Headlines News :
fb
Home » » ८३ प्रतिशत माइक्रो नियम मिच्छन्

८३ प्रतिशत माइक्रो नियम मिच्छन्

काठमाडौं-उपत्यकाका सडकमा गुड्ने भाडाका माइक्रोमध्ये ८३ प्रतिशतभन्दा बढी चालकले सवारी नियम मिचेर माइक्रो कुदाउने गरेको पाइएको छ।
माइक्रोको मनपरी नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिना अवधिमा गरेको विशेष अनुगमन क्रममा उपत्यकामा कुद्ने माइक्रोमध्ये ८३ दशमलव ०६ प्रतिशत माइक्रो चालकले सवारी नियमविपरीत माइक्रो कुदाएको पाइएको हो।
माइक्रोको मनपरीका कारण दुर्घटना दर बढेपछि महाशाखाले गत चैत २३ बाट भाडा माइक्रो चेकजाँचलाई तीव्रता दिएको थियो। चेक्रजाँजसँगै ‘सघन कारबाही' अगाडि बढाएको महाशाखाले तीन महिना अवधिमा सवारी नियम विपरीत माइक्रो कुदाउने १३ सय ६८ माइक्रोका चालकलाई कारबाही गरेको छ। महाशाखाका अनुसार उपत्यकाका सडकमा १ हजार ६ सय ४७ माइक्रो गुड्छन्।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार तीन महिनाको विशेष अभियान क्रममा माइक्रो चालकले ज्यादती गरेको फेला परेको छ। ‘वास्तवमै माइक्रो चालकले सडकमा दादागिरी नै देखाएका रहेछन्,' उनले भने, ‘तीन महिना अवधिमा लगभग सबै माइक्रो चालक कारबाहीमा पर्नुले पनि चालकले लापरबाही प्रष्ट भएको छ।'
महाशाखाको तथ्यांकअनुसार तीन महिना अवधिमा पटकपटक कारबाहीमा पर्ने चालकको संख्यासमेत धेरै छ। तीन महिना अवधिमा एउटै चालक ५ पटकसम्म कारबाहीमा परेको महाशाखाले जनाएको छ। महाशाखाको तथ्यांकअनुसार कारबाहीमा पर्ने १३ सय ६८ चालकमध्ये २ जना चालक ५ पटक, २४ जना ४ पटक, ६७ जना ३ पटक, २ सय ४५ जना २ पटक र एक हजार ३० जना १ पटक कारबाहीमा परेका छन्।
महाशाखा प्रमुख अधिकारीका अनुसार ५ पटक कारबाहीमा परेका चालक पुनः अर्को पटक कारबाहीमा परे त्यस्ता चालकको लाइसेन्स ६ महिनासम्म खारेज हुनेछ। ‘पटकपटक लापरबाही दोहरिने क्रम बढेपछि कारबाहीको अभिलेख राख्न थालिएको छ,' उनले भने, ‘अभिलेख क्रममा एउटै चालक ५ पटक कारबाहीमा परेको छ र पुनः कारबाहीमा परे लाइसेन्स खारेज गरिनेछ।'
महाशाखाले गरेको अनुगमन क्रममा कारबाहीमा पर्ने माइक्रो चालकले लेन अनुशासन मिचेको, जिकज्याक गरी सवारी कुदाएको, यात्रु लिन तीव्र गतिमा विपरीत दिशाबाट ओभरटेक गर्ने, निषेध गरिएका स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउन र ओराल्ने, क्षमताभन्दा बढी यात्रु कोच्ने, चालकले गाडी कुदाउँदै मोबाइल फोन प्रयोग गर्ने, सहचालकले जिउ बाहिर निकाल्ने, ट्राफिक संकेत नटेर्ने, जथाभावी हर्न बजाउने, ट्राफिकसँग अनावश्यक विवाद गर्ने जस्ता गल्ती गरेका थिए।
माइक्रो चालकका यस्ता गल्तीका कारण उपत्यकामा हुने दुर्घटनामध्ये माइक्रो नै पहिलो नम्बरमा आउने गरेको महाशाखाले जनाएको छ। उपत्यकामा १ हजार ६ सय ४७ माइक्रो गुड्छन्। त्यसमध्ये ३ सय ३४ वटा दुर्घटनामा परेको ट्राफिक महाशाखाको पछिल्लो एक वर्षको तथ्यांकले देखाएको छ। दुर्घटनाको यो दर सवारी संख्याका आधारमा २० प्रतिशतभन्दा बढी हो। यसको तुलनामा उपत्यकामा सबैभन्दा धेरै दुर्घटना हुने ठानिएको मोटरसाइकल सुरक्षित देखिन्छ। सवारी संख्याका आधारमा मोटरसाइकल दुर्घटना दर ०.३४ प्रतिशत मात्र छ। उपत्यकामा ५ लाखभन्दा बढी मोटरसाइकल कुद्छन्।
माइक्रोपछि सवारी संख्याका आधारमा धेरै दुर्घटना पर्नेमा बस र मिनीबस छन्। महाशाखाका अनुसार उपत्यकामा १४ हजार ८ सय ३७ बस र मिनीबस छन् जसमध्ये ४.४ प्रतिशत दुर्घटनामा पर्छन्। तेस्रो नम्बर ट्रकको छ। १६ हजार ४ सय ९७ ट्रकमध्ये ३.३ प्रतिशत दुर्घटनामा पर्ने गरेका छन्। कार–जिपको दुर्घटना दर १.९ प्रतिशत रहेको महाशाखाले जनाएको छ।
माइक्रोलाई कारबाही सुरु गर्नुपूर्व महाशाखाले उपत्यकाका विभिन्न स्थानमा पुगेर माइक्रो चालक तथा सहचालकलाई सवारी नियमका विषयमा जानकारी दिने तथा सुरक्षा विषयमा सम्झाइबुझाइ गरेको थियो। महाशाखाले चैत १६ देखि २१ सम्म माइक्रोका सबै चालक तथा सहचालक र अन्य सवारीका चालक गरी ४८ सय ७१ जनालाई सम्झाइबुझाइ गरेको थियो। तर सम्झाइबुझाइ गर्दासमेत धेरै चालकले नियम मिच्न थालेपछि कारबाही अगाडि बढाइएको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar