Headlines News :
fb
Home » » रोइदिने पनि बाँकी रहेनन्

रोइदिने पनि बाँकी रहेनन्

ड्यामसाइट (सिन्धुपाल्चोक)- सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ (कालु) हरेक शुक्रबार घर आउँथे।
दुई रात परिवारसँग बिताएर फर्कन्थे। दस वर्ष यसैगरी बित्यो।
त्यो शुक्रबार भने उनी घर फर्कन पाएनन्।
'गाडी पाइएन, आज घर आउन नसक्ने भएँ,' कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने।
'कोदो रोप्नु छ, भोलि (शनिबार) बिहानसम्म त जसरी भए पनि आउनू,' कान्छीले आग्रह गरिन्।
'ल ल हुन्छ, आउँला,' कालुले आश्वासन दिए।

शनिबारको घाम नउदाउँदै कालु जन्मेहुर्केको आँगनमा यस्तो प्राकृतिक विपत्ति आयो, सारा परिवारलाई एकसाथ चुँडेर लग्यो। ४१ वर्षीय कालु एक्ला भए। त्यही फोनवार्ता नै कालु र उनकी श्रीमती कान्छीको अन्तिम कुराकानी हुन पुग्यो।
कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो।
छेवैको कान्ले खोलाले घर बगाएर एक किलोमिटर तल सुनकोसी नदीमा मिलाइदिँदा कालुका बाबुआमा, चार छोराछोरी, श्रीमती र सानैदेखि सँगै बस्दै आएका भान्जासहित ८ सदस्य पहिरोमा बेपत्ता भएका छन्।
मान्छे जिन्दगीभर बाँच्नकै लागि संघर्ष गर्छ, तर कहिलेकाहीँ जिन्दगी मृत्युभन्दा भयंकर हुँदो रहेछ। गाडी नपाएर आफू बाँचेकोमा रौं बराबर चैन छैन कालुलाई। बरु सबै गुमाएर एक्लै बाँच्नु पर्दा पश्चाताप छ, ग्लानी छ। भयानक वेदनाले छाती पोलेको छ।
'एक्लै बाँच्न लेखेको रहेछ,' तीन दिनदेखिको रुवाइले सुन्निएका आँखाको डिल पुछ्दै उनले सोमबार नागरिकसँग भने, 'सम्हालिएर बाँच्ने पो कसरी?'
त्यस दिन श्रीमतीको बचन राख्न तातोपानीबाट बाह्रबिसे आइनपुग्दै उनले सुनकोसी थुनिएको सुनेका थिए। आफ्नो जीवनमा यति ठूलो पहिरो आउला भन्नेचाहिँ सोचेकै थिएनन्। 'सुनकोसीले बर्खामा कुनै न कुनै समस्या ल्याउने भएकाले सामान्य सोचेको थिएँ। यति ठूलो विपतको कल्पना गरेको थिइनँ,' सुनकोसीमा आफन्त खोजिरहेका कालुले भक्कानिँदै भने।
३६ वर्षीया कान्छी केटाकेटीको लालनपालन, वृद्ध सासू–ससुराको स्याहार गरेर घरव्यवहार चलाउँथिन्। कालु तातोपानीमा मजदुरी गरी कमाइ गरेर घर पठाउँथे। उनका १० देखि १४ वर्षका तीन छोरा अजय, विजय र मिलन सुनकोसी ड्यामस्थित बनसाँघु माविको कक्षा ५ मा पढ्थे। १६ वर्षीया जेठी छोरी लालमाया ५ कक्षापछि पढाइ छाडेर घरको काम सघाउँदै थिइन्।
'मेरा केटाकेटी त्यहाँबाट यहाँ पढ्न आउँथे,' पहिरोले बगाएर चट्टानेभीरमा बदलिएको गाउँ र उछिट्टिएर सुनकोसी डिलमा पुगेको विद्यालयको छत देखाउँदै उनले भने।
उनले परिवार जीवितै भेटिने आस मारिसकेका छन्। तैपनि उनलाई घटना सपनाजस्तै लागिरहेको छ। सुरक्षाकर्मीसँगै खटिएर पहिरोमा बेपत्ता परिवार खोजिरहेका उनी कहिले उजाड चट्टाने पहाड बनेको काबुने गाउँ हेर्छन्, कहिले सुनकोसी थुनिएर बनेको बाँधतिर टोलाउँदै खुइय सुस्केरा छाड्छन्।
'सास नभेटे'नि लास भेटे हुन्थ्यो,' उनको पिडादायी चाहना।
ड्यामका रामबहादुर लामाको जीवनमा पनि शुक्रबार कान्ले पहिरोले विछोडको बिगुल फुक्यो। १२ जनाको दुई परिवार पहिरोले सुलुत्त लग्यो। उनीहरू अझै पहिरोमा हराइरहेका छन्। अरनिको राजमार्गको ड्याममा रहेको पक्की घरमा उनका बाबुआमा, श्रीमती, दुई केटाकेटी र भाइको पाँच सदस्यीय परिवार बस्दै आएको थियो। पहिरोबाट कोही फुत्कन सकेनन्। घर बगेर कता पुग्यो पत्तो छैन। त्यो दिन बाह्रबिसेमा रहेकाले उनी पहिरोमा पर्नबाट जोगिए भने एक छोरा काठमाडौंमा बस्दै आएकाले बाँचे।
'कुन आधारले बाँचौं गृहमन्त्रीज्यू?' आइतबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आएका गृहमन्त्री वामदेव गौतमसँग उनी भक्कानिए।
बाँचेर पनि कालु र रामबहादुरको खुसी सधैंका लागि हराएको छ। कान्ले पहिरो र सुनकोसी थुनिएर बनेको बाँधले मांखा र टेकानपुर गाविसका तीन गाउँ नदीमा विलय हुँदा धेरै कालु र रामबहादुर जस्तै बनेका छन्। धेरै एक्ला भएका छन्, सहारा खोसिएको छ, खुसी लुटिएको छ, बाँच्ने आधार भत्किएको छ। सपरिवारै बेपत्ता हुने पनि कम छैनन्। रोइदिनेसम्म कोही छैन उनीहरूको। शव भेटिए काजकिरिया गर्ने आफन्त छैनन्।
'दैव एकैचोटि हामीमाथि खनियो। यस्तो विपत्ति कसैलाई नपरोस्,' पहिरोमा हराएका छिमेकीको लगत संकलन गरिरहेका स्थानीय तथा मांखा गाविस पूर्वसचिव हरिगोपाल कार्कीले भने।
पहिरोमा मांखा, राम्चे र टेकानपुरका ६१ घरपरिवार बेपत्ता छन्। डेढ सयजना पहिरोमा हराइरहेका छन्। आफन्त सम्पर्कमा आउने क्रम जारी रहेकाले बेपत्ताको संख्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए।
गाविस सचिवमार्फत संकलन गरिएको लगतअनुसार पहिरोले मांखा कागुने गाउँका २४, इटिनीका १५, ड्यामका १९, टेकानपुरको दाबी गाउँको १५, ड्याम नजिक राम्चेका तीन घर बगाएको छ। ती घरका एक–दुईबाहेक सबै बगेको अनुमान छ। रोजगारी र पढाइले बाहिर बसेकाले ती बाँचेका हुन्। कागुनेका केही आफन्त हराएको भन्दै सम्पर्कमा आए पनि २४ जना बेपत्तामध्ये अहिलेसम्म कोही फेला परेका छैनन्। धेरैका परिवारका ५–८ सदस्य हराइरहेका छन्।
सम्पर्कमा आउनेमा ड्यामका बढी छन्। ड्यामका मात्र ८४ जना पहिरोमा बेपत्ता छन्। केही भाडामा बस्ने पनि छन्। स्थानीय निर्मल श्रेष्ठले आफ्नो घरमा भाडामा बस्ने एकै परिवारका पाँचजना हराइरहेको बताए। निर्मलको उनीसहित तीनजनाको परिवार भने भागेर बाँचेको थियो। उनको परिवार अहिले प्रहरीचौकीमा शरण लिएर बसेको छ।
'एकैपटक भुइँचालो आएजस्तो मात्र के भएको थियो, लेदोपानीको छाल सुतिरहेको कोठामै पस्यो। कसरी भगियो सपनाजस्तो लागिरहेको छ। त्यो क्षणको वर्णन शब्दमा गर्न सकिँदैन। अझै डर लागिरहेको छ,' उनले भने।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar