Headlines News :
fb
Home » , » खानेपानी ओसार्ने ट्यांकर खेत भिजाउँदै

खानेपानी ओसार्ने ट्यांकर खेत भिजाउँदै

कहाँ कति रोपाईं ?
 काठमाडौं, साउन १० - ट्यांकरबाट खानेपानी ओसार्नु काठमाडौंको लागि नयाँ र नौलो कुरा होइन ।
धारामा पानी नआएपछि काठमाडौंका धेरै बासिन्दा ट्यांकरको पानीमा भर पर्न बाध्य छन् ।
तर खेतमा रोपाईं गर्नको लागि ट्यांकरबाट पानी ओसार्ने गरिन्छ भन्ने सुन्दा चाहिँ तपाईंलाई अचम्म लाग्न सक्छ ।
आकाशबाट परेको पानीले काम नगरेपछि किसान ट्यांकरबाट भएपनि पानी किनेर रोपाईं गर्न बाध्य छन् ।
पानी नपरेपछि असारमै हुनुपर्ने रोपाईं साउनको मध्य भैसक्दा पनि हुन सकेको छैन । असारको अन्त्यदेखि दिनहुँजसो झरी त परेको छ । तर ठूलो वर्षा नहुँदा माटो भिजेपनि खेतमै जम्ने पानी चाहिँ मिलेको छैन । पानी नभएपछि कीर्तिपुरका केही किसानले असारमै कोदो रोपे झैं गरी धुलो माटोमा कुटोले खोस्रेर खनेर धान रोपे । कतिले नजिकको खोला र खोल्साबाट मोटरले पानी तानेर खेतमा छिपछिपे हिलो बनाए । विकल्प खोज्दै जाँदा खानेपानी ओसार्ने ट्यांकरबाट भएपनि पानी किनेर खेत भिजाउनुपर्ने भयो । शुक्रबार त्रिभुवन विश्वविद्यालय भवन अघिल्तिर खेतमा यसैगरी ट्यांकरबाट पानी ल्याएर रोपाईं गर्ने काम भैरहेको थियो । सडक छेउमा पानी बोक्ने ट्यांकर । ट्यांकरबाट लमतन्न पाइप खेतको पल्लो छेउसम्म । एक ट्यांकर पानीले मुश्किलले दुईवटा गरा भिजे । फेरि पनि यसैगरी पानी ओसार्नुपर्छ । ‘तपाईंलाई देख्दा नयाँ लाग्यो होला, तर के गर्नु, हामीले पनि यसैगरी खेत रोपेका हौं’ नजिकै खेत भएकी विष्णुदेवी महर्जनले भन्नुभयो । महर्जनले आधी खेत यसअघि नै रोपीसक्नुभयो । बाँकी खेत रोप्न पानी भएन । आसपासमा खेत गोड्ने बेला भैसक्दा उहाँ लगायतका किसान पानी फारो गर्दै हिलो खेल्दैछन् । आकाशे पानीको भर नभएपछि ट्यांकरबाट पानी ल्याएर भएपनि खेत भिजाउनुपर्ने बाध्यता छ ।
रोपाईं बढ्यो

देशभर झण्डै दुई तिहाई क्षेत्रमा रोपाईं भएको छ । असारको अन्तिममा पानी पर्ने क्रम बढेपछि रोपाईं धेरै भएको हो । देशभर अहिलेसम्म ६४ दशमलव ३६ प्रतिशत क्षेत्रमा रोपाईं भैसकेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलका अनुसार पछिल्लो डेढ हप्तामै १४ प्रतिशत भन्दा धेरै रोपाईं भएको छ । धान खेती हुने हिमाली क्षेत्रका प्रायः सबै ठाउँमा रोपाईं सकिएको छ ।
तराईमा ६१ दशमलव ४५, मध्यपहाडमा ७० दशमलव ८६ र उच्च पहाडमा ६९ प्रतिशत रोपाईं भएको मन्त्रालयको तथ्यांक छ । तराईमा सबैभन्दा धेरै धान खेती हुने झापामा ६१ प्रतिशत, मोरङमा ६५ प्रतिशत, सुनसरीमा ५४ प्रतिशत, महोत्तरीमा ३० प्रतिशत, बारा र पर्सामा ८० प्रतिशत, चितवनमा ७७ प्रतिशत, बाँकेमा ३१ प्रतिशत, वर्दियामा ८२ प्रतिशत र कैलालीमा ७५ प्रतिशत क्षेत्रमा धान रोपाईं भैसकेको छ । क्षेत्रगत हिसाबमा पूर्वाञ्चलमा ५५ दशमलव ४३ प्रतिशत, मध्यमाञ्चलमा ५९ दशमलव ३७ प्रतिशत, पश्चिमाञ्चलमा ७३ दशमलव ९१ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ६४ दशमलव ८१ प्रतिशत र सुदूरपश्चिमाञ्चलमा ७८ दशमलव ३९ प्रतिशत रोपाईं भएको छ ।
दिनहुँजसो झरी परेका कारण देशका धेरै ठाउँमा अहिले पनि रोपाईंका काम भैरहेको छ । अझै दुई हप्तासम्म रोपाईं गर्न सकिने भएकाले खाशै निराश हुनुपर्ने अवस्था नरहेको कृषि विकास मन्त्रालयका प्रवक्ता टेकप्रसाद लुईंटेलले बताउनुभयो । तर अहिले पनि मुल फुट्ने गरी पानी परेको छैन । दिनहुँजसो झरी परेपनि रोपिसकेको खेत पनि धाँजा फाटेको किसानको गुनासो छ ।






Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar