Headlines News :
fb
Home » , » कांग्रेसको भूल

कांग्रेसको भूल

राजनीतिमा कुनै पनि सम्भावनालाई अस्वीकार गर्न सकिँदैन- द प्रिन्स (मेकियाभेली)


नेपालमा राजनीतिक दलहरू आज किंकर्तव्यविमूढ, गतिहीन, शिथिल र दिग्भ्रमित देखिएका छन्। जनादेशको अपव्याख्या भइरहेको छ। पहिलो संविधानसभामा ठूलो असफलता बेहोरेर दोस्रो संविधानसभा निर्वाचन गरे पनि सत्ता स्वार्थका कारण एकअर्काका प्रतिस्पर्धी बनेका दलहरू संविधान निर्माणमा केन्द्रित भइरहेको पाइँदैन। मूल दायित्व बिर्सेर जनप्रतिनिधि काठमाडौंमा सुविधासम्पन्न अपार्टमेन्ट, करोडौं रुपैयाँ, महँगा गाडीलगायतका वैभव जोड्ने कसरतमा छन्। दुर्भाग्य, नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसका कतिपय अगुवासमेत विदेशीका भरिया र मिसनको नाइके बनेका छन्। यसले जनतामा कस्तो सन्देश जान्छ भन्ने हेक्का राखेको पाइँदैन। उनीहरू सत्तास्वार्थका निम्ति सैद्धान्तिक विचलनको सिकार बनेका छन्।



२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि माओवादीले राजतन्त्रको स्थान संसद्वादीको लिएको घोषणा गर्दै ती दलहरूलाई मुख्य शत्रु किटान गर्‍यो। कांग्रेसले यो विषयलाई हल्कारूपमा लियो। संवैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्रमा विश्वास गर्ने कांग्रेसको आजको मूलनीतिमा संवैधानिक राजतन्त्र र संसदीय प्रणाली छैन। तसर्थ संसदीय प्रजातन्त्रमा आधारित संविधान निर्माण गर्ने काम कांगे्रसले गर्न सक्ने देखिँदैन। किनभने संविधानसभामा कम्युनिस्टहरूको उल्लेख्य उपस्थिति र संसदीय व्यवस्थाप्रति उनीहरूको चरम घृणाका कारण कांग्रेसको मार्ग अकन्टक छैन। यो कटु यथार्थ हो। अर्को यथार्थ, कांग्रेसको छुट्टै मार्गचित्र छैन।

सस्तो लोकप्रियताका लागि लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी र सहभागितामूलक शासनप्रणाली, धर्मनिरपेक्षता र आर्थिक समृद्धिका बारेमा प्रवचन दिनेहरूले राष्ट्रको शासनपद्धति साम्यवादी, प्रजातान्त्रिक समाजवादमा आधारित, वेस्टमिनिस्टर शैली वा अमेरिकी पद्धति जस्तो राष्ट्रपतिमा केन्द्रितमध्ये कुन र कस्तो हुन्छ भनेर निर्णय गरेपछि मात्रै संविधान बन्‍न सक्छ। संविधानसभामा सबैभन्दा ठूलो दल कांग्रेसले न विचारको नेतृत्व गर्न सकेको छ न त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको विश्वास नै आर्जन गर्न सकिरहेको छ। भैरे कामीदेखि सुवर्णशमशेर जस्ता व्यक्ति समेत अटाएको कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूलभूत आदर्श बिर्संदै गएको छ। यसको कुनै वर्गीय चरित्रमा आधारभूत पहिचान देखिँदैन। एमालेले आफ्नो रणनीति र कार्यनीतिबाट साम्यवाद शब्द नै परित्याग गरेपछि उसलाई वामपन्थी दल मान्नुपर्ने आधार समाप्त भएको बेला कांग्रेसले छुट्टै पहिचान बनाउन सकेन भने सो दल कोमिन्ताङ वा प्रजापरिषद् बन्न सक्छ। भोलि सोच्दै नसोचेको राजनीतिक प्रणाली सुरु हुन सक्छ वा जे पनि हुन सक्छ।

नेपालका ५४ लाख परिवारमध्ये ३८ लाख परिवार कृषिमा संलग्न छन् तर २०४७ सालपछि पटकपटक सत्तामा पुगे पनि कांग्रेसले किसानको हितमा खासै ध्यान दिएन। हरिसिद्धि इटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, कपडा मिललगायतका दर्जनौं उद्योग बेचेर मजदुरी गर्ने लाखौं नेपालीलाई बेरोजगार बनाइयो। मजदुरको गाँस खोसियो। विदेशीलाई पोस्ने काममात्र भयो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा स्वदेशमा कपडा बुन‍न सिकाउनु, त्यसो भया नगद विदेश जाँदैन भनिएको छ। पृथ्वीनारायण, शाह, इन् द लाइट अफ दिव्य उपदेश नामक ग्रन्थमा एलएफ स्टिलर भन्छन्- राज्य सञ्‍चालन, सैनिक संगठन, व्यापार, विकास आदिका बारेमा, पृथ्वीनारायण स्पष्ट थिए। उनी महान् थिए। पृथ्वीनारायणको दिव्योपदेशलाई राष्ट्रिय मूलनीतिको आधार बनाउन सकिन्छ तर दुर्भाग्य, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला राष्ट्रिय एकता दिवस (पुस २७) खारेज गरियो। पृथ्वीनारायणको दिव्योपदेशमै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बलियो धरातल छ भन्‍ने कांग्रेसले बुझ्नै सकेन। पृथ्वीनारायण शाहको प्रजातान्त्रिक विचारलाई कांग्रेसले कदापि आत्मसात गर्नै सकेन।

आधुनिक नेपाल निर्माण र पुन: एकीकरण पृथ्वीनारायणले गरेका हुन्। एमाले-कांग्रेसजस्ता दलका पार्टी कार्यालय र घरमा विदेशीको फोटो देखिन्छ, तर उनीहरूले पृथ्वीनारायणको तस्बिरसमेत राख्न हिच्किचाउनुको कुनै अर्थ छैन। माओ, गान्धी, लेनिन, स्टालिन, नेहरू, कार्लमाक्र्स, एंगेल्स आदि विदेशीको पूजा गर्न लाज नहुने तर पृथ्वीनारायणलाई राष्ट्रिय विभूति मान्न लाज हुने? तसर्थ, कांग्रेसलगायतका दलहरू राष्ट्रियताका बारेमा स्पष्ट हुनैपर्छ। के राष्ट्रवादलाई उपेक्षा गरेर राष्ट्रियता बलियो हुन्छ?

२०६२/६३ को आन्दोलनपछि कांग्रेस पार्टी झन् विभक्त, शिथिल, पथभ्रष्ट, विचलित र अभिभावकविहीन जस्तो छ। गुटका नेता कांग्रेसमा प्रशस्तै छन् तर राष्ट्र हाँक्न सक्ने कोही छैनन्। यो अवस्था राष्ट्रियता र प्रजातन्त्रका लागि दुर्भाग्य हो।
२००३ सालमा कलकत्तामा कांग्रेस स्थापना भएको दिन समारोह स्थलमा भारतको झन्डा फहराइएकोमा गणेशमान सिंह र सुन्दरराज चालिसेले चर्को विरोध गरे। त्यसपछि सो झन्डा हटाइयो। उनीहरूको भनाइ थियो- यो झन्डाको ठाउँमा नेपाली दिदीबहिनी र आमाको पेटीकोट झुन्ड्याइयो भने पनि हामी सलाम गर्छौं तर भारतीय झन्डामुनि हामी बस्दैनौं। किनभने हामी स्वाधीन देशका स्वाधीन जनता हौं। पंक्तिकारसँग सुन्दरराजले भन्नुभएको थियो- कांग्रेसले गरेको त्यो पहिलो भूल थियो। काम गर्दा भूल हुन्छ तर राष्ट्रियता र प्रजातन्त्र नै कमजोर पार्ने भूल पटकपटक भएको छ। विदेशी नेतालाई उकासेर आफ्ना राष्ट्राध्यक्षमाथि प्रहार गर्नु र राष्ट्रिय स्वार्थविरुद्ध सन्धिसम्झौता गरेर कांग्रेसले पटकपटक राष्ट्रघात गरेको छ। सत्ताका लागि सिद्धान्त त्यागेको छ।

त्यसो भनिरहँदा उहाँ निकै भावुक हुनुभएको थियो। २००७ सालदेखि पचासौं वर्षसम्म दलमा आबद्ध भएर नि:स्वार्थ र अहर्निश संघर्ष गरेका कांग्रेसीको कतै कुनै अभिलेख छैन। कुनै गतिलो दस्तावेज छैन। आज कांग्रेस दल तस्कर, भ्रष्ट, अवसरवादी, घातकी, ठग, चाप्लुस र चाकडीबाजहरूको कुम्भमेला बनेको छ। इमानदार, त्यागी, सिद्धान्तवादी र कर्मशीलहरू किनाराका साक्षी बनेका छन्। यसले गर्दा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको प्राथमिकता, आदर्श र मूल्यमान्यता बन्न सकिरहेको छैन।

कृष्णप्रसाद भट्टराई जस्ता संस्थापक र त्यागी नेताले आँसु झार्दै पार्टी परित्याग गर्नुभयो। उहाँको तर्क थियो- पार्टीले सिद्धान्त त्याग्यो। म सिद्धान्तहीन पार्टीमा बस्दिनँ सिद्धान्तलाई होइन, सत्ता, सम्पत्ति र सुखलाई प्राथमिकता दिनेहरूले त्यो घटनालाई महत्त्व दिएनन्। गणेशमान सिंहले कांग्रेस परित्याग गर्नुभयो। सिंह र भट्टराईको मृत्युपर्यन्त चारतारे झन्डा ओडाएर उहाँहरूलाई जबर्जस्ती गलत सिद्धान्तले बेर्न खोजियो। आज कांग्रेस माओवादीको मार्गचित्रमा हिँडे पनि निर्लज्ज बनेर गणतन्त्रको स्वामित्व र लालपुर्जा लिने दुस्साहस गरिरहेको छ।

किङ् मार्टिन लुथरले भनेका थिए- संकटको बेला शत्रुले हमला गर्छन्। त्यो सहन सकिन्छ तर संकटकालमा मित्रहरूको मौनता सबैभन्दा घातक र पीडादायक हुन्छ। राष्ट्र र दल दुवै संकटमा परेका बेला कांग्रेसी नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरू आआफ्नै गुट बनाएर बसेका छन्। आत्मरतिमा रमाएका छन्। सच्चा कांग्रेसी छक्क परेका छन्। बच्चा कांग्रेसी उत्ताउलिएका छन्।

नेपालमा आफ्नो दबाब र प्रभाव फैलाएर जलस्रोत, नागरिकता एवं राष्ट्रिय सुरक्षालगायतका हरेक क्षेत्रमा हात हाल्न दिल्लीस्थित लोधीरोड र नर्थ-साउथ ब्लकका योजनाकारहरूले माओवादी, कांग्रेस एमाले, माले, पूर्वपञ्चहरू, तराईकेन्द्रित दलहरू लगायत प्राय: सत्ता र सम्पत्तिको लोभ देखाए। बाह्रबुँदे समझदारीका नाममा नेपालका राजनीतिक शक्तिमा रहेको अधिकार विदेशीले भोग गर्न पाए। राष्ट्रलाई संकटमा पुर्‍याएर कांग्रेसले ठूलो गर्व गरिरहेको छ। अहंकारले कांग्रेसीहरू उन्मत्त छन्। आज स्वार्थी, लोभी देखाए। बाह्रबुँदे समझदारीका नाममा नेपालका राजनीतिक शक्तिहरूमा रहेको अधिकार विदेशीले भोग गर्न पाए।

राष्ट्रलाई संकटमा पुर्‍याएर कांग्रेसले ठूलो गर्व गरिरहेको छ। अहंकारले कांग्रेसीहरू उन्मत्त छन्। आज स्वार्थी, लोभी र पाखण्डी कांग्रेसीहरू रमाएका छन् तर त्यहाँभित्र सिद्धान्तवादीहरू रोइरहेका छन्। बीपी पुत्र प्रकाश कोइरालाले भनेका छन्- विदेशीको आदेशमा पार्टीले गलत बाटो लियो। पार्टी विदेशीको भरिया बन्यो। बीपी कोइरालाले २०३७ साल चैत ५ गते भेरी, कर्णाली र राप्ती अञ्चलका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेपालगन्जमा आयोजित समारोहमा व्यंग्यात्मक शैलीमा भन्‍नुभएको थियो-जुल्फीकर अलि भुट्टोलाई पाकिस्तानमा मृत्युदण्ड दिएपछि नेपालमा राजनीतिक आन्दोलन भयो, तर त्यसले पैदा ग:यो सूर्यबहादुर थापा। आन्दोलन भुट्टोको कारणबाट प्रारम्भ हुन्छ र अन्त्य हुन्छ सूर्यबहादुर थापाको स्थापनामा। बीपीलाई फाँसी दिनुपर्छ भनेर धनकुटा जिल्ला पञ्चायतबाट प्रस्ताव पारित गराउने थापा कति प्रजातान्त्रिक छन् भन्ने बीपीलाई थाहा थियो। त्यसैले बीपीले कम्युनिस्टलगायत कुनै पनि पराधीन शक्तिसँग सहकार्य गर्नुभएन। उहाँ प्रजातन्त्रवादी र राष्ट्रवादी मिल्नुपर्छ भन्नुहुन्थ्यो। कम्युनिस्टसँग उहाँले कहिल्यै घाँटी जोड्नुभएन। दिग्भ्रमित कांग्रेस आज अचेत जस्तो छ सपनामा मस्त छ। २०६२/६३ को आन्दोलनपछि कांग्रेस पार्टी झन् विभक्त, शिथिल, पथभ्रष्ट, विचलित र अभिभावकविहीन जस्तो छ। गुटका नेता कांग्रेसमा प्रशस्तै छन् तर राष्ट्र हाँक्न सक्ने कोही छैनन्। जेठा मामाको त भांग्राको धोती, कान्छा मामाको झन् के गति भनेको यही हो। यो अवस्था राष्ट्रियता र प्रजातन्त्रका लागि दुर्भाग्य हो।  @annapurnapost
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar