Headlines News :
fb
Home » , » खनाल प्ले-मेकर

खनाल प्ले-मेकर

काठमाडौ, असार १८ - संसारभर विश्वकपको रौनक छाएका बेला मुलुकमा एमालेको राजनीतिक खेल चलिरहेको छ । नेतृत्वको गोलपोस्टमा बल छिराउन घम्साघम्सी गरिरहेका मुख्य खेलाडी माधवकुमार नेपाल र केपी शर्मा ओलीका बीचमा 'प्ले-मेकर’ छन् झलनाथ खनाल । बल उनकै नियन्त्रणमा छ । उनले कसलाई पास दिन्छन्, फाइदा उसैलाई पुग्नेछ ।

नवौं महाधिवेशनबाट नेतृत्वमा पुग्न वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली समूहबीच तीव्र ध्रुवीकरण भइसकेको छ । केन्द्रीय नेतादेखि महाधिवेशन प्रतिनिधिहरूसमेत कुन कित्तामा लाग्ने हो 'पोजिसन क्लियर' गर्दैछन् । तर दुवैको बीचमा उभिएका छन्- अध्यक्ष झलनाथ खनाल । महाधिवेशनको पूर्वसन्ध्यामा दुवै समूहका नजर उनैतिर सोझिएका छन् । जो कुनै पनि पक्षमा नलाग्ने घोषणा गर्दै यतिबेर पार्टीमा तटस्थ अवस्थामा बसेका छन् ।

धु्रवीकरणले पार्टीलाई हानि गर्ने धारणा राख्दै उनी सहमतिबाट नेतृत्व छान्न चाहन्छन् । त्यसैले दुवै समूहलाई गुटबन्दी नगर्न र सहमतिका पक्षमा आउन उनको सुझाव छ । 'सर्वसम्मत रूपमा नेतृत्व होस् भन्नेमा मेरो जोड छ,' खनालले भने, 'अन्तिम समयसम्म पनि सर्वसम्मतमै जोड दिनेछु ।'

खनालको यो नाराको खासै तुक पनि छैन । किनकि दुवै समूह जसरी पनि चुनावी प्रतिस्पर्धामा जाने निचोडमा पुगिसकेका छन् । बरु जितका लागि उनको भूमिका खोजिरहेका छन् । तर, उनले कसैलाई 'गि्रन सिग्नल' दिएका छैनन् ।

दुवै समूहले परस्पर विरोधी आकडा प्रस्तुत गर्दै आफ्नो जित सुनिश्चित भएको घोषणा गरे पनि प्रतिनिधि छनोटको परिणामले कडा प्रतिस्पर्धा देखाउँछ । त्यसबाट निस्कन महत्त्वपूर्ण निणर्ायक खनाल बन्नेछन् । त्यसैले उनलाई आफ्नो कित्तामा तान्न वा उनी आफ्नो समूहमा छन् भन्ने देखाउन दुवै लागिपरेका छन् ।

प्रतिनिधि चयनमै ओली र नेपाल समूह बाँडिए पनि त्यहाँभित्र खनालले भनेका मान्ने व्यक्तिहरू आएका छन् । उनले कुनै 'पोजिसन' लिएको अवस्थामा तिनीहरू त्यतै पुग्छन् । पार्टीको बहालवाला अध्यक्ष भएकाले उनलाई सम्मान गर्ने पंक्ति पनि ठूलै छ । त्यसैले उनको यो शक्तिलाई बुझेर दुवै पक्षबाट आफ्नो समूहमा ल्याउने कसरत भएको हो ।

'पार्टी एकताबद्ध भएर जाओस् भन्ने उहाँको भूमिका राम्रो छ,' ओली पक्षीय नेता पृथ्वी सुब्बा गुरुङले भने, 'तर सहमति नभएको अवस्थामा उहाँले केपी ओलीलाई नै समर्थन गर्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ ।' नेपाल पक्षका नेताहरूको भनाइ पनि उस्तै छ । खनाल पार्टीको अभिभावकीय भूमिकामा रहेकाले मात्र बाहिर नखुलेका तर अन्तिममा नेपाललाई समर्थन गर्ने उनीहरूको दाबी छ । 'सहमतिको अभियन्ता बन्नुभएको छ, पार्टीका लागि यो राम्रो कुरा हो । सहमति नहुने अवस्थामा उहाँले नेपाललाई समर्थन गर्नुहुन्छ । केही दिनमै यो कुरा परिणामबाट देखिन्छ,' खनाल प्रधानमन्त्री भएका बेला उनका राजनीतिक सल्लाहकारसमेत रहेका नेपाल पक्षीय नेता प्रकाश ज्वालाले भने ।

कुनै पक्षमा नखुल्नुका पछाडि खनालका पनि केही स्वार्थ छन् । एउटा त पार्टीभित्र उनको सन्तुलित नेताको छवि बनिरहेको

छ । दुवै समूहले यतिबेर खनाललाई प्रधानमन्त्री, राष्ट्रपतिलगायत महत्त्वपूर्ण पदका लागि अघि सार्ने बचन

दिएका छन् । 'सन्तुलन र समन्वयकारी भूमिकाले भावी अवसरहरू उहाँका लागि नै आउन सक्छन्,' ज्वालाले भने । तर कुनै नेताका पक्षमा खुल्दा भने बढ्दै गएको 'उचाइ घट्ने' र भावी अवसरहरूमा एउटा पक्षले निषेध गर्न सक्ने खनालले राम्ररी बुझेका छन् । त्यसैले जुन समूहले जिते पनि आफ्नो भावी भूमिकामा प्रभाव नपार्ने गरी उनी तटस्थ अवस्थामा बसेका हुन् । यस्तै तटस्थताको नीतिबाट खनाल यसअघि राजनीतिक लाभ लिएका व्यक्तिमा पर्छन् । कांग्रेस र एमाआवादीका उम्मेदवार मैदानमा प्रधानमन्त्रीका लागि भिडिरहँदा एमाले लामो समय तटस्थताको नीति लिएर बस्यो ।

त्यो बेला खनालले राष्ट्रिय सहमतिको नारा लगाइरहे । १७ पटक चुनाव हुँदा पनि प्रधानमन्त्री चयन हुन सकेन । सात महिना गु्रजेपछि खनाल आफैं प्रधानमन्त्री बन्न सफल भएका थिए । अहिले पार्टीभित्र खेलेको भूमिकाले पनि उनलाई पछिका लागि सुरक्षित अवस्थामा राखेको छ ।

आठौं महाधिवेशनबाट अध्यक्षमा चयन हुँदा उनलाई समर्थन गर्ने व्यक्तिहरू अहिले ओली र नेपाल खेमामा बाँडिएका छन् । खनालको प्यानलबाट जितेका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल ओली पक्षमा छन् । तर त्यसबाहेक अधिकांश नेता नेपाल कित्तामा लागेका छन् । उनलाई नजिकबाट सहयोग गर्ने व्यक्तिहरू सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरेलगायत नेपाल पक्षमा लागेका खनालको पनि समर्थन नेपालप्रति नै हो कि भन्ने आशंका गर्नेलाई बल मिलेको छ । तर खनाल कुनै पक्षमा मुख खोल्दैनन् । उनले कुनै गुटको पक्षमा नलागे पनि महाधिवेशनमा (मतै नहाली) तटस्थ नबस्ने उनले बताए । 'म तटस्थ होइन, विचार राजनीतिमा तटस्थ छैन । पार्टीमा सहमति होस् भनेर म लागिरहेको छु । मतदानका लागि पनि तटस्थ रहन सक्दिनँ । अन्त्यमा कसै न कसैलाई मत हाल्छु,' उनले भने, 'तर म कसैको प्रचार गर्दिनँ, अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई नोक्सान पार्छ ।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar