उदयपुर– राजधानीबाट आइरहेका एक यात्रुलाई बसभित्रै बेहोस पारेर उनको ५० हजार नगदलगायत लुटिएको छ। काठमाडौंबाट गाईघाटका लागि छुटेको ना३ख ७६९७ नम्बरको गंगा सागर यातायातमा सवार भलायाडाँडा–७ सिम्लेका ३१ वर्षीय रितबहादुर राईलाई लठ्याउने औषधी सुँघाएर बसभित्रै लुटपाट गरिएको पीडित परिवारले बताएका छन्।
बेहोश राईको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। साँझसम्म उनको होस खुलेको थिएन। रात्रिबसमा आइतबार अपरान्ह काठमाडौंबाट चढेका राईलाई पाइन्टको दाहिने गोजी काटेर त्यहाँ राखिएको ५० हजार नगद र केही जिन्सी सामान झिकेको अवस्थामा सोमबार बिहान आफन्तले फेला पारेका थिए।
सोभन्दा बढी पनि रकम हराएको हुनसक्ने अनुमान भए पनि दाई बोल्नै नसक्ने गरी बिरामी भएकाले यकिन रकम कति हो भन्न नसकिने बहिनी सबिनाले बताइन्।
‘५० हजारचाहिँ भतिजाले मलेसियाबाट पठाएको रकम लिएर आउँदै गरेकाले पत्तो लाग्यो,' उनले भनिन्, ‘तर त्योभन्दा बढी कति हो भन्ने उहाँको होश खुलेपछि मात्र थाहा हुन्छ।'
भलायाडाँडा जाने बाटो उदयपुर र सप्तरीको सीमानानजिक सिसुवारीमा बिहान साढे दुई बजे नै गाडी आइपुगे पनि उनी बेहोश भएकाले सदरमुकाम गाईघाट आईपुगेका थिए। पहाडी बजार साउने पुग्दा बिहान ११ बजेतिर पहिलोपटक उनको होश खुलेको थियो।
पैसा लिएर हिँडेको मान्छे बिहान पाँचबजेसम्म आइनपुगेपछि खोजी गर्दा गाडीमै उनी साउने पुगेको पत्तो लागेको थियो। प्रहरीको सहयोगले उनी गाईघाट फर्काइए पनि बोल्न नसक्ने भएकाले उपचारार्थ अस्पताल भर्ना गरिएको आफन्तले बताएका छन्। चालक दलले यात्रुहरुसँगै मुग्लिनमा खाना खाएका उनी निदाएका कारण बोलाउँदा नबोलेपछि रुट अनुसार गाडी साउने लगेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी प्रमुख एसपी अजय भट्टराईले खानामा कसैले विष वा बेहोश पार्ने औषधी खुवाएर लुटपाट गरेको हुनसक्ने बताए।
fb