पाइन्टमा पनि ढाका टोपी लगाउँथे, जुन अझै छुटेको थिएन। प्रजातन्त्र ल्याउन क्रान्ति गर्दाताका भूमिगत बेलामा पनि उनले टोपी छाडेनन्। त्यसैले पञ्चायती सरकारले धेरै ढाका टोपी लगाउनेहरूलाई उनी भनेर पक्राउ गरेको थियो। पार्टीले टोपीले गर्दा सरकारले उनको पहिचान गर्न सक्ने र उनी पक्राउ परे पार्टीलाई ठूलो क्षति हुन्छ भनेर चेतावनी दिँदा पनि उनले टोपी छाडेनन्। उमेरमा अगाडिको कपाल टोपीभित्र ठुसेर टोपी मिलाउन उनलाई समय लाग्थ्यो, अहिले भने उनको खुइलिएको तालु टोपीले छोप्थ्यो।
उनका बुवा राणाहरू विरुद्ध लड्दा नीलकण्ठ सानै थिए। तर दाजु वैकुण्ठ भने बुवाको सबै कुरा बुझ्न सक्थे। वैकुण्ठले नै नीलकण्ठलाई बुवाको राजनीति बुझाएका थिए। देशमा प्रजातन्त्र आउनुअघि नै नीलकण्ठका बुवा दमले थलिएर मरे। वैकुण्ठले प्रजातन्त्र आएको सम्म देख्न पाए, तर नीलकण्ठ मन्त्री भएको हेर्न पाएनन्। वैकुण्ठ मर्दा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका थिए। पार्टीकै काममा तराई र काठमाडौं धाइरहने वैकुण्ठ औलो लागेर उचपार गराउन नपाई बिते। हनहनी ज्वरो आउँदा पनि दाजुले अस्पताल जान नटेरेको देखेर नीलकण्ठ दिक्क भएका थिए।
'दाइ पहिला उपचार गराऊँ,' उनले दाइलाई भनेका पनि हुन्, 'अनि पार्टीको काम सकौंला!'
खासमा त्यतिखेर काठमाडौंबाट पञ्चायतविरुद्ध छापिएका पर्चा बोकेर संगठन विस्तार गर्न वैकुण्ठ र नीलकण्ठ दुवै सिराहा झरेका थिए।
'देश बिरामी छ,' वैकुण्ठले भनेका थिए, 'तँ मलाई देखेर आत्तिन्छस्!'
'आफन्त, फलानो, चिलानो, ढिस्कानो कोही देखेर नआत्तिनु!' वैकुण्ठले त्यस बेला भनेका हुन्, 'देशबाहेक केही कुराले नअत्ताओस्! केही कुराले आँखा नभरिऊन् र केही कुराले पनि उन्मत्त नपारोस्।'
यो कुरा भएको भोलिपल्ट वैकुण्ठ सुतेको सुत्यै भए। दाजुको लास देखेर नीलकण्ठका आँखा भरियो, किनकि दाजुको मृत्युले देशलाई क्षति भयो भन्ने उनले ठहर गरे। पार्टीले वैकुण्ठका लागि गरेको श्रद्धान्जली कार्यक्रममा नीलकण्ठले भने, 'मेरा दाजुको मृत्युले भन्दा पनि पार्टीले एउटा कर्मठ योद्धा र देशले सच्चा सपूत गुमाएकोमा म मर्माहत छु।'
वैकुण्ठको मृत्युपछि उनी तुरुन्तै काठमाडौं आउन पाएनन्। सबै परिवार यतै थियो। उनी त काम फत्ते गरेर मात्र आए। उनी घरमा पस्न नपाउँदै भतिज उज्ज्वल, भतिजी उज्ज्वला दौडँदै आए। अँगालेर डाँको छाडेर रोए। सेतो सारीमा भाउजू सविता उनका लागि पानी लिएर आइन्। सधैं निधारमा चहकिलो रातो टीका र सिउँदोभरि सिन्दुर लगाउने भाउजूको फुङ्ङ उडेको अनुहारले नीलकण्ठको मन हल्लियो। उनको मुटु थरर्र काँप्यो, भर्खर २६ पुगेकी भाउजूको लामो जीवन दाजुविना कसरी बित्ला भन्ने सम्झेर। सविताको हातबाट पानी समाउँदा नीलकण्ठले देखे, भरिएको आँखा। चुहिएला–चुहिएला जस्ता उनका आँखामा अरू बेलाजस्तो गाजल थिएनन्।
'भाउजू हामीले आफूलाई कमजोर पार्नुहुन्न,' उनले उज्ज्वल र उज्ज्वलाको आँसु पुछिदिँदै भने, 'तपाई दह्रो भएर छोराछोरीलाई पनि दह्रो पार्नुपर्छ।'
त्यही साल भाउजूलाई साथी हुन्छ भनेर नीलकण्ठले मन्दिरासँग बिहे गरे। टाढाकी आफन्त मन्दिराबारे सविताले कुरा गरेपछि उनले एकैपटकमा 'हुन्छ' भनेका थिए।
...
देशमा बहुदल आउँदा नीलकण्ठका दुई सन्तान भइसकेका थिए। मन्दिराको भने मुटु दुख्ने व्यथाले मृत्यु भइसकेको थियो। नीलकण्ठले एकपटक बाहिर लगेर उपचार गराउन पनि भ्याएनन्। उनीसँग समय नै कहाँ थियो र? देशमा बहुदल ल्याउन दिनरात बैठक, भाषण, र्याचली सबतिर कुद्नबाहेक घरमा पानी पिउन पनि उनलाई समय थिएन। त्यसमाथि पञ्चायतको तारो बनेका उनी घर धेरै आउजाउ गर्न सक्दैन थिए। सविताले कसैगरी उनको हातमा घरको अवस्थाबारे चिठी लेखेर पठाउँथिन्। मन्दिरा भने ओछ्यानबाट उठ्नै नसक्ने अवस्थामा थिइन्। कतिचोटि त नीलकण्ठ पछि पढूँला भनेर खल्तीमा राखेको चिठी पाइन्ट धुने बेला झिक्नसमेत बिर्सन्थे। मसीले लेखेका चिठीका अक्षर यसरी नै पखालिन्थ्यो, जसरी साबुनको फिँजलाई पानीले पखाल्छ।
'मन्दिराले एकपटक हेर्न मन गरेकी छिन्, जसरी पनि घर आउनुहोला' भनेर सविताले पठाएको चिठी पनि त्यस्तै गरी पाइन्टसँगै धोइदिएको थियो। मन्दिरा बितेको एक महिनापछि घर आएका बेला सविताले रिसाएर भनेकी थिइन्, 'एकपटक तपाईंको अनुहार हेर्ने उनको अन्तिम इच्छा थियो।' आफूले पठाएको चिठीको बेवास्ता गरेकामा पनि उनी रिसाएकी थिइन्।
'भाउजू मैले त्यो चिठी नै हेरिनँ,' नीलकण्ठले भनेका थिए।
प्रहरीको निगरानी बढ्ने भएकाले उनी काजकिरियामा नआएको कुरा सविताले बुझिदिए पनि मन्दिराको इच्छा पूरा नभएकोमा चित्त दुखाएकी थिइन्।
देशमा बहुदल आएपछि नीलकण्ठ धेरैजसो सत्तामा नै रहे। पार्टी पहिलोपटक सरकारमा जाँदा उनको उमेर तेत्तीसमात्र थियो। त्यतिखेर पार्टीले उनलाई शिक्षामन्त्री बनाएको थियो। हो, त्यही बेलादेखि उनले दौरासुरुवाल लगाउन थालेका हुन्। पहिलेजस्तो भूमिगत रहनु नपर्ने भएपछि नीलकण्ठको दिनचर्या सामान्य बनेको थियो। मन्त्री क्वाटरमा हुँदा होस् वा सत्तामा नभएको बेला डिल्लीबजारमा भाडामा लिएको घरमा उनको समय बित्थ्यो। सरकारमा भएका बेला बिहान सबेरै उठेर नुहाएपछि एक गिलास कागती–पानी पिउँथे। अनि रोटी–तरकारी खाएर मन्त्रालय र पार्टी कार्यालय पुगिहाल्थे। दिनभरको व्यस्ततापछि साँझ छ बजे घर फर्किएर टिभीमा समाचार हेर्थे। पुस्तक पढ्थे। खाना खाने टेबलमा छोराछोरी, भतिजा–भतिजीसँग पढाइबारे जानकारी लिन्थे। सुत्ने बेला सविताले उनको कोठामा एक गिलास दूध लगिदिन्थिन्।
'धेरै नपढ्नूस्, रातिहुँदो,' सविता जहिल्यै एउटै कुरा भन्थिन्, 'आँखा यसै पनि कमजोर छ!'
...
नीलकण्ठको पार्टी सत्ताबाहिर थियो। उनी महासचिवबाट पार्टी अध्यक्ष भइसकेका थिए। हुन सक्ने काम तुरुन्तै गरिदिने र हुन नसक्ने काम हुँदैन भनिदिने उनको बानी थियो। जस्तोसुकै दबाब आए पनि हुन नसक्ने काम उनी गर्दैनथे। यही कारण पार्टी पंक्तिमा उनी खासै नरुचाइएका भए पनि जनताबाट प्रशंसित थिए। आर्थिक मामिलामा पारदर्शी उनको विपक्षीहरूले पनि खुलेर प्रशंसा गर्थे। उनी लोकप्रिय भए पनि आफ्नै सरकारले चुनाव गराउँदा उनको पार्टी पराजित भयो।
घरबाट रोटी–तरकारी खाएर पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दागर्दै एक्कासि उनलाई टाउको दुखेर आयो। पार्टीकै मोटरमा उनलाई सहयोगी गणेशले घर ल्याएर छाडिदिए। खासमा गणेशले त अस्पताल लान खोजेका थिए तर नीलकण्ठले घर पुर्याेइदिन भने। घरमा सविता दिउँसोको धन्दा गर्दै थिइन्।
'भाउजू, टाउको असाध्यै दुख्यो,' नीलकण्ठले भान्छामै गएर भने, 'अलिकति तेल तताएर दिनूस्!'
तेल तताएर कोठामा पुग्दा दुवै हातले मुख छोपेर नीलकण्ठ सुतिरहेको सविताले देखिन्। दुवै हात झिकिन् र टाउकोमा तेल हालेर मालिस गरिदिइन्।
'अलिक सन्चो भयो?' सविताले चोर औंला र बूढीऔंलाले निधारको बीचबाट दुवैछेउसम्म पुर्यालउँदै सोधिन्।
नीलकण्ठले बन्द आँखा खोले। आफ्नो सिरानीछेउमा बसेकी सविताका आँखा एकदम रूखा थिए। उनको निधार पनि खाली थियो। सविताले सिउँदो नपारी कपाल सरक्क कोरेर जुरो पारेकी थिइन। नीलकण्ठ जुरुक्क उठे।
'भाउजू सिन्दुर नलगाए पनि टीका र गाजल त लाउने गर्नूस्,' उनले कमेज लगाउँदै भने।
सविताले एक छिन नीलकण्ठलाई हेरिन्। नीलकण्ठका आँखामा उनको रूखो तस्बिर प्रस्ट देखिएको थियो।
सोही दिनदेखि उपत्यकामा हुँदा नीलकण्ठ सधैं बाह्र बजे खाना खान घरै आउन थाले। हरेक मिटिङ बाह्र बजेअघि वा एक बजेपछि मात्र राख्न सहयोगी गणेशलाई भने। उनले बसालेको यो नियममा कसैले फेरबदल गर्ने आँट गरेनन्।
...
न नीलकण्ठ बताउन सक्छन्, न सवितालाई नै थाहा भयो– कुन दिनदेखि नीलकण्ठले सवितालाई सवि भन्न थाले। हुर्कंदै गएका छोराछोरीले कुरा बुझे भन्ठानेर केही नभनी सविताको ओछ्यान नीलकण्ठले आफ्नै कोठामा सारे। उज्ज्वल बिहे गरेर आफ्नी पत्नीसहित क्यानाडा गएका थिए। कहिलेकाहीँ आएका बेला आमाको आँखामा गाजल र निधारमा टीका देखेर उनका आँखा रसाउँथे।
'आमा सब ठिक छ नि!' उनी यत्ति सोध्थे।
'ठिक छ,' सविताको जवाफ पनि यत्ति नै हुन्थ्यो।
नीलकण्ठ आफैंले हेरेर उज्ज्वलाको बिहे प्रशासनका अधिकृत गोविन्दसँग गरिदिएका थिए। बढुवापछि सिडियो भएका उनी सरुवा भएर विभिन्न जिल्ला पुगिरहन्थे। एकपटक काठमाडांैमै राखिदिन उज्ज्वलाले आमासँग भनेकी थिइन्।
'तपाईंले भने पछि सानोबुवाले नाइँ भन्नुहुन्न!' उज्ज्वलाले भनेकी थिई।
'यस्तो कुरा मैले भन्न मिल्दैन,' सविताले उज्ज्वलाको कपाल मुसार्दै भनिन्, 'भन्न सक्ने भए तँ आफैं भन्!'
उज्ज्वला खिन्न भएर गई। उज्ज्वलालाई थाहा थियो, उसले सोझै भनेर पनि केही हुनेवाला थिएन। सविता नीलकण्ठलाई यस्ता कुरा सुनाउँदैनथिन्। नीलकण्ठ दिउँसो घरमा खाना खान आउँदा अलि कर गरेर धेरै खुवाउनु र सुत्ने बेला नीलकण्ठले पढिरहेको किताब खोस्नसम्म उनलाई आँट आउँथ्यो।
नीलकण्ठको इच्छा थियो करुणले पनि आफूजस्तै राजनीति गरोस्, तर करुण चित्रकला भनेपछि हुरुक्कै हुने! उसले बुवाको कुरा मानेन।
'ठूली बुवालाई भन्दिनुहोला म नेतासेता बन्दिनँ,' करुणले सवितालाई भनेको थियो।
'त्यो गधा हुने भो,' नीलकण्ठले करुणको कुरा सुनेपछि सवितालाई भनेका थिए।
'उसलाई पनि लाग्छ,' सविताले हाँस्दै भनेकी थिइन्, 'तपाईं पनि गधै हुनुभो!'
'ओहो!' नीलकण्ठले सविताको कान समाउन खोजेका थिए तर सकेनन्।
'म गधा भएँ उसो भए!' हाँसेर यतिमात्र भने।
करुणालाई पनि बाको राजनीतिमा रुचि थिएन। ऊ मेडिसिन पढ्न भनेर भारत गएकी थिई। आफ्नै बुताले नाम निकालेर गएकी भए पनि केही पत्रपत्रिकाले खुलेरै त्यसमा नीलकण्ठको नाम जोडे। करुणाले दिनरात नभनी पढेको देखेर सवितालाई त एकपटक नीलकण्ठसँग कुरा गरौं कि भन्ने पनि लागेको थियो।
'म बुवासँग कुरा गरिदिऊँ,' सविताले करुणाको टेबलमा दूधको ग्लास राख्दै भनेकी थिइन्।
'ठूली मेरो बुवासँग आफैं कुरा गर्न सक्छु,' करुणाले रूखो स्वरमा भनेकी थिई, 'मलाई बीचको कोही मान्छे चाहिएको छैन।'
बुवाको कोठामा झुन्डिएको मन्दिराको ठूलो फोटो बिहान उठ्नेबित्तिकै ऊ आफैं पुछ्थी। करुणा स्कुलमै थिई, जतिखेर सविताको ओछ्यान नीलकण्ठको कोठामा सरेको थियो। त्यसपछि ऊ सोझै बुवाको कोठामा पस्न हिचकिचाउँथी। उसलाई त्यसपछि लाग्न थालेको थियो, उसकी आमाको फोटोमा धुलो जम्न थालेको छ। नीलकण्ठ बाहिर जाँदा ऊ बुवाको कोठामा पस्थी र आमाको फोटो निकालेर पुछ्न थाल्थी।
'मैले बिहानै पुछेको छोरी!' सविताले देखिन् भने भन्थिन्। बिहान उठेर नुहाइधुवाइ गरेपछि आफ्नै सारीको सप्कोले वैकुण्ठ र मन्दिराको फोटो फुछेर मात्र उनी पूजा कोठा पस्थिन्।
'पुछेको भए धुलो लाग्दैनथ्यो!' ऊ आफ्नो सेतो रुमालमा लागेको फोहोर देखाएर भन्थी।
'म तिम्रो टेबल पनि भोलिदेखि पुछिदिन्छु,' सविता भन्थिन्, 'त्यसपछि रुमालमा मैलो लाग्दैन।'
त्यसपछि करुणा बोल्दिनथी। सविता पनि बोल्दिनथिन् तर उनी थकित हुन्थिन्। उनको मुखबाट प्रायः दबाउँदा दबाउँदै पनि खुइय निस्कन्थ्यो। उनी करुणाले फोटो ठिकसँग टाँगेको ठाउँमा नराखुन्जेल छेउमै उभिन्थिन्। करुणाले फोटो राम्ररी नटाँग्ली र खस्ला भन्ने सवितालाई त्राहित्राहि हुन्थ्यो। करुणा गएपछि फेरि तिनी फोटो सफा गर्थिन् र त्यही फोटोमा हेरेर आफ्नो निधारको टीका मिलाउँथिन्। नीलकण्ठले एक दिन मन्दिराको फोटोको सिसामा उनको टीका मिलाइदिएपछि उनले त्यसै गर्न थालेकी हुन्।
नीलकण्ठ हरेक साँझ मन्दिराको फोटो हेर्थे र भन्थे, 'तिमी दिनभर मन्दिराको फोटो सफा गरेर मात्र बस्छौ कि क्या हो! कस्तो टल्केको!'
'करुणाले सफा गर्छे,' सविता नीलकण्ठसँग आँखा नजुधाई भन्थिन्।
कोठामा वैकुण्ठको पनि फोटो थियो। मन्दिरा र वैकुण्ठको फोटोको बीचमा सविता, नीलकण्ठ, उज्ज्वल, उज्ज्वला, करुण र करुणाको फोटो थियो। यो नीलकण्ठ आफैंले खिचाउन लगाएका थिए। उनलाई तस्बिरको सोख थिएन तर एक दिन घरमा सबै भएको बेला उनी आफंैले फोटोग्राफर बोलाएर खिचाएका थिए। फोटोको ठ्याक्कै मुन्तिर उज्ज्वलको परिवार, उज्ज्वलाको परिवार तथा करुण र करुणाको फोटो पनि थियो। सवितालाई त्यतिखेर नीलकण्ठसँगै फोटो खिच्ने मन थियो तर नीलकण्ठलाई भन्न सकिनन्।
...
देशमा माओवादी समस्या बढ्दो थियो। नीलकण्ठ आफ्नो पार्टीलाई फेरि स्थापित गर्न लागिपरेका थिए। पार्टीको काममा उनको व्यस्तता बढेको थियो। दिउँसो घरमा खान खान त आइपुग्थे तर बेलुकी अबेर हुन्थ्यो। सबैरै आइहाले पनि घरमा नै मिटिङ राखेका हुन्थे। सविता र उनको सम्बन्धलाई लिएर केही पत्रपत्रिकाले लेखिसकेका थिए। पहिला त पार्टीभित्र पनि निकै हल्लाखल्ला मच्चिएको हो तर नीलकण्ठले एक शब्द नबोलेपछि बिस्तारै अरू पनि चुप लाग्दै गए। सविताको कानसम्म यस्ता कुरा आउँदैनथे। उनी न पत्रिका पढि्थन् न टिभी हेर्थिन्। दिउँसो नीलकण्ठले दिल्ली जाँदा ल्याइदिएको एउटा क्यासेट प्लेयरमा उनी नारायण गोपाल, तारादेवी, बच्चु कैलाशका गीत सुनेर बस्थिन्। कहिलेकाहीँ त नीलकण्ठ घरमा आउँदा पनि गीत बजिरहेको हुन्थ्यो।
...
नीलकण्ठ फेरि सत्तामा आए! त्यस बेला उनले गरेका विदेश भ्रमणमा कहिले कर गरेर छोरा करुणलाई लगे त कहिले उनको खानपिनको ध्यान राख्न उज्ज्वलालाई लानैपर्ने अडान राखे। सबैले कुरेजस्तो उनले सवितालाई कहिल्यै लगेनन्। न त उनले कहिल्यै सविताको नाम नै लिए। त्यसैले मान्छेहरूले सोचे, नीलकण्ठ साँच्चै कठोर छन्।
विदेश भ्रमणमा हुँदा होस् वा उपत्यकाबाहिर; नीलकण्ठ हरेक साँझ सवितालाई फोन गर्थे। सविताले खाना खाए/नखाएको सोध्थे। सविताले उनलाई किताबमा अल्झेर ढिलो नसुत्न भन्थिन्। बस् यत्ति कुरा हुन्थ्यो। नीलकण्ठले सवितालाई कहिल्यै प्रेम गर्छु भनेनन्, न सविताले नै त्यस्तो केही भनिन्। कार्यकर्ता, अरू पारिवारिक नातागोताअगाडि नीलकण्ठ सवितालाई भाउजू नै भनेर बोलाउँथे। अरूअरू कानेखुसी गर्थे, 'बाहिर भाउजू, भित्र के! के!'
करुणले त एकपटक नीलकण्ठलाई सवितासँग बिहे नै गर्न पनि भनेको थियो।
'एक–दुई दिन त हो मान्छेले भन्ने!' उसले भनेको थियो, 'बेकार सधैं कुरा भइराख्नु भन्दा बुवा ठूलीसँग बिहे नै गर्नुस्।'
नीलकण्ठले जवाफ दिएनन्।
'हुन त तपार्इंको आफ्नो नेताको शानको कुरा होला,' करुणले भनेको थियो, 'तर ठूलीसँग प्रेम नै छ भने अरूका अगाडि लुकाउनुको तुक देख्दिन म!'
'हामी यत्तिकै ठिक छौं,' नीलकण्ठले भनेका थिए, 'तँ कलाकार मान्छे छिट्टै भावुक हुन्छस्।'
अरू कसैले नीलकण्ठसँग सविता र उनको सम्बन्धबारे खुलेर भनेको थिएन। घरमा आउँदा होस् वा बाहिर; मान्छेले उनीसँग सविताको खबर सोध्दा 'भाउजूलाई कस्तो छ' नै भनेर सोध्थे। उनी पनि 'भाउजू ठिकै हुनुहुन्छ' भनेरै जवाफ फर्काउँथे।
छोराछोरी सबैले डिल्लीबजारको डेरा छाड्दा पनि सविता र नीलकण्ठ अन्त सरेनन्।
'उहाँले मलाई यही घरमा ल्याउनुभएको हो,' सविताले भनेकी थिइन्, 'अब म यहीँ मर्छु!'
'यो घरमा बस्दा दाजुसँग बसेजस्तो लाग्छ,' नीलकण्ठले भनेका थिए, 'अब अन्त जान मन छैन।'
उनीहरूको यो टिप्पणीको सतही र गहिरो दुवै किसिमले चर्चा भए। अगाडि त कसैले भनेनन् तर सबैले कानेखुसी गरे, 'उनीहरू अब कहाँ छुट्टिन मान्छन् र!' खासमा यस्तो समाचार आएपछि सवितालाई 'भाउजू' भनेर भेट्न आउनेको चाप ह्वात्तै बढेको थियो। हातमा केही न केही बोकेर आउनेहरू सवितालाई नीलकण्ठसँग 'यसो भनिदिनुपर्योो, उसो भनिदिनुपर्योक' भन्न थालेका थिए। सविता 'बाबुलाई मैले यस्तो कुरा भन्ने गरेको छैन। जे गर्नुहुन्छ, बाबु आफैं निर्णय गर्नुहुन्छ' भन्थिन्।
'त्यसो नभन्नुस् न,' उनीहरू कर गरेर भन्थे, 'एकचोटि भनिदिनुभयो भने हाम्रो काम हुन्छ।' तर सविताले कहिल्यै केही भनिनन्। अनि बिस्तारै मान्छेको चाप होलो हुन थाल्यो।
'प्रेमजीले तिमीलाई आफ्नो कुरा भन्नुभएको रहेछ,' एकपटक नीलकण्ठले सवितालाई साधेका थिए, 'तिमीले मलाई भन्दै भनिनौ।'
प्रेमजी पार्टीका पुराना कार्यकर्ता थिए। छोराको जागिरको लागि नीलकण्ठलाई नै भेट्न जिल्लादेखि आएका थिए। नीलकण्ठलाई नभेटेपछि 'भाउजू तपाईंले नै भनिदिनुहोला!' भनेर गएका थिए। सबैलाई जस्तो सविताले प्रेमजीलाई 'मैले यस्तो कुरा भन्ने गरको छैन' भनेकै थिइन् तर उनले पत्याएनछन्। दुई महिनासम्म केही नभएपछि उनी नीलकण्ठलाई फेरि भेट्न आए। र, 'भाउजूलाई मैले भनेको थिएँ' भनेर गएछन्।
'मैले भनेको कुरा तपाईं गर्नुहुन्छ र?' सविताले उल्टै प्रतिप्रश्न गरेकी थिइन्।
'गर्दिनँ!' नीलकण्ठले चस्मा मिलाउँदै जवाफ दिएका थिए।
...
सविता कहिलेकाहीँ देब्रे छाती दुख्छ भनिरहन्थिन्। डाक्टरले उनलाई डिप्रेसन छ भनेका थिए।
'सवि, तिमी मनमा के कुरा खेलाएर बस्छौ हँ?' नीलकण्ठले सोधेका थिए।
'कहाँ केही कुरा खेलाउछु र म!' सविताले टारेकी थिइन्। तर व्यथा बढ्दो थियो। डाक्टरले दिएको औषधिले खास काम गरेजस्तो देखिँदैनथ्यो। उनको अनुहार पनि पहेँलिँदै थियो।
नीलकण्ठ एउटा सभालाई सम्बोधन गर्न मकवानपुर गएका थिए। सविता दिउँसो सधैंझैं गीत सुन्दै थिइन्। नारायण गोपालको 'एउटा मान्छेको मायाले कति फरक पार्दछ...' गीत बजिरहेको थियो। करुणा घरमा आई। डाक्टरी पास गरेपछि वीर हस्पिटलमा काम गर्न थालेकी ऊ सानेपामा बस्थी। उसको बिहेको लागि नीलकण्ठले सवितासँग कुरा गरेका थिए, 'तिमी एकचोटि सोध, उसको कोही छ कि? नत्र मैले एक जना डाक्टर नै हेरेको छु। आँखाका विशेषज्ञ हुन्, भर्खरै विदेशबाट पढेर आएका!'
करुणा सरासर बुवाको कोठामा पसेर आमाको फोटो पुछ्न थाली। सविताले उसले फोटो राम्रोसँग नटाँगुन्जेल ढोकैबाट हेरिरहिन्।
'अब के गर्ने विचार गरेकी छस् त नानी?'
'कस्तो के गर्ने विचार?' करुणा एक्कासि झकिई।
'बिहे गर्ने कि अझै पढ्ने?' करुणा जति झर्किए पनि सविताको स्वर उस्तै शान्त थियो।
'तपाईंले मलाई यस्तो प्रश्न गर्ने होइन!' करुणा झन् तात्तिई।
'बुवाले सोध्न भन्नुभएको थियो!'
सविताले त्यत्ति के भनेकी थिइन्, करुणाले ढोकाको छेउमा रहेको सिसाको फूलदानी नै फुटाइदिई। उसका आँखा राताराता भइसकेका थिए। रिसले ओठ काँप्न थालेका थिए।
'म र मेरो बुवाको बीचमा तपार्इं नआउनुस्,' ऊ चिच्याई, 'मैले पहिला पनि भनेको हो!'
सविता छातीमा हात राखेर थुचुक्क ढोकाछेउमै बसेकी थिइन्। दिउँसोको चिया ठिक्क पारेर सवितालाई बोलाउन जाँदा भान्छे केटो राकेशले सविता ढोकैमा लडेको देख्यो। उसले पहिला गणेशलाई फोन गर्योो, अनि एम्बुलेन्स बोलायो। सवितालाई वीर अस्पतालको इमर्जेन्सीमा राखियो।
गणेशलाई फोन आउँदा नीलकण्ठ भाषण गर्दै थिए। उनले 'देशमा बढिरहेको माओवादी समस्या, राजा वीरेन्द्रको वंशनास, आफ्नो पार्टीको फुटजस्ता कुराले परिस्थिति प्रतिकूल भए पनि आफू र आफ्नो पार्टीको लागि राष्ट्रको हित नै सर्वोपरी हो' भन्दा उपस्थित जनताले ताली बजाइरहेका थिए। भाषण सकाएर कार्यकर्ताको भेटघाटमा व्यस्त नीलकण्ठलाई गणेशले बारबार 'घरबाट फोन आएको थियो' मात्र भन्न सक्यो।
'घरको कुरा पछि गरौंला,' नीलकण्ठले त्योभन्दा बढी गणेशलाई बोल्नै दिएनन्। भीड शान्त भएपछि गणेश नीलकण्ठको छेउमा पुग्दा करुणको फोन आयो। उनले बुवालाई मागेका थिए। नीलकण्ठले फोन समाए।
'बुवा ठूलीलाई हार्टअट्याक भएको छ,' करुणले भन्यो, 'सबथोक छाडेर आउनुस्।'
नीलकण्ठले 'कोसिस गर्छु' भनेर फोन काटे। उनले गणेशतिर हेरे।
'दिउँसो एक बजे फोन आएको थियो,' गणेशले भने, 'हेलिकोप्टर मगाउन सकिन्छ। मगाऊँ?'
'पर्दैन,' नीलकण्ठले भने।
त्यसपछि पनि उनले केही कार्यकर्ता भेटे र साँझ पाँच बजे काठमाडांैका लागि हिँडे। बाटोभरि उनी केही बोलेनन्, बेलाबेला बल गरेर खोक्थे। उनलाई सर्दी छिट्टै लाग्ने भएकाले सविताले गणेशलाई बाहिर हिँड्दा नीलकण्ठलाई तातोपानी मात्र दिनु भनेर सधैं सम्झाउँथिन्।
'पानी पिउनुहुन्छ?' गणेशले आफ्नो सिटको छेवैमा रहेको थर्मस उचाल्दै सोधे।
'पर्दैन!' नीलकण्ठले पानी पिएनन्।
काठमाडांै पुग्नेबित्तिकै नीलकण्ठ सोझै अस्पताल गएनन्। घर गएर एक छिन सुस्ताए। राकेशले पस्किदिएको खाना एक गाँस मुखमा हाले। बाथरुमबाट कुल्ला गरेको चर्को आवाज आयो। त्यो एक गाँस नीलकण्ठले ओकलेको राकेशले बुझेको थियो। कोठामा आएर नीलकण्ठले मन्दिराको फोटो हेरे। अनि एक छिन दाजु वैकुण्ठको पनि! परिवारको फोटालाई हातले केही बेर सुम्सुम्याए। अनि निकै अबेर ११ बजेमात्र उनी अस्पताल गए। सवितालाई अक्सिजन मास्क लगाएर आइसियुमा राखिएको थियो। उज्ज्वला र करुण बाहिर उभिरहेका थिए। नीलकण्ठलाई देखेर दुवैका आँखा भरिएर आए। उज्ज्वलाले त नीलकण्ठलाई अँगालेर रुन थाली हाली।
'केही हुन्न!' नीलकण्ठले ढाडस दिए।
डाक्टरले त भित्रै गएर हेर्न हुन्छ भनेका थिए, तर नीलकण्ठले ढोकामा भएको चारकुने सिसाबाटै सवितालाई चिहाएर हेरे। सविताको निधारको रातो टीका प्रस्ट देखियो।
'भोलि मेरो मिटिङ छ, सात बजे नै!' नीलकण्ठले करुणलाई भने, 'म घर जान्छु।'
'हुन्छ,' करुणले भन्यो, 'ठूलीको होस आएपछि खबर गर्छु।'
अस्पतालबाट बाहिरिँदा केहि पत्रकारले उनलाई छेकेर सोधे, 'तपाईंको भाउजूलाई खासमा भएको के हो?'
'सामान्य हो,' नीलकण्ठले छोटो जवाफ दिए, 'डाक्टरले एक–दुई दिनमा ठिक हुन्छ भनेका छन्।'
उनी मोटर चढेर हिँडिहाले।
नीलकण्ठ कतिखेर झकाए उनैलाई थाहा भएन। आँखा खोल्दा करुणा उनको सिरानछेउकै कुर्सीमा बसेकी थिई, जहाँ अरू बेला सविता हुन्थिन्– तातोपानीमा डुबाइएको रुमाल र चस्मा लिएर। रुमालले मुख पुछेपछि चस्मा लगाएर उनी सवितालाई हेर्थे। आज सविता थिइनन्, चस्मा फेला पार्न नीलकण्ठलाई हम्मे पर्योर। उनका आँखाका डिल सुन्निएका थिए। नाकबाट आएको पानी उनले हातैले पुछे।
करुणाले दराज खोलेर हेरी। बुवाका सबै लुगा मिलाएर राखिएका थिए। उसले किताब राख्ने र्याउकतिर रुमाल र चस्मा खोजी तर भेटिन। राकेशलाई बोलाएर सोधी। उसले पनि भन्न सकेन। ऊ सविताकै कोठामा गई। सविताको कोठामा एउटा पुरानो पलङ, एउटा पुरानो दराज, एउटा पुरानै टेबल, टेबलमाथि सेतो लेश र लेशमाथि क्यासेट प्लेयर थियो। बिजुलीको प्लग टेबलको ठिक माथि थियो। पलङकै तल एउटा परालको ठूलो चकटी, चकटीछेउमा सानो काठको स्टुल र स्टुलमाथि परालबाटै बनेको सानो ढाकी र ढाकीमा रुवा, खरानी र केही कातिएका बत्ती थिए। एउटा सानो गाजलको डिब्बा पनि थियो। उसले डिब्बा खोली र सुँघी। तोरीको तेलको बास्ना आयो। उसले सविताको दराज खोली। दराजमा केही थान सारी मिलाएर राखिएका थिए। एउटा फोटो एल्बम थियो। उसले एल्बम ओल्टाइपल्टाई हेरी। एल्बममा पहिला वैकुण्ठको अनि मन्दिराको अनि त्यसपछि केही उनीहरूका पारिवारिक फोटा थिए। करुणाले डाक्टरी पास गरेको दिनको फोटो पनि थियो। करुणको चित्रकला प्रदर्शनीका साथै उज्ज्वल र उज्ज्वलाका बिहेका केही फोटा पनि थिए। नीलकण्ठ र सवितामात्र भएको एउटै फोटो थिएन।
उसले भित्तातिर हेरी। निदाउँदा सविताको आँखा पर्ने ठाउँमा ठ्याक्कै नीलकण्ठको कोठामा भएजस्तै फ्रेम हालेका फोटा थिए। उसले आफ्नी आमाको फोटोमा हातैले पुछी अनि आफ्नो हत्केला हेरी। हत्केला उस्तै गरी सफा नै थियो। उसले सविताको सिरानी उठाएर हेरी, त्यहाँ टीकाका केही पत्ति थिए। ओछ्यान पल्टाएर हेरी– गणेशको, उज्ज्वलको, उज्ज्वलाको, करुण र करुणाको फोन नम्बर लेखिएको एउटा सानो कागजको टुक्रा थियो। सविता बारबार फोन नम्बर बिर्सिरहन्थिन्। करुणाले देखेकी थिई, सविताले फोन नम्बर मिलाइदिन राकेशलाई भनेको!
'उज्ज्वललाई फोन लगाऊ–लगाऊ राकेश!' उसले यो पनि सुनेकी थिई।
'सवि...' नीलकण्ठले अलि चर्कै स्वरमा कराए।
करुणा दौडेर आई।
'बुवा ठूली त अस्पतालमा हुनुहुन्छ,' बोल्दा करुणाको स्वासप्रश्वास तीव्र थियो।
'मैले चस्मा भेटिनँ,' नीलकण्ठ भकभकाए।
करुणाले बुवाकै कोठामा फेरि यताउता नजर डुलाई। बुवाको सिरानको देब्रे साइडमा एउटा सानो स्टुल थियो। स्टुलमा निलो थर्मस र छेउको प्लेटमा सेतो रुमाल थियो। एउटा ठिक्कैको स्टिलको कचौरा पनि। कचौरालाई स्टिलकै प्लेटले छोपिएको। त्यही प्लेटमाथि नीलकण्ठको चस्मा थियो। करुणा र नीलकण्ठ दुवैका आँखा एकैपटक चस्मामाथि परे। नीलकण्ठ लम्किन खोजेका थिए तर करुणाले 'म दिन्छु' भन्दै आफंै गएर चस्मा उठाई।
'तेरो हातमा चोट त लागेन?' नीलकण्ठले करुणाको हातबाट चस्मा लिँदै भने।
'चोट?' करुणाले कुरा बुझिन।
'सिसाका टुक्राटुक्री उछिट्टिएर लागे कि भनेर!' नीलकण्ठले थर्मसबाट कचौरामा पानी खन्याउँदै भने।
करुणा केही बोलिन।
नीलकण्ठ सधैझैं बाथरुम गए। करुणा बुवाको ओछ्यान मिलाउन थाली। सविताले यस्तै गरेको उसले ढोकाबाट चिहाएर हेरेकी थिई। सिरानीमुनि सविताको एउटा फोटो थियो। ठूला आँखामा गाजल, निधारमा ठूलो टीका अनि खाली सिउँदो। बाथरुमको ढोका खुलेको आवाज आएपछि हत्तपत्त उसले फोटो जस्ताको तस्तै राखेर सिरानी मिलाई।
'बुवा, ठूलीलाई मेजर हर्टअट्याक भएको हो,' करुणा भक्कानिई, 'सायद अब बाँच्नुहुन्न होला!'
'नकरा!' नीलकण्ठ पहिलोपटक करुणासँग झर्किएका थिए।
'बुवा मैले ठूलीलाई हिजो...' करुणा बोल्नै सकिन।
'चुप लाग्,' नीलकण्ठले बोल्न पनि दिएनन्।
बाह्र बजे खाना खाने समयमा नीलकण्ठ अस्पताल गए। सवितालाई भेन्टिलेसनबाटै चिहाए। सविताको निधारमा टीका थिएन। सायद नर्सहरूले झिकिदिएको हुनुपर्छ। चस्मा निकाले र रुमालले मुख पुछे।
बेलुका नीलकण्ठ डेरा फर्कंदा सिधै सविताको कोठामा गए। दराज खोले, ओछ्यान पल्टाए। उही करुणाले देखेका सामानहरू नै थिए। केही फेरबदल थिएन। ओछ्यान पल्टाउँदा बिग्रिएको तन्ना मिलाउन लाग्दा पलङमुनिका केही सामानमा उनको खुट्टा ठोक्कियो। तन्ना यत्तिकै छाडेर उनले टाउको घुसारे। पुरानो करुवामा खुट्टा ठोक्किएको रहेछ। तर पलङमुनि करुवामात्र थिएन, पर एउटा पोको पनि थियो। पोको झिक्दा नीलकण्ठको टाउको ठोक्कियो पनि। टाउको मुसार्दै उनले पोको खोले। पोकोमा नीलकण्ठ र सविताको सम्बन्धको बारेमा लेखिएका पत्रिकाहरू थिए।
– नीलकण्ठ अरूका अगाडि भाउजूलाई सविता भन्न सक्दैनन्।
– नीलकण्ठको प्रेम घरमा मात्र सीमित।
पत्रिकामा यस्तैयस्तै आशयका खबर थिए।
सविता ठिक भइनन्। डाक्टरहरूले सवितालाई भोलिपल्ट दिउँसो एक बजे मृत घोषित गरे। अस्पतालको औपचारिकता सकिएपछि करिब ११ बजे सविताको लास डेरामा ल्याइयो। नीलकण्ठ आँगनको कुनामा कुर्सीमा बसेका छन्। मान्छेहरू सविताको शवमा फूल चढाउँदै नीलकण्ठलाई 'भाउजूको मृत्युले हामी पनि दुखी छौं' भनेर समवेदना दिइराखेका छन्। नीलकण्ठको आँखा एकदम सुख्खा छ। बेलाबेलामा नाकबाट बगेको पानी उनी रुमालले पुछिरहेका छन्। उज्ज्वल भर्खरै छोराछोरी र पत्नीसहित आइपुगेको छ। उज्ज्वला र करुणा एकअर्कालाई अँगालेर रोइरहेका छन्। उनीहरूको ठूलो डाँको बिस्तारै घट्दै सुँक्कसुँक्कमा आइपुगेको छ। करुण हातमा रुमाल लिएर घरी आँखा त घरी नाक पुछिरहेको छ।
आँगन फराकिलो नभएकाले मान्छेहरू एकअर्कासँग करिब–करिब टाँस्सिएर बसेका छन्। छोराछोरीले एकपटक त सविताको शव पार्टी कार्यालय लाने कि भनेर पनि नीलकण्ठलाई सोधेका थिए। नीलकण्ठले मानेनन्।
पण्डितले आफ्नो औपचारिकता पुर्यालएपछि कात्रोले बेरिएको लास उठाउन उज्ज्वल, करुण, गोविन्द र राकेश अघि सरे। शंख फुक्दै पण्डित अघि लागिसकेका थिए।
'एक छिन!' नीलकण्ठले मलामीलाई रोके।
उनले सविताको लास तल राख्न लगाए। कात्रो फुकाएर सविताको अनुहार हेरे। बन्द आँखा, फुङ्ङ परेको कपाल, खाली निधार लिएर सविता मस्त सुतेजस्ती देखिन्थिन्। औषधिले उनका गाला सुन्निएका थिए। नीलकण्ठको आँसुका थोपा एकपछि अर्को गर्दै सविताको अनुहारमा पर्दै गयो। कामेको हातले कमेजको खल्तीबाट टीकाको पत्ति निकालेर एउटा रातो टीका उनले सविताको निधारमा टाँसिदिए। अनि उनी घरभित्र जान लागे।
'बुवा तपार्इं मलामी नजाने?' करुणले सोध्यो।
'मैले सविलाई यहीँबाट बिदा गरेँ!' नीलकण्ठले यत्ति जवाफ दिए।
भीडमा खासखुस भयो। प्रस्ट कसैले कसैको कुरा सुनेनन्। भोलिपल्ट अखबारमा आयो– नीलकण्ठले सविलाई आँगनबाटै बिदा गरे।

Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar