समर्थन र विरोधमा सभासदहरुले दिए आ–आफ्नै मतः
काठमाडौं, आषाढ ३२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हालै सार्वजनिक गरेको बजेटले विगतका सशस्त्र आन्दोलनबाट भएका उपलब्धी तथा सहिद तथा घाइते परिवारलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
आज बसेको व्यवस्थापिका संसद बैठकमा आर्थिक वर्ष २०७१/७२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिंदै दाहालले विभिन्न आन्दोलनको म्यान्डेडलाई सरकारले सम्बोधन नगरे प्रतिपक्षीको रेखाभन्दा माथि बढेर कदम चाल्ने चेतावनी दिए ।
दाहालले बजेट सतहमा मात्र बगेको तथा कुनै नयाँ कार्यक्रम नभएकाले बजेट ‘सुगर कोटेट बुलेट’ मात्र भएको टिप्पणी गरे । उनले संक्रमणकालीन अवस्थामा ल्याइएको बजेटले मुलभूत राजनीतिक मान्यतामाथिको प्रहार गरेको आरोप समेत लगाए ।
दाहालले नेपाल कृषिप्रधान देश भएपनि कृषिमा खासै उल्लेखनीय कार्यक्रम नै नरहेको बताए । सत्तापक्षले नै बजेटको विरोध गरेकोप्रति टिप्पणी गर्दे दाहालले सत्तापक्षले सत्तापक्षको तथा विपक्षीले विपक्षीको भूमिका निर्वाह गर्न सदनको ध्यानाकर्षण गाए ।
त्यस्तै, नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्काले बजेटलाई अगाडि बढाउन नदिने षड्यन्त्र भएको भन्दै आशंका व्यक्त गरे । कृषिमा प्रभावकारी कार्यक्रम आएको भन्दै यसले किसानलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे ।
बजेटको समग्र पक्ष सकारात्मक रहेको उल्लेख गर्दे खड्काले यसको सिमारेखा भने बढाउनु पर्नेमा जोड दिए ।
यस्तै, एमाले सभसाद युवराज ज्ञावलीले बढ्दो व्यापार घाटातर्फ ध्यान दिनुपर्ने बताए । उनले आयातमा आधारित राजश्व उठाउनुपर्ने अवस्था र आयात बढ्दा ब्यापार घट्ने दोहोरो मापदण्डका कारण व्यापारमा समस्या पर्ने बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले गरिबलाई भन्दा पनि धनीलाई ध्यान दिइएर बजेट ल्याइएको आरोप लगाए । उनले बजेट दिशाविहीन र लक्ष्यविहीन भन्दै बजेट तराई मधेस विरोधी समेत रहेको आरोप लगाए ।
fb