सुर्खेत- समुद्री सतहदेखि करिब १६ हजार फिट उचाइमा टाङटुङे लेकको फेद। पूर्व र पश्चिम भिरालो पाखो। बीचमा सानो खोला। यार्सागुम्बा खोज्न गएका डोल्पा शर्मी गाविसका बासिन्दा त्यही खोलामा पाल टाँगेर सुतेका थिए। मध्यरात माथिबाट हिउँपहिरो खस्यो। यार्सा बेचेर जीवन उज्यालो बनाउने सपना बुनिरहेका १६ जनाको देह खोलामै समाप्त भयो।
यो २०६४ जेठ १५ गतेको घटना हो। त्यसअघि र पछि यार्सा संकलन गर्न जानेहरू यसरी नै मृत्युको मुखमा परेका छन्। ‘पैसाका कारण यार्सा जति आकर्षक छ, त्यसलाई पाउन उत्तिकै जोखिम पनि छ,’ डोल्पा करमगाडका रत्नबहादुर रोकाय भन्छन्, ‘मृत्युलाई जित्ने हिम्मत लिएर यार्सा टिप्न घरबाट हिँड्नुपर्छ।’
यही सातामात्र मुगुको हिमाली क्षेत्रमा यार्सा टिप्न गएका तीनजनाको ज्यान गयो। जुम्लाका मीनबहादुर तिरुवा, मानबहादुर बानियाँ र मानबहादुर बोहोरालाई उनीहरूसँग रहेको जीवनबुटी (यार्सागुम्बा) ले बचाउन सकेन। यार्सा टिपेर घर फर्किंदै गरेका उनीहरूको मुगु थापाखोलानजिकै लेक लागेर मृत्यु भयो। मुगुका प्रहरी प्रमुख पुष्कर केसीले अत्यधिक चिसोले यार्सा संकलन गर्न गएकाहरू निकै जोखिममा रहेको बताए।
यार्सा संकलन गर्न जानेहरू सबैभन्दा बढी लेक लाग्ने समस्याले मृत्युको मुखमा पर्छन्। हिमपहिरोमा पुरिएर, चिसोले कठ्यांग्रिएर र भीरबाट खसेर पनि मृत्यु हुने गरेको छ। ध्यान यार्सामा एकाग्र हुँदा उनीहरू आफ्नो ज्यानलाई समेत पर्वाह गर्दैनन्।
पढाइ छाडेर यार्सा टिप्न गएकी दार्चुला गुल्जरकी १७ वर्षीया कलावती ठगुन्नाको यही साता भीरबाट खसेर मृत्यु भयो। घटनास्थलमा रहेका स्थानीय विष्णुसिंह विष्टले दिएको जानकारीअनुसार उनी भीरबाट करिब सात सय मिटर तल खसेकी थिइन्। ‘आफूलाई सम्हाल्न नसक्दा यस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘पैसाको पछि लाग्दा मान्छेले आफ्नो ज्यान कतिबेला जाने हो थाहै पाउँदैनन्।’
आपसमा हुने हिंसात्मक घटना र द्वन्द्वले पनि उनीहरू सुरक्षाको उच्च जोखिममा रहेका हुन्छन्। २०६६ जेठ २७ गते यार्सागुम्बा टिप्न मनाङ गएका गोरखा करौचा गाविसका सातजनाको नार भन्ने ठाउँमा हत्या भयो। यार्सा टिप्ने विषयमा विवाद भएपछि नारबासीले उनीहरूलाई कुटेर हत्या गरेका थिए। यार्सा–सिजनमा देशका विभिन्न हिमाली क्षेत्रमा यस्ता घटना हुने गरेका छन्। विशेषगरी गृहजिल्लाका बासिन्दा र बाहिरबाट यार्सा संकलन गर्न जानेहरूबीच यस्तो भिडन्त हुने गर्छ। एक वर्षअघि डोल्पा मजकोटका बासिन्दाले आफ्नो क्षेत्रमा प्रवेश गरी यार्सा टिपेको भन्दै रुकुमका मान्छेलाई आक्रमण गर्दा २० जना घाइते भए।
यार्सा नेपालका उत्तरी २० जिल्लामा पाइने बताइए पनि विशेषगरी डोल्पा, बझाङ, जुम्ला, बाजुरा, रुकुम, मुगु, धादिङ, मनाङ, दार्चुला, गोरखामा अधिक मात्रामा संकलन गरिन्छ। समुद्री सतहबाट ३ हजार ८ सयदेखि ५ हजार मिटरसम्मको पाटनमा यार्सा पाइन्छ। सिजनमा यार्सा टिप्न बाहिरी जिल्लाबाट पनि उत्तिकै मात्रामा जाने गर्छन्। यार्सालाई आफ्नो सम्पत्ति ठान्ने स्थानीयले बाहिरबाट गएकालाई रोक लगाउने, आक्रमण गर्ने हुनाले सुरक्षा खतरा झन् बढ्छ। आत्मसुरक्षाका लागि यार्सा संकलकहरूले समूह बनाएका हुन्छन्। यार्सा व्यापारले सामाजिक द्वन्द्व र अपराधलाई समेत सँगसँगै हुर्काउँदै लगेको छ। यसलाई बेलैमा व्यवस्थापन गर्न नसक्ने हो भने यार्सा सामाजिक द्वन्द्वको एक कारकका रूपमा विस्तार हुँदै जाने सरोकारवाला बताउँछन्।
आठ दिनअघि डोल्पाको माझपाल पाटनमा यार्सा संकलन गर्न जाँदै गर्दा रुकुमका दुई युवा कटुवा पेस्तोलसहित पक्राउ परे। जिल्ला प्रहरी कार्यालय डोल्पाका सई जीवराज थापाका अनुसार रुकुम जाङका १८ वर्षीय दीपेन्द्र थापामगर र रन्मैमाकोटका २० वर्षीय छाया परियारको साथबाट पेस्तोल बरामद गरिएको थियो। ‘उनीहरूले आत्मसुरक्षाका लागि पेस्तोल बोकेको बताए पनि यो आपराधिक काम हो,’ सई थापाले भने, ‘यार्सा संकलन क्रममा यस्तो कडाइ नगर्ने हो भने अपराध झन् बढ्छ।’
आपराधिक घटना यति हुने गरेका छन् कि व्यवसायीले सुरक्षाका लागि हेलिकप्टर चार्टर गरेरै संकलित यार्सा ठाउँसम्म पुर्यानउनुपर्ने बाध्यता आइलाग्ने गरेको छ। गत असोजमा दार्चुलाका व्यापारी धनसिंह जाग्री र करवीर बोहोराले साढे २० करोड मूल्यको यार्सा हेलिकप्टरबाट ढुवानी गरेका थिए। सडकमार्गबाट ओसार्दा लुटपाट हुने डरले महँगोमा हेलिकप्टर चार्टर गर्नुपरेको उनीहरूको भनाइ छ। दुई वर्षअघि म्याग्दीका व्यापारी दलमान पुनले साढे चार किलो यार्सा ओसार्न माउन्टेन एयरको हेलिकप्टर भाडामा लिएका थिए। उनले हेलिकप्टर भाडामा लिनुको कारण पनि असुरक्षा नै हो।
सुरक्षा र व्यवस्थापन नीति छैन
सरकारले यार्सा व्यापारसँगै अपराध र नागरिक असुरक्षा हुकर्िंदै गएको थाहा नपाएको होइन। तर, प्रभावकारी पहल नथालिँदा नियन्त्रण हुन सकेको छैन। वैशाख अन्तिम साता बझाङ जिल्ला प्रशासन कार्यालयले यार्सागुम्बा टिप्न जानेको सुरक्षाका लागि ७० जनाको प्रहरी टोली लेकतिर पठायो।
बझाङका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विगतमा लुटपाट, हत्या, कुटपिटलगायत आपराधिक घटना भएपछि पहिलोपटक मजबुत सुरक्षाटोली पठाउनुपरेको बताए। अपराध नियन्त्रण र समस्यामा परेकालाई उद्धार गर्न टोली पठाइएको उनको भनाइ छ। ‘निर्धक्कसाथ यार्सा संकलन गर्न र ठाउँसम्म पुर्यााउन सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘त्यही भएर हामीले समयमै प्रहरी टोली खटाएका छौं।’ प्रहरी टोली उराई भन्ज्याङमा गएर बसेको उनले जानकारी दिए।
स्थानीय स्तरमा बझाङ जिल्ला प्रशासनले सुरक्षा सतर्कता अपनाए पनि समग्र क्षेत्रमा हुने यार्सा व्यवसायका लागि भने सरकार मौन देखिन्छ। सुरक्षाका लागि मात्र होइन, यार्सा व्यवसायबाट राज्यलाई प्राप्त हुन सक्ने अर्थतन्त्रका लागि पनि विशेष नीति बनाउन आवश्यक भएको सरोकारवाला बताउँछन्।
चैत अन्तिम साता वनस्पति विभाग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले आयोजना गरेको कार्यशालामा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले यार्सागुम्बाको संरक्षण, उत्पादन र व्यवस्थापनका लागि विशेष नीति बनाउने बताए। वनसचिव गणेशराज जोशीले यसको बजार मूल्यमा जोड दिए। यार्साका लागि ज्यान जोखिममा पारिरहेका विपन्न समुदायका लागि भने उनीहरूको ध्यान पुगेन। ‘राज्यको आम्दानी बढाउन नीति निर्माण जरुरी छ,’ इसिमोडका एक कर्मचारी भन्छन्, ‘संकलनमा जानेको सुरक्षामा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ।’ सरकार र सरोकारवाला निकायले यार्सा संकलनका लागि पाटन जानेको स्वास्थ्य सुरक्षा, भौतिक पूर्वाधारको व्यवस्था, उद्धार प्रबन्ध गर्नुपर्ने उनले बताए।
नेपाल प्रहरीका प्रवक्ता गणेश केसी यार्सासँग सम्बन्धित सुरक्षा व्यस्थापनका लागि केन्द्रीय नीति नभए पनि स्थानीय प्रहरी इकाइले यथेष्ट ध्यान दिएको दाबी गर्छन्। उनका अनुसार यो वर्ष डोल्पामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको छुट्टै बेस क्याम्प राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ। ‘यसबारे केन्द्रमा खासै योजना बन्ने गरेको छैन,’ उनले भने, ‘सम्बन्धित जिल्लाले नै नागरिक सुरक्षाको बन्दोबस्त गर्छन्।’
पहिचान नभएको अर्थतन्त्रको हिस्सा
यार्सा व्यवसायमा लागेकाहरूको विचारमा यार्सा व्यवसाय सरकारले पहिचान गर्न नसकेको नेपाली अर्थतन्त्रको ठूलो हिस्सा हो। यसलाई विशेष नीति बनाएर व्यवस्थापन गर्न सक्ने हो भने यार्साले नेपाली अर्थतन्त्रलाई ठूलो टेवा पुर्याशउन सक्छ। यो वर्षको वैशाख मध्यसम्म मात्र डोल्पामा यार्सा संकलनका लागि गएकाहरूबाट प्रवेश शुल्कबापत २५ करोड रुपैयाँ संकलन भयो। त्रिपुराकोट मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अनुसार जाजरकोट, रुकुम, कालिकोट, दैलेख, बाँके, जुम्लालगायत जिल्लाबाट करिब १ लाख मानिस पाटनतिर गएका छन्। डोल्पाका विभिन्न ४० ठाउँमा यार्सा पाइन्छ।
नीति अभावमा स्थानीय स्तरमा आ–आफ्नै तरिकाले शुल्क निर्धारण गरिएको छ। प्रवेश शुल्क जिल्लाबासीलाई प्रतिव्यक्ति २ हजार, बाहिरकालाई ३ हजार र भोट क्षेत्रकालाई १० हजार तोकिएको छ। ‘अहिले यार्साबाट राज्यले खासै लाभ लिन सकेको छैन,’ व्यवस्थापन समितिका एक कर्मचारी भन्छन्, 'राज्यले नै राष्ट्रिय नीति बनाएर शुल्क निर्धारण गरी राजस्व संकलन गर्ने हो भने यसले अर्थतन्त्रमा ठूलो टेवा पुर्यााउन सक्छ।’
यार्सागुम्बा अधिक पाइने मनाङमा यसको अवैध कारोबार हुँदा राज्यका निकायले आर्थिक लाभ लिन सकेका छैनन्। त्यहाँ वार्षिक करिब ४ सय केजी यार्सा संकलन हुने गरेको छ। गत वर्ष १ सय ८० केजी वैध रूपमा निकासी भएको जिल्ला विकास समितिको तथ्यांकमा उल्लेख छ। तर, त्यसको दोब्बर परिमाणमा अवैध निकासी भएको स्थानीय बताउँछन्।
अवैध कारोबार
संकलनस्थलबाट मात्र होइन, बजारमा पुगेको यार्सासमेत अवैध रूपमा निकासी हुने गरेको छ। २०६९ भदौमा तातोपानी जाँदै गरेको १७ केजी यार्सासहित सीमा सुरक्षा प्रहरी कार्यालयले एकजनालाई पक्राउ गर्यो । जिल्ला वन कार्यालयको पुर्जीबिना निकासी गर्न लागेको भन्दै प्रहरीले तातोपानीका तेन्जिङ शेर्पाबाट यार्सा बरामद गरेको थियो। प्रहरीले दिएको जानकारीअनुसार एक केजीको १० हजार लिने गरी शेर्पाले क्यारियरको जिम्मा लिएका थिए।
२०७० साउनमा रुकुमको खलंगाबाट काठमाडौं लैजाँदै गर्दा स्थानीय लजिम रोका र फत्तेबहादुर मल्ल चार केजी यार्सासहित पक्राउ परे। उनीहरूले अवैध रूपमा यार्सा निकासी गर्न लागेका थिए। सरकारी नियमअनुसार यार्सा निकासीका लागि जिल्ला वन कार्यालयलाई प्रतिकेजी १० हजार र जिविसलाई २ हजार शुल्क तिर्नुपर्छ।
भारतीय बजारबाट समेत नेपालमा यार्साको अवैध कारोबार हुने गरेको छ। २०७० भदौमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याइएको ४ केजी ५ सय ५० ग्राम यार्सासहित धनौरी दाङका कुलमान बुढा, जुम्लाका हरिदत्त न्यौपानेलाई बाँके पिप्रहवाटबाट पक्राउ गर्योभ। उनीहरूले नेपाल हुँदै चीनतिर निकासी गर्न लागेको बताएका थिए। ‘अवैध कारोबार हुनुका पछाडि पनि राज्यको बेवास्ता प्रमुख कारण हो,’ रत्नबहादुर भन्छन्, ‘यसलाई निश्चित नीति बनाएर कारोबार व्यवस्थित गर्ने हो भने राजस्वमा पनि ठूलो टेवा पुग्छ।’
विदेशमा ‘सुन’झैं महँगो
नेपालीले ज्यान हत्केलामा राखेर संकलन गरेको यार्सा विदेशी बजारमा पुगेपछि सुनझैं महँगो भएर बेचबिखन हुन्छ। हाल चीनमा यसको बजारमूल्य प्रतिकेजी करिब ६० लाख नेपाली रूपैयाँ छ। नेपालमा भने व्यापारीले स्थानीयबाट निकै सस्तोमा खरिद गर्छन्। गत वर्ष रुकुम, डोल्पा, मुगुलगायत जिल्लामा प्रतिकेजी अधिकतम २८ लाख रुपैयाँमा बिक्री भएको थियो।
सुर्खेत जिल्ला वन कार्यालयका अधिकृत शम्भुप्रसाद चौरसिया सरकारले यार्साको बजार व्यवस्थापनमा पहल गर्नुपर्ने बताउँछन्। बजार व्यवस्थापन भए लेकमा ज्यान जोखिममा पारेर संकलन गर्ने स्थानीयले पनि श्रमको मूल्य पाउने उनको भनाइ छ। ‘यो हिमाली जडिबुटी नेपालका सर्वसाधारणबाट सस्तोमा खरिद गरेर विदेशमा महँगोमा बिक्री हुन्छ,’ उनी भन्छन्, ‘यसको सही मूल्य नेपालीले पाउनेगरी बजार व्यवस्थापनको काम गर्नुपर्छ।’
यार्सा–जोखिम
• लेक लाग्नु
• चिसोले कठ्यांग्रिनु
• भीरबाट खस्नु
• हिमपहिरोमा पर्नु
यार्सा–अपराध
• डकैती र आक्रमण
• भिडन्त
• अवैध निकासी
• दुरुपयोग