Headlines News :
fb
Home » » अभिभावक चासोले स्कुल अब्बल

अभिभावक चासोले स्कुल अब्बल

 काठमाडौं- उपत्यकाका करिब डेढ दर्जन सरकारी स्कुल कुनै महँगा निजी स्कुलभन्दा कम छैनन्। प्रमाण हो– यसपालिको एसएलसी नतिजा। देशैभरि सरकारी स्कुलको नतिजा खस्किरहेका र सयौंले शून्य परिणाम ल्याएका बेला उपत्यकाका यी विद्यालय कसरी बर्सेनि शतप्रतिशत विद्यार्थी राम्रो श्रेणीमा उत्तीर्ण गराउन सफल छन् त?

उत्तर सोझो आउँछ– जिम्मेवार प्रधानाध्यापक, जागिरे मानसिकताबाट मुक्त, मिहिनेती शिक्षक र जेहन्दार–लगनशील विद्यार्थी।

यति मात्र होइन, विद्यालय शिक्षामा राम्रो नतिजा ल्याउनुका पछाडि यी विद्यालयका प्रधानाध्यापक र अभिभावक दुवैले अर्काे पनि अनुभव सँगालेका छन्– विद्यालय शिक्षामा अभिभावकको सक्रियता।
'स्कुलले निरन्तर बोलाउँछ र शिक्षकसँग विभिन्न विषयमा छलफल गराउँछ,' ललितपुर बुङमतीस्थित आदर्श सौलःयुवक उच्चमाविबाट यसैपालि छोराले प्रथम श्रेणीमा एसएलसी पास गर्दा हौसिएका अभिभावक बलराम लिम्बूले भने, 'प्रअको जिम्मेवारी, शिक्षकको मिहिनेत र अभिभावकको निरन्तर सक्रियताले राम्रो नतिजा दिँदोरहेछ।' आफूले पढेकै सरकारी स्कुलमा चार सन्तानलाई पढाएका बलराम विद्यालयको भूमिकाप्रति सन्तुष्ट छन्।

'प्रअले अभिभावकसँग १२ महिनामा १३ पटक बालबालिकाको शैक्षिक अवस्था र व्यक्तित्व विकासबारे मात्रै छलफल गरेका छन्,' बलरामले सुनाए, 'विद्यालयमा अभिभावकको सहभागिताले विद्यार्थीको राम्रा पक्ष र कमजोरी थाहा पाउन र त्यहीअनुसार सुधार गर्दै अघि बढ्न सहयोग मिल्दोरहेछ।'
स्कुलले सिकाइ प्रभावकारी तुल्याउन प्रणाली नै विकास गरेर अभिभावकलाई भूमिका दिएको छ। प्रअ सरोजभक्त आचार्यका अनुसार स्कुलले अनुशासन, परीक्षा, अतिरिक्त क्रियाकलाप, शैक्षिक र संरचना निर्माण गरी पाँचवटा विभाग गठन गरेको छ। प्रत्येक विभागमा शिक्षक र अभिभावकको सक्रिय सहभागिता रहन्छ।

'विद्यालयको नतिजा राम्रो बनाउन मुख्य रुपमा अभिभावक र विद्यालय व्यवस्थापन टिम वर्कले सघाउँछ,' आचार्यले भने, 'शिक्षकले पेसालाई सेवाको रुपमा लिए मात्र सरकारी विद्यालयको शैक्षिक अवस्था राम्रो हुन्छ।' 

पाँच वषयता अंग्रेजी माध्यममा पठनपाठन भइरहेको यस स्कुल व्यववस्थापन समिति राजनीतिमुक्त छ। 'हाम्रो व्यवस्थापन समितिमा राजनीतिको र पनि छैन,' आचार्यले नागरिकसँग भने, 'शैक्षिक सत्रको सुरुमै शिक्षक र अभिभावकसँग छलफल गरेर शैक्षिक पात्रो बनाउँछौं, त्यहीअनुसार वर्षभरिको शैक्षिक कार्यक्रम सञ्चालन हुन्छ।' उनका अनुसार यो स्कुल ५५ जिल्लाका विद्यार्थीको शैक्षिक थलो बनेको छ।
यस स्कुलबाट १ सय २५ ले एसएलसी दिएकामा १४ ले विशिष्ट, ९४ ले प्रथम र १७ ले द्वितीय श्रेणी ल्याएका छन्।

आदर्श सोलःयुवकजस्ता उपत्यकाका १४ सरकारी स्कुलले यसपालि
शतप्रतिशत उत्तीर्ण नतिजा ल्याएका छन्। शतप्रतिशत ल्याउने काठमाडौंका ९, ललितपुरका ३ र भक्तपुरका २ मध्ये धेरैजसो ग्रामीण भेकका छन्।
काठमाडौंका फुटुङ मावि फुटुङ, सिद्धेश्वर मावि तीनकुने, जनउद्धार मावि सीतापाइला, मनमैजु मावि मनमैजु, बलम्बु मावि बलम्बु, सुन्ताखान मावि, सुन्ताखान, सेतीदेवी मावि, दाउरेचौर, मंगला मावि नैकाप र बहिरा बालक मावि, नक्सालले शतप्रतिशत नतिजा ल्याएका छन्।
ललितपुर जिल्ला शिक्षा अधिकारी शिव सापकोटाका अनुसार लामाटारस्थित सिस्नेरी र श्रीङ्गेरी माविले पनि शतप्रतिशत नतिजा ल्याएका छन्।
'विद्यालय र विद्यार्थीप्रति प्रअ बढी जिम्मेवार र उत्तरदायी सरकारी विद्यालयको नतिजा राम्रो पाइएको छ,' ललितपुर जिशिअ सापकोटालेे नागरिकसँग भने, 'स्थानीय र अभिभावकको विश्वास भएका स्कुल अब्बल छन्।'
भक्तपुरका कन्या सहशिक्षा मावि, सेखापुर र जोरपाटी मावि, जोरपाटीले शतप्रतिशत नतिजा दिएको जिशिकाका परीक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए।

काठमाडौं सीतापाइलास्थित जनउद्धार माविका अभिभावक बलराम बस्याल रिकन्डिसन गाडीका व्यापरी हुन्। महँगो निजी विद्यालयमा पढाउने हैसियत राख्ने उनका बालबच्चा गाविसकै सरकारी विद्यालयमा पढिरहेका छन्। 'स्कुलले अभिभावकसँग राम्रो सम्बन्ध राखेकै कारण सफलता हासिल गरेको छ,' उनले भने, 'वर्षमा नौपटक अभिभावकलाई बोलाएर बालबालिकाको पाठ्यपुस्तकको अवस्था, घरमा शैक्षिक वातावरण भए–नभएको, आमाबुबासँग बालबालिकाले र बालबालिकासँग आमाबुबाले घरमा गर्ने व्यवहारबारे प्रअले अभिभावक र विद्यार्थीसँग छुट्टाछुट्टै छलफल गर्ने गरेको उनले सुनाए। 

बच्चाको पढाइ, स्वास्थ्यबारे शिक्षकले चासो दिने गरेको र निरन्तर अभिभावकसँग सल्लाह लिने गरेको उनको अनुभव छ।

बलम्बु माविका प्रअ सुमन राउतले ग्रामीण क्षेत्रमा भएका सामुदायिक विद्यालयमा स्थानीयको लगाव बढी हुने भएकाले राम्रो नतिजा आएको जनाए। 'बलम्बु गाविस च्याउ खेतीमा प्रख्यात छ,' राउतले नागरिकसँग भने, 'इँटाभट्टा र च्याउ खेतीमा संलग्न सामान्य किसान र मजदुरका केटाकेटी पढ्न आउँछन्।'
उनका अनुसार विद्यालयले अभिभावकलाई पटक–पटक विद्यालय डाकेर बालबालिकाको कमजोरी र सकारात्मक पक्षबारे छलफल गर्छ। विद्यालयको शैक्षिक अवस्था सुधार गर्न मुख्य रुपमा प्रअ नै सक्रिय हुनुपर्ने उनको धारणा छ। कक्षाकोठामा जाँदा शिक्षकले विद्यार्थीलाई केही सिकाउने भावना लिएर जानुपर्ने उनले बताए।

काठमाडौं जिल्ला शिक्षा कार्यालयका उपसचिव दुर्गाप्रसाद प्रसाईंका अनुसार राम्रो नतिजा ल्याउने स्कुलमा अभिभावक चनाखो छन्। 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar