Headlines News :
fb
Home » » यात्रुवाहक विमान खसालिएको इतिहास

यात्रुवाहक विमान खसालिएको इतिहास

सन् १९९६ मा अमेरिकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन इरान अन्तर्राष्ट्रिय न्यायिक अदालतसम्म पुग्यो

काठमाडौ, श्रावण १० - पूर्वी युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रमा गत १७ जुलाईमा मलेसियन एयरलान्यसको बोइङ-७७७ एमएच-१७ उडान दुर्घटनाग्रस्त भयो । नेदरल्यान्ड्सको राजधानी आम्सटर्डमबाट मलेसियाको राजधानी क्वालालम्पुरतर्फ गइरहेको उक्त विमानमा सवार १५ आन्तरिक कर्मचारीसहित २ सय ९८ को मृत्यु भयो । अलग राज्यको माग राखी आन्दोलन गरिरहेको रुसी समर्थित लडाकुको पकड रहेको लुहान्स्क क्षेत्रको क्रास्नी र छिमेकी डोनेत्स्कको शाखतारस्कको बीचमा उक्त विमान बजारिएको थियो ।

विमानमा १ सय ९३ नेदरल्यान्ड्सका, ४३ मलेसियाका, २७ अस्टे्रलियाका, १२ इन्डोनेसियाका, १० बेलायतका, जर्मनी र बेल्ज्ियमका चार/चार, फिलिपिन्सका तीन, क्यानाडा र न्युजिल्यान्डका एक/एक नागरिक थिए । उक्त अपि्रय खबर पाएदेखि ती सबै मुलुक शोकमा डुब्यो ।

युक्रेन सरकारले रुसमा निर्मित मध्य दूरीसम्म प्रहार गर्न मिल्ने बक क्षेप्यास्त्र प्रयोग गरी विद्रोहीले विमान खसालेको आरोप लगायो । यही मौकामा पश्चिमा राष्ट्रले पनि युक्रेनसँग स्वर मिलाउँदै सार्वजनिक रूपमै रुसमाथि टीका टिप्पणी गरिराख्यौं । रुस र त्यसद्वारा समर्थित संघर्षकर्ताहरूले युक्रेनी जेटले उक्त विमानलाई निसाना बनाएको दाबी गर्‍यो । यो अप्रत्यासित घटनाले रुसको अमेरिका र युरोपसँगको सम्बन्ध झनै जटिल एवं चुनौतीपूर्ण बन्यो । यो ताजा घटनाले अन्तर्राष्ट्रिय राजनीतिलाई कुन मोड दिने तत्कालै भन्न कठिन भइसकेको छ ।

चार महिनाअघि निर्धारित मार्ग छाडेर अन्यत्र गएर बेपत्ता भएको एमएच-३७० विमान फेला परिनसक्दै मलेसियन एयरलान्यसकै एमएच-१७ उडान अर्को कहाली लाग्दो घटनाको सिकार भएको थियो । वास्तविकता पत्ता लगाउन युक्रेन, नेदरल्यान्ड्स, मलेसिया र युरोपस्थित सुरक्षा तथा आपसी सहयोग संगठन (ओएससीई) को विज्ञ टोलीले अनुसन्धान गरिरहेको छ । सरकार तथा विद्रोही र रुस तथा पश्चिमाबीचको आरोप-प्रत्यारोपबीच जारी यो छानबिनको निचोड निस्कन निःसन्देह केही दिन लानेछ ।

यी सबबीच बिहीबार एकाबिहानै मालीको आकाशमा एयर अल्जेरीको विमान दुर्घटनाग्रस्त भएर त्यसमा सवार १ सय १६ जनाकै निधन भयो । अल कायदा समर्थित लडाकुको पकड क्षेत्रमा विमान खसेको थियो । अचानक बिग्रेको मौसमले वा अन्य कुनै कारणले विमान दुर्घटनाग्रस्त भएको सम्बन्धमा फ्रान्सले अनुसन्धान गरिरहेको छ । प्राविधिक गडबडी र मौसमको खराबीका कारणले विश्वमा विमान दुर्घटना हुनु नौलो मानिन्न । तर, संसारमा यात्रुवाहक विमान आक्रमणको लक्ष्य बनेको र यस्तो खाले विवादमा अल्झेको पहिलोपटक भने होइन । विभिन्न निहुँ, शंका र झुक्किएर थुप्रैपटक विभिन्न मुलुकको यात्रुवाहक विमानलाई आफ्नो भूमिमा खसालिएको छ ।

साइबेरियन एयरलान्यस उडान १८१२, अक्टोबर २००१: सन् २००१ को अक्टोबर ४ मा इजरायलको तेल अविवबाट रुसको नोभोसिबिर्स्कतर्फ गइरहेको साइबेरियन विमानमा गोली प्रहार हुँदा ब्ल्याक सीमा झरेको थियो । त्यसमा यात्रा गरिरहेका सम्पूर्ण ७८ यात्रुको ज्यान गएको थियो । सुरुमा युक्रेनी सेनाले उक्त घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको थियो । पछि ढाकछोप गर्न नसकेपछि युक्रेनी अधिकारीहरूले एक प्रशिक्षण अभ्यासको क्रममा भूलवश उक्त विमानमा प्रहार गर्न पुगेको स्विकारेका थिए ।

थ्री ट्रान्सएयर जर्जिया प्लेन्स, सेप्टेम्बर १९९३: विद्रोहीको क्षेप्यास्त्र र बन्दुकले ट्रान्सएयर जर्जियाको टुपोलेभ सिभिलियन एयरलायनर्समा प्रहार गर्दा त्यसमा बसेका सम्पूर्ण १ सय ३६ जनाको मृत्यु भएको थियो । जर्जियासँग स्वतन्त्रताका लागि लडिरहेको अबखाजिया क्षेत्रमा उक्त घटना भएको थियो  उक्त क्षेत्रमा यो एक मात्र घटना भएन । रुसबाट उडेको पहिलो विमान टी-१३४ लाई सोही वर्षको सेप्टेम्बर २१ मा अबखाजियाको सुखुमी विमानस्थल पुग्नै लाग्दा हानियो । ब्ल्याक सीमै पड्केको उक्त विमानका ५ कर्मचारी र २२ यात्रुको निधन भयो । त्यसको भोलिपल्ट उक्त विमानस्थलमा अवतरण गर्नै लाग्दा टी-१५४ विमानमा गोली प्रहार भयो । विमानमा सवार १ सय ३२ मध्ये १ सय ८ को इहलीला सकियो । दुई दिनपछि सेप्टेम्बर २३ मा उक्त विमानस्थलको एक विमानमा यात्रुहरू चढिरहेको बेला आक्रमण हुँदा आगो लाग्यो र एक कर्मचारी मारिए ।

इरान एयर फ्लाइट ६५५, जुलाई १९८८: सन् १९८८ को ३ जुलाईमा दुबईका लागि उडेको इरान एयरवस ए-३०० लाई खाडीको आकाशमा आक्रमण गरियो । सन् १९७९ को क्रान्तिअघि इरानलाई बेचिएको एफ-१४ युद्धक विमान सम्झेर भूलवश लक्षित गरिएको थियो । अमेरिकी युद्धपोत यूएसएस भिनसेनेसले दुई क्षेप्यास्त्र प्रहार गरेर उक्त विमानलाई खसाल्दा त्यसमा उडिरहेका सबै २ सय ९० यात्रुको मृत्यु भएको थियो ।

इरानले उक्त घटनालाई आपराधिक कार्य, आतंकवादी गतिविधि र नरसंहार भन्दै निन्दा गरेको थियो । अमेरिकाले असमझदारीवश भएको भन्दै आफ्नो बचाव गरेको थियो ।

सन् १९९६ मा अमेरिकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन यो मुद्दा लिएर इरान अन्तर्राष्ट्रिय न्यायिक अदालतसम्म पुग्यो । अमेरिकी सरकारलेपछि पीडित परिवारजनलाई क्षतिपूर्ति दिनुपर्‍यो ।

कोरियन एयरलायन्स फ्लाइट-००७, सेप्टेम्बर १९८३: सन् १९८३ को १ सेप्टेम्बरमा न्युयोर्कबाट दक्षिण कोरियाको सोलतिर यात्रा गरिरहेको कोरियन एयरलायन्स प्यासेन्जर जेटमाथि सोभियत युद्ध विमानबाट प्रहार हुँदा सबै २ सय ६९ जनाले ज्यान गुमाए । बाटो बिराएर सोभियत भूमिमा भौंतारिँदा उक्त विमानमाथि आक्रमण भएको थियो । सोभियत नेताहरूले प्रारम्भमा उक्त घटनाबारे अनभिज्ञता जनाए । उक्त विमान जासुसी अभियानमा रहेको उसले पछि दाबी गरेर पन्छियो ।

लिबियन अरब एयरलायन्स फ्लाइट ११४, फेब्रुअरी १९७३: सन् १९७३ को २१ फेब्रुअरीमा इजिप्टको साइनाई मरुभूमिमा इजरायली लडाकुहरूले लिबियन एयरलान्यस बोइङ ७२७/२०० लाई गोली हानी खसाले । उत्तरी इजिप्टमा खराब मौसमका कारणले चालकहरू भ्रमित हुँदा र यन्त्रले काम गर्न छोड्दा विमान इजरायल नियन्त्रित साईनाई मरुभूमि क्षेत्रको आकाशमा पुगेको विश्वास गरिएको थियो । अवतरण गर्ने संकेत र गोली हान्ने चेतावनीपछि दुई इजरायली फाइटर जेटले विमानलाई खसालेको थियो । सवार १ सय १३ मध्ये सहचालकसहित मात्र ५ जना बचेका थिए ।

क्याथे प्यासिफिक एयरवेज सी-५४, जुलाई १९५४: सन् १९५४ को २३ जुलाईमा बैंककबाट हङकङका लागि १९ यात्रु र कर्मचारीसहित उडिरहेको क्याथे प्यासिफिक सी-५४ स्काइमास्टरलाई हाइनान द्वीपभन्दा पर म्यानल्यान्ड चिनियाँ लडाकु विमानले झारेको थियो । यसमा १० को प्राण गयो । आक्रमण अभियानमा बढेको सैन्य विमान सम्झिँदा गल्ती भएको चीनले भनेको थियो ।

(बीबीसी रिपोर्टहरूमा आधारित)
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar