Headlines News :
fb
Home » » टाढिँदैछन् टिनएजर

टाढिँदैछन् टिनएजर

काठमाडौं– राजधानीको एक मध्यम परिवारमा छोरो ठूलो भयो। साथीहरू बाइक चढ्न थालेको देखेर उसमा पनि आकांक्षा चुलियो। बाइक किनिदिन बाबुलाई पिरल्न थाल्यो, त्यो पनि रोज्जाको। बाबुले सिधै ‘किन्न सक्दिनँ' भनिदिए। छोरो फन्कियो। बाबुआमासँग यसरी रिसायो, साना–साना कुरामा पनि झर्कोफर्को गर्न थाल्यो। केही सोध्दा पनि ठाडो जवाफ दिन्थ्यो। हुँदाहुँदा, ऊ बाबुआमासँग बोल्नै छाड्यो।
मोटरसाइकलको निहुँमा छोरो परिवारबाटै टाढिन थालेपछि उसको माग पूरा नगरी धरै भएन। आमाले गहना बेचेर बाइक किनिदिइन्। छोरो खुसी त भयो तर यतिले समस्या समाधान भएन। बाइक पाएपछि छोरो घरै बस्न छाड्यो। रातबिरात साथीहरूसँग बरालिएर हिँड्दाहिँड्दै बाबुआमाले चालै नपाई ऊ त कुलतमै फसिसकेछ।
घटना २
तीनकुनेकी रञ्जु बस्नेतसँग उनको छोरो सानैदेखि एकदमै झ्याम्मिन्थ्यो। हरेक कुरा आमालाई नसोधी चित्त बुझ्दैनथ्यो। घुम्ने साथी पनि आमा नै चाहिने। उमेर जति बढ्दै गयो, उसको बानी फेरिँदै गयो। कक्षा ९ पुग्दासम्म छोरो आफूदेखि निकै टाढिएको महसुस गरिन् उनले। रञ्जुलाई लाग्यो– उमेरअनुसार छोराको व्यवहार सामान्य नै हो। सुरुसुरुमा उनले छोराको बदलिँदो व्यवहारलाई स्वाभाविक रूपमै लिइन्।
स्थिति भने उनले सोचेजति सीमामा अडिएन। झन्झन् अस्वाभाविक र असामान्य बन्दै गयो।
एक रात छोरो पढ्दापढ्दै निदाएछ। किताब छातीमा थियो। रञ्जुले छोरो राम्ररी सुतोस् भनेर खुसुक्क किताब झिकिदिइन्। छोराले रातबिरात पढिरहेको किताब पल्टाइन्, कोर्सको थिएन। छोराले आफ्नो विश्वास तोडेको ठानेर उनलाई रिस उठ्यो। सोच्न थालिन्, ‘समस्याको हल कसरी खोज्ने? अब छोरासँग कसरी व्यवहार गर्ने? कसरी सही बाटोमा ल्याउने?'

घटना ३
ललितपुरका विपीनको बाबुआमासँग भन्दा हजुरबुबासँग बढी घुलमिल हुन्थ्यो। हजुरबुबाको निधनपछि उनले त्यस्तै अरू कोही साथी पाएनन्। त्यसले उनलाई एक्लो महसुस गराउन थाल्यो। मनमा मृत्युको भय उत्पन्न भयो, भित्रभित्रै त्यसले तर्साउन थाल्यो।
उनलाई त ‘डेथ फोबिया' (मृत्युसँग डराउने रोग) नै भइसकेछ। परिवारले त्यो बुझेन, बरु कायरको संज्ञा दियो। आमाबाबुले समस्यालाई गम्भीर रूपमा लिएनन्, कहिले धामीझाँक्री त कहिले मनोचिकित्सककहाँ पुर्याेए। औषधीले छोएन, समस्या झन् बढ्दै गयो। आमाबाबु भने पढ्नुपर्छ भनेर नाटक रचेको आरोप लगाउँदै थिए। आफूमाथि अविश्वास गरेर छिमेकीको कुरा सुन्ने, भाइबहिनीले पनि हेप्ने क्रम बढेपछि उनी विक्षिप्त बन्दै गए।
...

मनोपरामर्शदाता गंगा पाठककहाँ माथिकै जस्ता घटना लिएर दिनहुँजसो थुप्रै अभिभावक धाइरहेका हुन्छन्। उनीहरू सबैको एउटै प्रश्न हुन्छ, ‘छोराछोरीलाई सही बाटोमा ल्याउन के गर्नुपर्ला?'
व्यक्तिगत जीवनसँग सम्बन्धित मनोवैज्ञानिक सकसको हल खोज्न पाठककहाँ आउनेमध्ये धेरैजसोका समस्या किशोर उमेर (टिनएज) सँग सम्बन्धित हुन्छन्। त्यसमा पनि बाबुआमा र छोराछोरीबीच बढ्दो दुरीको।
मनोविज्ञहरूका अनुसार छोराछोरी बाल्यावस्थाबाट किशोरावस्थामा उक्लँदा बाबुआमासँग टाढिँदै जाने, स–साना कुरामा झर्कने, आमाबाबुलाई केही थाहै छैनजस्तो गर्ने, घरव्यवहार बुझ्दै नबुझी महँगा चिज फरमाइस गर्ने, दिनरात साथीभाइसँग बरालिने, कुसंगत र कुलतमा फस्नेजस्ता अनेक समस्यामा फस्न पुग्छन्।
‘किशोर उमेरका केटाकेटीलाई कतिसम्म स्वतन्त्रता दिने भन्ने ज्ञान आमाबाबुमा हुनुपर्छ,' मनोपरामर्शदाता पाठक भन्छिन्, ‘किशोर–किशोरीले पनि आफ्नो उमेरअनुसार कुनै पनि चाहना या बाटो कतिसम्म स्वाभाविक र अस्वाभाविक हो, त्यसले भविष्यमा कस्तो असर गर्छ भन्ने सोचविचार गर्नुपर्छ।'
सानो छँदा छोराछोरीलाई बाटो देखाउन बाबुआमाले सम्झाउने, बुझाउने, हप्कीदप्की सबै गर्छन्। यसले उनीहरूलाई सही बाटो लिन सघाउँछ पनि। तर, उनीहरू हुर्कंदै गएपछि आमाबाबुले एउटा अप्ठेरो अवस्था बेहोर्ने चरण पार गर्नुपर्छ।
किशोर अवस्था अत्यन्तै जिज्ञासु, अति भावुक, अनियन्त्रित मनोवेगले भरपूर हुन्छ। यस्तो उमेरमा उनीहरूका चाहना अनपेक्षित हुन्छन्। अगाडिपछाडि नसोची आफ्नो इच्छा मात्र पूरा गराउने लहड बढ्छ। यस्तो बेला उनीहरूलाई केटाकेटी उमेरमा जस्तो न हप्कीदप्की लाउन सकिन्छ, न साथीजस्तै व्यवहार गर्न। यसो गर्दा उनीहरू झन् बिच्कने र घरपरिवारबाटै टाढिने डर हुन्छ।
मनोविज्ञकहाँ आएका टिनएजरका गुनासा पनि उत्तिकै हुन्छन्, बाबुआमासँग। उनीहरू सोच्छन्– बाबुआमाले मेरो चाहना बुझेनन्, सधैं गाली मात्र गरे, इन्टरनेट, मोबाइल चलाउन दिएनन्, स्वतन्त्र जीवन बाँच्नबाट छेकबार लगाए, जे कुरामा पनि सीमा तोकिदिए, मोटरसाइकल वा साइकल किनिदिएनन्, यस्तै–यस्तै।
बढ्दो आधुनिकीकरण र सहरीकरणसँगै परिवारभित्र अभिभावक र केटाकेटीको रुचि र व्यवहारमा ध्रुवीकरण बढ्दै गएको मनोविज्ञहरू बताउँछन्। यसलाई भित्रभित्रै गुम्स्याएर राख्नुको साटो दुवै पक्षले स्वाभाविक रूपमा लिँदै जतिसक्दो एकअर्कालाई बुझ्ने र दुरी कम गर्ने पहल गर्नुपर्ने उनीहरूको राय छ।
छोराको समस्या लिएर पाठककहाँ पुगेकी रञ्जुलाई सुरुसुरुमा छोराले आफैं निर्माण गरेको संसारमा स्वतन्त्र विचरण गरिरहेकोमा आपत्ति थिएन। केटाकेटीमाथि आफ्नो आकांक्षा लाद्न नहुने सोचाइकी रञ्जु नागरिकसँग अनुभव बाँड्छिन्, ‘पखेटा लागेको बचेरा आफ्नै आकाशमा निर्वाध घुम्ने प्रकृतिको नियम नै हो, कसैको स्वतन्त्रता हनन गर्नुहुन्न, त्यही स्वतन्त्रता दुरुपयोग गर्दै छोराछोरी गलत बानीबेहोरातिर लहसिन थाले भनेचाहिँ समयमै उपचार खोज्नुपर्छ।'
मनोविज्ञ पाठकसँग सल्लाह लिएपछि उनी त्यस्तै उपचारको खोजीमा लागेकी छन्।
उनलाई आफूमात्र यस्तो समस्याबाट गुजि्रएजस्तो लाग्दैन। आफन्त र छिमेकीले पनि सन्तान हुर्काउने प्रक्रियामा यस्तै कठिनाइ भोगिरहेको देख्दा उनलाई लाग्छ, ‘यो अहिलेको युगकै समस्या त होइन?'
रञ्जुले आफ्नै छिमेकीको एउटा समस्या पनि सुनाइन्, जसका छोराले ‘एनालिटिकल इन्जिनियरिङ' पढ्ने ढिपी कस्दा परिवार अनौठो समस्यामा फस्न पुग्यो। नेपालमा पढाइ नहुने यो विषय पढ्न भारत जानुपर्ने थियो। अवसर सीमित छ भन्ने थाहा पाएपछि अभिभावकले छोरालाई सबै कुरा बुझेर मात्र त्यो विषय पढ्न आग्रह गरे।
समस्या सुल्भि्कएन, झन्झन् बल्भि्कयो।
‘न त्यो छोराले आफ्ना आमाबाबुलाई कन्भिन्स गर्न सक्यो, न आमाबाबुले दिएको सल्लाह मान्न तयार भयो,' रञ्जुले सुनाइन्, ‘उसले ढिपी नछाड्दा किचलो बढ्दै गएर छिमेकीको सानो परिवार ठूलो समस्यामा पर्योा।'
उनका अनुसार किशोरावस्थामा पढ्न मन नगर्ने, टिभी र कम्प्युटरमै रात काट्ने, दिनभर एयरफोन लगाएर गीतमा झुम्ने, बोलाएको धेरैपछि मात्र प्रतिक्रिया दिने, सामाजिक क्रियाकलापमा ध्यान नदिने, घरमा पकाएको खानेकुरामा रुचि नदिने, सधैं बाबुआमाले आफ्नो इच्छा पूरा गरिदिएनन् भनेर गुनासो गर्ने बानीले धेरैको परिवारलाई समस्यामा पारेको उनको धारणा छ।

किशोर/किशोरीको दृष्टिमा भने समस्याको जड यो होइन।

अभिभावकले दिने सजाय, अवहेलना र पक्षपातले किशोर मनोविज्ञानमा असर पार्ने उनीहरू बताउँछन्। उनीहरूका भनाइमा, धेरैजसो बाबुआमामा ‘मै हुँ' भन्ने भावना हुन्छ। उनीहरू आफूले भनेको कुरा छोराछोरीले मान्नैपर्छ भन्ने चाहन्छन्। नभएको खण्डमा ‘शक्ति' देखाउन थाल्छन्।

अभिभावकको यस्तै सोचले सन्तानको जीवन बर्बाद पार्ने ललितपुरका विपीनको आरोप छ। अभिभावककै डरत्रास र दबाबले आफ्नो किशोरावस्था ‘डिप्रेस्ड' बनेको नमिठो अनुभव उनले सुनाए।
‘मलाई डेथ फोबिया (मृत्युसँग डराउने रोग) भएको रहेछ। परिवारले गम्भीर रूपमा लिएन, बरु कायरको संज्ञा दियो,' उनी भन्छन्, ‘सबैले हेपेको महसुस भयो, म झन्झन् विक्षिप्त बन्दै गएँ।'

सम्बन्धमा दरार
अभिभावक सन्तानमा समस्या देख्छन्, सन्तान अभिभावकमा।
समस्या जे भए पनि एउटा व्यथा टड्कारो रूपमा प्रकट भएको छ– किशोर/किशोरी र अभिभावकबीचको सम्बन्धमा दरार।

अहिलेका टिनएजर ‘स्मार्ट' छन्। अधिकांशसँग अन्तर्राष्ट्रिय एक्सपोजर छ। इलेक्ट्रोनिक डिभाइस र ग्याजेट्सले उनीहरूको दायरा फराकिलो पारेको छ। उनीहरूलाई ‘स्मार्ट' बनाउने यी प्रविधिको कतिबेला दुरुपयोग हुन्छ, धेरैले चाल पाउँदैनन्। कुनै पनि व्यक्ति, खासगरी किशोर उमेरमा इलेक्ट्रोनिक डिभाइस ग्याजेट्सको अत्यधिक प्रयोगले एकलकाँटे र असामाजिक बनाउने मनोविज्ञ पाठकको अनुभव छ।
‘छोराछोरीको यही स्वभाव अभिभावकसँगको सम्बन्धमा दरार ल्याउने कारण बन्छ,' उनी भन्छिन्।
उनी किशोर/किशोरीलाई तीन कारणले अभिभावकसँग टाढा गराउँदै लगेको बताउँछिन्– पढाइसँग सम्बन्धित समस्या, अभिभावकसँगको सम्बन्ध र लभ अफेयर्स।
‘नेसनल इन्स्टिच्युट अफ साइकोलोजी' नामक संस्थाकी प्रमुख मनोविज्ञ पाठककहाँ यस्ता समस्याको चाङ नै छ। उनीकहाँ मनोवैज्ञानिक परामर्शका लागि आउने केटाकेटीमध्ये धेरै पोर्नोग्राफीको लतमा छन्।
‘अहिलेका टिन आफूलाई आधुनिक ठान्छन्। साइबरमा केटाकेटी सँगै बसेर अश्लील भिडियो हेर्छन्। उनीहरूबीच अश्लील ‘कन्भर्सेसन' चल्छ,' पाठक भन्छिन्, ‘यस्तो क्रियाकलापले उनीहरूको एकेडेमिक उन्नतिमा असर पारेको छ। दिमाग खल्बल्याएको छ। मानसिक अस्वस्थता बढाएको छ। र, अन्ततः अभिभावकसँगको सम्बन्ध नै बिगारेको छ।'
परिवारबाट प्रचुर माया–ममता पाउँदा–पाउँदै उनीहरूको आँखा छलेर कुलतमा फस्नेहरू नभएका होइनन्। बूढानीलकण्ठस्थित नार्कोनन नेपालको सुधार गृहमा रहेका एक किशोर परिवारलाई छक्याएर लामो समय लागुपदार्थको कुलतमा फसे।
रक्सीजस्तो गन्ध नआउने हुँदा आफूले लागुऔषध सेवन गर्न थालेको परिवारले पत्तै नपाएको उनी सुनाउँछन्। त्यसपछि त उनी अझ हौसिएर लागुऔषधको नसामा डुब्दै गए। शंका गर्लान् भनेर कम बोल्थे। घर ढिलो आयो भनेर गाली गर्दा पनि जवाफ फर्काउँदैनथे।
उनको कुलत सधैं लुक्ने कुरा भएन। एकदिन परिवारले थाहा पाइहाल्यो। लगत्तै उनलाई सुधार गृह पुर्याभइयो।
आफू बिग्रिनुको दोष उनी परिवारलाई दिँदैनन्। ‘तनावले होइन, देखासिकीले खाएको हुँ। अहिले गलत गरेँ भनेर पश्चाताप छ,' उनी भन्छन्, ‘मैले परिवारको विश्वास गुमाएँ। म फर्किएपछि पनि उहाँहरूको विश्वास फर्किंदैन कि भन्ने चिन्ता छ।'
यसरी समय र साथ दिँदादिँदै कहिलेकाहीँ किशोर उमेरमा पुगेका छोराछोरी सपार्न गाह्रो हुने अभिभावकको गुनासो छ। केही कुरा नियन्त्रण गर्न खोज्यो भने उनीहरूलाई मान्य हुँदैन। खुला छाडिदियो भने दायरा नाघेको पत्तो पाउँदैनन्।

हुर्काउने कला
अभिभावकका निम्ति सन्तानलाई सही बाटोमा हिँडाउने कला चुनौतीपूर्ण बन्दै गएको छ। नगरकोटको एक ठूलो होटलका महाप्रबन्धक यस्ता अनौठो चुनौतीको बुद्धिमतापूर्ण ढंगले सामना गर्दै टिनएजर छोरी हुर्काइरहेका छन्।
उनकी छोरीले एकदिन अनौठो प्रस्ताव राखिन्। ‘मेरो टिनएज सुरु हुने बर्थ डे पार्टी होटलको स्विमिङ पुलमा गर्छु। त्यहाँ मेरा सातजना केटा र २५ जनाजति केटी साथी हुन्छन्। बिकिनी पार्टी हुने भएकाले तपाईं त्यस दिन अफिसमा नबस्नुहोला,' छोरीको यस्तो प्रस्ताव सुनेर उनी अक्क न बक्क भए।
उनले तुरुन्तै केही जवाफ दिन सकेनन्। नाइँ भनूँ, छोरीले विद्रोह गर्लिन् भन्ने डर, हुन्छ भनँू बिकिनी पार्टीका नाममा छोरीले गलत कदम उठाउँलिन् भन्ने त्रास।
उनले निकै सोचविचारपछि सुझबुझपूर्ण निर्णय लिए। उनले छोरीको प्रस्ताव स्वीकार गरे। सँगसँगै, त्यो बिकिनी पार्टीलाई कसरी मर्यादित बनाउने भनेर दिमाग चलाउन थाले।
उनले छोरीलाई भने, ‘ठिक छ, तर पुलमा क्यामरा फिट गरेको छ। आफ्ना साथीहरूलाई यसको जानकारी दिनू, क्यामरासामु तिमीहरूले जे पायो त्यही हर्कत गर्यौप भने राम्रो हुन्न।'
छोरीको बर्थ डे सेलिब्रेसन उनको योजनाअनुसार बिकिनी पार्टीबीच भयो। बाबुको ‘आइडिया' ले काम गर्योप। पार्टीमा कोही उच्छृंखल रूपमा प्रस्तुत भएनन्।
‘हुर्कंदो सन्तानलाई अनुशासनमा राख्न दबाब होइन, चलाखी र सुझबुझ चाहिन्छ,' ती महाप्रबन्धकले भने।
मनोविज्ञ पाठक पनि सानो उमेरका केटाकेटी हुर्काउन जति ‘प्यारेन्टिङ' को खाँचो पर्छ, किशोर उमेरका छोराछोरी हुर्काउन त्योभन्दा बढी कलापूर्ण प्यारेन्टिङ चाहिने बताउँछिन्।
‘यी दुवै प्यारेन्टिङ नै हुन्, तर यसका प्रकृति फरकफरक छन्, दुवै एकअर्कासँग भिन्न छन्,' उनी भन्छिन्, ‘सानो उमेरमा प्यारेन्टिङ राम्रो नभए केटाकेटीमा मानसिक असर पर्छ भने किशोर उमेरमा उचित प्यारेन्टिङ नभए छोराछोरीले बाटो बिराउने खतरा हुन्छ। यस्तोमा अभिभावक निकै चनाखो हुनुपर्छ।'
उनका अनुसार ७/८ वर्षसम्म अभिभावकसँग नजिक हुने बालबालिका हर्मोन परिवर्तन हुने बेला आफ्नै समूह बनाउन थाल्छन्। बाबुआमासँग टाढिन खोज्छन्। यस्तो प्राकृतिक परिवर्तनमा पनि धेरै अभिभावक विक्षिप्त हुने गरेको पाठकले देखेकी छन्। यसलाई सहज रूपमा लिएर, विश्वासको वातावरण बनाएर उनीहरूलाई सही बाटोमा लगाउनुपर्ने पाठकको सुझाव छ।
‘खबरदारी गरेर, तर्साएर तह लगाउन खोज्नु मूर्खता हो,' उनी भन्छिन्।

पारिवारिक संरचनामा परिवर्तन
पारिवारिक संरचनामा आएको परिवर्तनले पनि सन्तान–अभिभावक दूरी बढाएको ठान्छन्, मानवशास्त्री सुरेश ढकाल।
सहरी समाजका आमाबाबु घरबाहिरका काममा व्यस्त हुन्छन्। एकल परिवारमा बस्छन्। कमाउने र घरधन्दा गर्ने कामले व्यस्त बनाउँदा उनीहरूसँग छोराछोरीलाई दिन पर्याप्त समय हुँदैन। ‘आफ्नो काममा व्यवधान नल्याऊन् भनेर सानै उमेरदेखि मोबाइल र कम्प्युटर प्रयोग गर्न अभिभावक नै सिकाउँछन्। पछि, उनीहरू त्यसमै अभ्यस्त हुन्छन् र त्यसको गलत प्रयोग गर्छन्,' उनी भन्छन्।
दुरी बढ्नुको दोस्रो कारण उनी ‘स्कुलिङ' लाई मान्छन्।
स्कुलले कम्प्युटरमार्फत ‘प्रोजेक्ट वर्क' गर्न लगाउँछ। घरपरिवारसँग अन्तर्वार्ता गरेर लेख भन्दैन। त्यसैले ग्याजेटसँग नजिकिनु उनीहरूको बाध्यता बन्दैछ।
‘स्कुलमा त्यसरी सोसलाइज भएपछि उनीहरूमा लत बस्छ, अनि लुकेर चलाउन थाल्छन्,' उनी भन्छन्, ‘मेरो बच्चाले त मोबाइल बिग्रे पनि बनाउँछ, मभन्दा चलाउन जान्ने छ भनेर अभिभावकले नै फुर्क्याइरहेका हुन्छन्।'
आफूप्रतिको लगाव केटाकेटीले निकै ख्याल गर्छन्। बाबुआमाले त्यसलाई पूरा गर्न नसक्दा प्रेमी/प्रेमिका बनाउने, लागुऔषध र यौनजन्य क्रियाकलापमा लाग्न प्रेरित गर्छ। ढकालका अनुसार आफूले अभिभावकबाट माया र समय नपाएको कुराको प्रतिरोध हो त्यो।

 यौनमा आकर्षित
विवाहअघिको यौनसम्पर्क, गर्भधारण र त्यसले निम्त्याउने परिणामले पारिवारसँग छोराछोरीलाई टाढा गराउने प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको अनुभव छ। यस्ता समस्याबाट गुजि्रएकालाई दुईथरी कारणले अलग्याउने उनी तर्क गर्छन्। एउटा, गलत काम गरेँ भन्ने पश्चाताप। अर्को, समाज र परिवारले के भन्ला भन्ने डर।
यहीँनेर अर्को जोखिमप्रति सतर्क गराउँछन् उनी। ‘असुरक्षित यौनसम्पर्कतर्फ अहिलेको पुस्ता अग्रसर रहेको देखाउँछ, चिया पसलमा समेत बेचिने ‘एबोर्सन ट्याब्लेट' ले। मानसिक र शारीरिक अपरिपक्वताका कारण उनीहरूले गरिरहेको यस्तो दुस्साहस रोक्न चेतनामूलक कार्यक्रमको विकल्प छैन,' डा. रिजाल भन्छन्, ‘एक त उनीहरू उमेर नपुग्दै शारीरिक सम्पर्क राख्ने गर्छन्, त्यसमाथि गर्भ बसेको कुरा लुकाएर अर्को गल्ती गर्छन्। सबैभन्दा ठूलो गल्ती त इमर्जेन्सी पिल्स खाएर। यसको घातक पक्षबारे जानकारी गराउन सके गल्ती गर्दैनथे।'
यौनजन्य विकृति रोक्न घरमै खुलेर कुरा गर्न उनी सुझाव दिन्छन्। स्कुल र कलेजमा पनि यसको खाँचो ठान्छन् उनी।

‘समस्या उजागर गरौं'
सन्तानका हरेक गतिविधिबारे अभिभावक चनाखो भए उनीहरू बिग्रिन पाउँदैैनन्। बिग्रिहाले पनि संयम अपनाएर उपचारमा लागे सुधार्न सकिन्छ भन्ने कुराका उदाहरण हुन्, राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामा।
उनी एक दशकअघि फिल्म निर्माण, निर्देशन र अभिनयमा व्यस्त थिए। अन्य अभिभावकले जस्तै उनको धारणा थियो, छोरालाई ठूलो मान्छे बनाउने हो भने राम्रो, महँगो र अंग्रेजी माध्यमको स्कुलमा पढाउनुपर्छ। उनले छोरालाई ‘ठूलो' स्कुलमा भर्ना गरिदिए र आफू निश्चिन्त फिल्मको काममा लागे। छोरासँग अन्तर्क्रिया गर्ने समय थिएन उनीसँग।
जुन दिन उनले कान्छो छोरा सिद्धार्थ लागुपदार्थको कुलतमा फसेको चाल पाए, छाँगाबाट खसेजस्ता भए।
‘अब के गर्ने?'
छोरालाई घरमै थुनेर राख्ने, गाली गर्ने, पिट्ने के गर्ने? एकछिन अन्योलमा परे। फेरि तुरुन्तै आफूलाई सम्हाले।
‘यो सब मैले समय दिन नसकेको र परम्परागत प्यारेन्टिङको फल हो। होसपूर्वक समाधान गर्नुपर्छ,' उनले मनमनै संकल्प गरे।
उनले छोरा कुलतमा परेको कुरा लुकाएनन्, ‘एक्सपोज' गरे। छोरालाई आफ्नो निगरानीमा राखे। अनि लागुऔषध दुर्व्यसनीविरुद्धको अभियान थाले, छोरालाई नै अघि लगाएर।
‘सिद्धार्थ ट्यालेन्ट थियो र यो अभियानलाई आत्मसात गर्योि। उसलाई सुधि्रन समय लागेन,' लामा भन्छन्।
सिद्धार्थ अहिले व्यापारका साथै ‘डि–केयर फाउन्डेसन' नामक लागुऔषध दुर्व्यसनीविरुद्धको संस्थामा सक्रिय छन्।
छोरा सुधार्ने अभियानमा सफलता मिलेपछि उनी विशेषज्ञजसरी ‘प्यारेनिटङ' को टिप्स दिन्छन्। ‘बच्चामा आउने समस्यालाई एक्सपोज गरिहाल्नुपर्छ। सबैलाई थाहा दिएर समाधान खोज्नुपर्छ,' लामा भन्छन्, ‘जब कुनै अभिभावकले समस्या लुकाउन खोज्छ, सबैभन्दा ठूलो समस्या त्यही बन्छ।'
उनका अनुसार अधिकांश अभिभावक आफ्ना सन्तानसँग अन्तर्क्रिया गर्दैनन्। उनको पनि सुरुआतको ‘प्यारेन्टिङ' त्यस्तै रह्यो। ‘जब समस्या पर्योन, अनि लालनपालनका तौरतरिका जान्न खोजेँ। व्यापार व्यवसाय स्थगित गरेर सन्तानको रेखदेखमा खटिएँ, ठूलो दुर्घटनाबाट जोगिएँ,' उनी भन्छन्।
लामालाई थाहा छ, लागुऔषधको कुलत खतरनाक हुन्छ। यसमा लागेकाहरू कि त ओभरडोज खाएर ज्यान गुमाउँछन् कि अपराध गरेर जेल पुग्छन्। यी दुई अप्रिय विकल्पबाट पार पाएकोमा उनी खुसी छन्।

बोलचाल बन्द नगरौं
राजेश हमाल, अभिनेता

बेलाबेला स्कुल/कलेजका भाइबहिनीसँग अन्तर्क्रिया गर्ने मौका मिल्छ। त्यतिबेला म एउटै कुरामा जोड दिन्छु– आफन्तसँग दुरी नबढाउनुस्, कुनै कुरा चित्त नबुझे छलफल गर्नुस्, बहस गर्नुस् तर बोल्न बन्द नगर्नुस्।
अझ आफ्नो बाबुआमासँग त त्यसो गर्दै नगर्नुस्। मैले सानो निहुँमा आफ्नो पिताजीसँग बोल्न छाडेको थिएँ। उहाँ जागिर क्रममा पाकिस्तान सरुवा हुनुभयो। फर्केपछि सरी भन्दै नजिक हुन्छु भन्ने थियो, उहाँ कहिल्यै फर्किनुभएन। उतै पिताजीको हृदयघातले निधन भयो। अल्लारे बेलामा गरेको त्यो गल्तीको मलाई सधैं पछुतो भइरहन्छ। म भन्छु, परिस्थितिलाई जसरी भए पनि ह्यान्डिल गर्नुस्। तर, अभिभावकसँग बोल्न नछाड्नुस्।



टिनएजका तीन समस्या
 गंगा पाठक
पढाइ : अहिलेका अधिकांश केटाकेटी पढाइमा ध्यान दिँदैनन्। एकाग्र नहुने र करिअरप्रति ‘कन्फ्युज्ड' रहने उनीहरूको विशेषता नै हुन्छ।

अभिभावक सम्बन्ध : बाबुआमाले आफ्नो कुरा बुझेनन्, राम्रो गरिदिएनन्, स्वतन्त्रता भएन, जे गरे पनि राम्रो गरिस् भन्दैनन् भनेर दोष लगाउँछन्। जेनरेसन ग्याप भएकाले पनि यस्तो समस्या उत्पन्न भएको हो। बच्चाहरू २४ घन्टै मोबाइलमा झुत्तिन्छन्, खाने बेला पनि। केही भन्यो कि रिसाइहाल्छन्। एक्लै बस्न रमाउने बानी बस्छ धेरैमा। यस्तो देखेपछि अभिभावकलाई पनि रिस उठ्छ। झगडा पर्छ। सम्बन्धमा दरार आउने मुख्य कारण यही हो।

लभ अफेयर्स : मकहाँ आउने अधिकांश केस लभ अफेयर्स र इलेक्ट्रोनिक डिभाइसले ल्याएको समस्यासम्बन्धी छ। अहिलेका केटाकेटीलाई कोहीसँग प्रेम सम्बन्ध गाँसिनु र छुटिनु नौलो छैन। रिलेसन पार्टी, ब्रेकअप पार्टी, प्याचअप पार्टी के के हो के के! म त सुनेरै छक्क पर्छु। विदेशका सेलिब्रेटीको विषयमा पढिन्थ्यो, अहिले आफ्नै समाजमा देखिन थालेको छ। मध्यरातसम्म फोनमा कुरा गर्नु, सँगै दुई/तीन प्रेमीप्रेमिका बनाउनु उनीहरूको आदत हुन थालेको छ। यस्तो अवस्थामा आमाबाबुलाई बच्चा सम्हाल्न साह्रै गाह्रो छ।
साथीसँग धेरै घुलमिल गरेको, ढिला घर आएको कसैलाई मन पर्दैन। धेरैले यस्तो भयो भने झोक्किने, गाली गर्ने गर्छन्। हुन पनि हामी गाली गर्न सिपालु छौं। बच्चालाई अरूसँग तुलना गर्ने बानी छ। आफ्नो मुडअनुसार उस्तै काम गर्दा पनि कहिले पुल्पुल्याउँछौं, कहिले गाली गर्छौं। चाहिने/नचाहिने माग पूरा गरिदिन्छौं। त्यसको आवश्यकता र आफ्नो क्षमता छ कि छैन, हेर्दैनौं। अभिभावकसँग मेरो अनुरोध छ, नचाहिने कुरामा छुट नदिऊँ। उनीहरूलाई करिअर कन्सस गराउन भूमिका खेलौं, तर दबाब नदिऊँ। उनीहरूलाई असल काममा लाग्न ‘मोटिभेट' गरौं। प्रशस्त समय दिऊँ, देशका ठुल्ठूला योजना बनाउन व्यस्त रहेकाले सन्तानको भविष्य निर्माण गर्ने समय दिन नसक्दा उनीहरू बिग्रिएका धेरै उदाहरण छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar