Headlines News :
fb
Home » , » आलुमा भेटियो शतप्रतिशत विषादी

आलुमा भेटियो शतप्रतिशत विषादी

काठमाडौं : दैनिक उपभोग्य वस्तु तरकारी आलुमा शतप्रतिशत घातक विषादी भेटिएको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालाको स्पेक्टो फोटो मिटरको सहयोगमा आलु परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो। कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्री हुँदै आएका आलुलगायतका तरकारीमा निर्देशनालयले नियमित परीक्षण गर्दै आएको छ।


परीक्षणका क्रममा मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक विषादी भेटिएका छन्। परीक्षण प्रतिवेदनका अनुसार तुलनात्मक रूपमा भारतबाट आएका तरकारीभन्दा स्वदेशमै फलेका तरकारीमा यस्तो विषादीको मात्रा बढी भेटिएको छ।

आलुलगायतका तरकारीमा मुख्य गरी कार्बोनेट तथा अग्रेनोफस्फेट अन्तर्गतको विषादीको अवशेष पाइएको हो। अगे्रनोफस्फेट समूहअन्तर्गत करिब ८० प्रतिशत विभिन्न प्रकारका घातक विषादी पर्दछन्। कालीमाटी बजारका अध्यक्ष तथा मन्त्रालयका सहसचिव मोहन चापागाईंले स्वदेशमा फलेका र बाहिरी मुलुकबाट आयात भएका दुवै थरीका तरकारीमा घातक बिषको मात्रा भेटिएको जानकारी दिए। उनले भने, 'कतिपय स्वदेशी उत्पादनमै अत्यधिक मात्रामा भेटिएको छ।'

आलु, हरियो केरा, बोडी, पालुंगो साग, आलु, भन्टा, चिनियाँ जातको बन्दा, भेडेखुर्सानी, काउली, फर्सीको मुन्टालगायतमा विष भेटिएको छ।


द्रुत विषादी अवशेष विश्‍लेषण इकाइका वरिष्ठ बाली संरक्षण अधिकृत बासुदेव पोखरेलका अनुसार सात दिनमा आठवटा तरकारीको नमुनामा मापदण्ड भन्दा बढी विषको मात्रा भेटिएको हो । परीक्षणको क्रममा हरियो केरा, बोडी, पालुंगो साग, आलु, भन्टा, चिनियाँ जातको बन्दा, भेडे खुर्सानी, काउली, फर्सीको मुन्टालगायतमा बिष भेटिएको हो।

यसमध्ये बाफलबाट आएको बोडी, पनौतीबाट आएको आलु र धादिङबाट आएको भन्टामा शतप्रतिशत विषादीको मात्रा भेटिएको छ। भारतबाट ल्याइएको आलुमा भने विषादीको अवशेष ५८ प्रतिशत पाइएको छ।

सरकारले तरकारीमा ३५ प्रतिशतभन्दा कम परिमाणमा भेटिएको विषादीको निषेध दरलाई खानयोग्य मानेको छ। यसैगरी ३५ देखि ४५ प्रतिशत भेटिंदा त्यस्ता तरकारीलाई केही दिन बिक्रीमा रोक लगाउनुपर्ने तथा ४५ प्रतिशतभन्दा बढी पाइएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ।

निर्देशनालयका प्रमुख डिल्लीराम शर्माका अनुसार कुनैकुनै तरकारीमा विषादीको निषेधदर (मानवशरीरको रगतमा भएका इन्जाइमलाई सक्रिय हुन विषादीले रोक्ने दर) अत्यधिक भेटिएको बताए। उनका अनुसार भक्त पुर, धादिङ, पाँचखाल, ठिमी, बाफललगायतका स्थानबाट आएको तरकारीमा पनि अपेक्षाभन्दा बढी विषादीको मात्रा भेटिएको छ।

मन्त्रालयले ३६ देखि ४५ प्रतिशतसम्म विषादी भएको तरकारीलाई तीन दिनसम्म चिस्यान केन्द्र(फ्रिज) मा राखेर खान मिल्ने बताएको छ। तरकारी वा फलफूलमा विषादी भएको शंका लागेमा चार पटकसम्म राम्ररी धुन सल्लाह दिंदै शर्माले सम्भव भएमा मनतातो पानीमा १० मिनेटसम्म तरकारीलाई डुबाएर राख्दा करिब ६० प्रतिशतसम्म यस्ता घातक विषादी बगेर जाने जानकारी दिए। यस्तै तरकारीको बोक्रा हटाएर पनि घातक विषादीको प्रभावबाट बच्न सकिन्छ।

उनका अनुसार विषादीयुक्त तरकारीको उपभोगका कारण क्यान्सर, पक्षघात, अन्धोपन, कलेजो, ट्युमर, गर्भ तुहिने, नपुंसकता, मृगौलालगायतका जटिल रोग लाग्ने प्रबल सम्भावना रहेको निर्देशनालयको ठहर छ। कालीमाटीबाहेक बालाजु, बल्खु, बानेश्वर, टुकुचा, चाबहिल, लगनखेल, कलंकी, कोटेश्वर, बनस्थली, सामाखुसीसहित मुलुकभरका २४ वटा तरकारीको थोकबजारसहित दुई सय ४५ वटा संकलन केन्द्रमा अहिले पनि विषादीसम्बन्धी कुनै परीक्षण हुँदैन।

यसैबीच मन्त्रालयले मापदण्ड भन्दा बढी विषादी प्रयोग भएको तरकारी तथा फलफूल नष्ट गर्नका लागि सरकारले विषादी अवशेष दु्रत विश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि आइतबार स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याएको छ। बिक्रीका लागि विभिन्न बजारमा ल्याइएको तरकारीको विषादी परीक्षण गर्ने तथा मापदण्ड भन्दा बढी विषादी भेटिएको खण्डमा नष्ट गर्ने व्यवस्था कार्यविधिमा गरिएको सञ्चालन समितिका सदस्य तथा उपभोक्तावादी ज्योति बानियाँंले जानकारी दिए। श्रोत अन्नपूर्ण

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar