Headlines News :
fb
Home » » उमेर नाघेकालाई दुईवर्षे राहदानी

उमेर नाघेकालाई दुईवर्षे राहदानी

काठमाडौं- सरकारले लामो समय विदेशमा रही नागरिकता बनाउन नभ्याएका १६ वर्ष नाघेका नेपालीलाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा दुई वर्षका लागि राहदनी दिने भएको छ।
विदेशमा रहेका नेपालीले राहदानी बनाउँदा आइपरेका समस्या सम्बोधन गर्न सरकारले राहदानी निर्देशिका, २०६७ लाई पहिलोपटक संशोधन गरेर १६ वर्ष नाघेकालाई नागरिकताको प्रमाणपत्रबिना राहदानी उपलब्ध गराउने व्यवस्था गरेको हो। यो नियम विदेशमा रही राहदानीका लागि आवेदन दिने नेपालीलाई मात्र लागु हुनेछ। यसरी जारी हुने राहदानीको नागरिकता प्रमाणपत्र महलमा नाबालक परिचयपत्रको नम्बर वा जन्मदर्ता प्रमाणपत्रको नम्बर उल्लेख गरिनेछ।
'विदेशमा रहेका नेपालीले सहज रूपमा राहदानी पाउन सकून् भनेर निर्देशिका संशोधन गरिएको हो,' परराष्ट्रमन्त्रालय राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले नागरिकसँग भने, 'राहदानीका लागि पेस गरिने नाबालक परिचयपत्र तथा जन्मदर्ताको अभिलेख नेपाली दूतावासमा राख्ने व्यवस्था गरिएको छ।'
संशोधित राहदानी निर्देशिका, २०७१ मा 'व्यावहारिक कारण' भन्दै एकपटकका लागि मात्र विदेशमा रही १६ वर्ष नाघेका नेपालीलाई नाबालक परिचयपत्र तथा जन्मदर्ताका आधारमा राहादानी उपलब्ध गराइने उल्लेख छ। यसरी राहदानी लिएको दुई वर्षभित्र उसले नेपाल फर्केर नागरिकता बनाइसक्नुपर्नेछ।
यसअघि नेपाली बाबुको विदेशमा जन्मिएका छोरा–छोरीलाई पहिलोपटक राहादानी जारी गर्दा जन्म प्रमाणपत्रलाई मुख्य आधार मानी बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्रतिलिपि लिई नयाँ राहदानी जारी गर्ने व्यवस्था थियो। यो नियम १६ वर्षमुनिका बालबालिकालाई मात्र लागु हुन्थ्यो। १६ वर्ष पुगेकाले नागरिकता पाउने हुनाले सरकारले यो उमेरभन्दा माथिकाले राहदानी लिँदा अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, विदेशमा रहेका नेपालीलाई यसले समस्या पारेपछि १६ वर्ष नाघेकालाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा एकपटक दुईवर्षे राहदानी जारी गर्ने निर्णय गरिएको हो।
विदेशमा जन्मिएका नेपाली बाबुको सन्तानका हकमा भने नियोगले दर्ता अभिलेख खडा गरी (त्यसमा अभिलेख गरिएको नम्बर उल्लेख गरी) राहदानी जारी गर्न सक्ने व्यवस्था गरिएको छ। 'यसरी राहदानी प्राप्त गर्ने नेपाली नागरिकको सन्तानले दुई वर्षभित्र अनिवार्य रूपमा नेपाल आई नागरिकताको प्रमाणपत्र बनाएपछि मात्र त्यसका आधारमा दोस्रोपटक १० वर्षको म्याद राखी राहदानी जारी गर्न सकिनेछ,' संशोधन गरिएको निर्देशिकामा उल्लेख छ।
निर्देशिकाको दफा २३ 'विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी दिनेसम्बन्धी थप व्यवस्था' मा संशोधन गर्दै सरकारले ९ उपदफा थपेर १७ वटा पुर्याकएको छ। केही दिनअघि संशोधनमार्फत थप गरिएका उपदफामा विदेशमा रहेका १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउन पनि सहज बनाइएको छ।
'नेपाली नागरिकको १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउनुपर्दा आवेदन फारमका साथ पुरानो हस्तलिखित राहदानी (लिएको भए), नाबालिग परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र,' संशोधन गरिएको निर्देशिकामा उल्लेख छ, 'निजको बाबु वा आमा वा संरक्षक भएको बेहोरा खुल्ने लिखित तथा नागरिकताको प्रमाणपत्रसहित आवेदन प्राप्त भए त्यसका आधारमा नियोगले एमआरपी जारी गर्न सक्ने।'
विदेशमा रहेका नेपालीले आफ्नो जन्ममिति नागरिकता प्रमाणपत्रका आधारमा नभई शैक्षिक प्रमाणपत्र, पेन्सन पट्टाका आधारमा पनि राख्न सक्ने व्यवस्था नयाँ संशोधनले गरेको छ। तर, यो उनीहरूको जन्मदर्ताको अभिलेख विदेशमा खडा भइसकेको अवस्थामा मात्र लागु हुनेछ। नागरिकता र विदेशमा प्राप्त शैक्षिक प्रमाणपत्र तथा पेन्सन पट्टामा जन्ममिति फरक–फरक पर्दा नेपाली नगारिक सम्बन्धित देशमा अवैध बसोबास गरेको ठहरिने हुँदा यस्तो व्यवस्था गरिएको महानिर्देशक खनालले बताए।
विदेशी नागरिकसँग विवाह गरे पनि विदेशको नागरिकता प्राप्त नगरेका नेपाली महिलाका लागि पुरानो राहदानीमा उल्लेख भएको थरलाई मुख्य आधार मानेर राहदानी जारी गर्ने अधिकारसमेत राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगलाई दिइएको छ। पुरानो राहदानीमा भएको थरको सट्टा अर्को राख्न खोजे विदेशीसँग विवाह गरेका महिलाले राहदानी प्राप्त गर्न सक्ने छैनन्। पहिलोपटक राहदानी लिन लागेका यस्ता महिलालाई भने नागरिकता प्रमाणपत्रमा उल्लेख गरिएको नाम, थर कायम गरी राहदानी दिइनेछ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar