Headlines News :
fb
Home » , » काम नै बेश : गाउँमै ‘विदेश’

काम नै बेश : गाउँमै ‘विदेश’

महोत्तरी र कैलाली । असार १ – राजनीतिमा लाग्ने धेरैजना खेतीपाती र अरु कामधन्दा गर्न भ्याउँदैनन् या मन पराउँदैनन् ।
तर पछिल्ला वर्षहरुमा राजनीतिसँगै खेतीपातीमा रम्नेहरुको संख्या पनि बढ्न थालेको छ । अनि साथीभाइ विदेश गएपनि गाउँमै केही गर्न सकिन्छ भनेर व्यवसाय गर्नेहरु पनि गाउँठाउँमा धेरै छन् । जसका कारण गाउँमै विदेशको भन्दा राम्रो आम्दानी हुने गरेको छ ।
महोत्तरी गौरीवास २ की पवित्रा देवकोटालाई स्थानीय बासिन्दाले महिला नेतृको रुपमा चिन्छन् । एकीकृत माओवादीको भगिनी संगठन अनेमसंघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष देवकोटाको परिचय भने त्यतिमा मात्र सीमित छैन । उहाँ एक जना सफल किसान पनि हुनुहुन्छ ।
विगत १३ वर्षदेखि व्यवसायिक रुपमा ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएकी देवकोटाले यो पेशाबाट आर्थिक रुपमा निकै प्रगति गरिसक्नुभएको छ । यतिबेला उहाँको खोरमा हुर्कंदै गरेका ६ सय कुखुरा छन् । गोठमा दैनिक १५ लिटर भन्दा धेरै दूध दिने जर्सी गाई छ भने खोरमा एक दर्जन जति खसी बाख्रा पनि छन् ।
एक वर्षअघि पतिको निधन भएपछि दुई छोरी र एक छोराको लालनपालन र शिक्षा दिक्षाको दायित्व पनि एकलौटी थपिएको छ उहाँमाथि । हाम्रो समाजमा पतिको निधनपछि महिलाहरुलाई गरी खान निकै गाह्रो हुन्छ । मुख्यतया घर व्यवहारको आर्थिक दायित्व पतिले निर्वाह गर्ने हुँदा पतिको निधनपछि त्यो दायित्व पनि पत्नीकै काँधमा आइपर्छ । यस्तो बेलामा आयश्रोत नभएका महिलालाई घर व्यबहार चलाउन निकै समस्या हुने गर्छ ।
तर आफ्नै घरमा आफैंले सुरु गरेको पेशाबाट राम्रो कमाई हुने भएकाले पवित्रा देवकोटाले आर्थिक रुपमा अहिले कुनै समस्या खेप्नु परेको छैन । ‘कुखुरा, गाई र खसीबाख्राबाट महिनामा ३०÷४० हजार रुपैयाँ कमाउन मलाई कुनै समस्या छैन । छोराछोरीलाई राम्रै स्कूलमा पढाएको छु, घर व्यवहार पनि राम्रैसँग चलेको छ’, देवकोटाले भन्नुभयो ।
देवकोटाको परिवारमा पहिले खान लाउनको दुःख थियो । पति पत्नी दुवैजना राजनीति गर्ने । आम्दानी थिएन । अर्थ अभावले घर व्यबहार चलाउनै धौ धौ भएपछि पवित्राले ऋणधन गरेर गाउँमै किराना पसल सुरु गर्नुभयो । तर पसलबाट पनि आम्दानी भएन । त्यसपछि उहाँले किराना पसल छोडेर बर्दिवासमा होटल गर्न थाल्नुभयो । होटलबाट पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँहरु नयाँ कामको खोजीमा काठमाडौंतर्फ लाग्नुभयो ।
काठमाडौंमा पति चक्र गौतमको सहयोगमा देवकोटाले झण्डै एकवर्ष तरकारी बेच्ने काम गर्नुभयो । यो पेशामा पनि चित्त नबुझेपछि पवित्रा फेरि गाउँ नै फर्कनुभयो, व्यवसायिक रुपमा कुखुरा पालन गर्ने उद्देश्य लिएर । त्यसयता उहाँले कहिल्यै ‘बेरोजगार भइयो, आम्दानी छैन, कसरी घर व्यवहार चलाउने होला’ भन्नु परेको छैन ।
१३ वर्षअघि देवकोटाले कुखुरा पालन सुरु गर्दा महोत्तरीमै यो पेशा गर्ने कोही थिएनन् । देवकोटाकै सिको गरेर महोत्तरीको गौरीवास, वर्दिवास, माइस्थान लगायतका ठाउँमा यतिबेला हजारौं किसान यो पेशामा आबद्ध छन् । शुरुमा कुखुरा पालन गर्न देवकोटाले हेटौंडाबाट दाना र चल्ला ल्याउनु परेको थियो । तर अचेल व्यापारीहरुले घर घरमै भने जस्ता चल्ला र दाना ल्याइदिन्छन् । उत्पादित कुखुरा बिक्रीको पनि कुनै चिन्ता छैन ।
उनै व्यापारीले चलेको भाउमा खोरमै पुगेर कुखुरा किन्छन् । हाल एकहजार कुखुरा अट्ने दुईवटा खोरमा कुखुरा पालन गर्दै आउनुभएकी देवकोटाले निकट भविष्यमा अण्डा उत्पादन गर्ने उद्देश्यले थप पाँचसय कुखुरा पाल्ने सोच समेत बनाउनु भएको छ ।
कुखुरा, खसीबाख्रा र गाई पालन व्यवसायबाट भएको आम्दानीले देवकोटाले यसबीचमा खयरमारामा ए बिघा धान खेत किन्नु भएको छ भने महोत्तरीकै विभिन्न ठाउँमा ५–७ कठ्ठा घडेरी पनि जोड्नु भएको छ । कुखुराकै आम्दानीले तीनजना छोरा छोरीलाई पढाउनुभएको छ ।
पवित्राले कुखुरा पालेर राम्रो आम्दानी गरेको देखेर वरपरका धेरै महिलाले यो पेशा गरेका छन् । रोग लाग्दा र राम्रो भाउ नपाउँदा कहिलेकाहीँ कुखुरा पालन व्यवसायमा घाटा पनि लाग्छ ।
त्यस्तै घाटाको पीडामा पवित्राका छिमेकी कतिपयले यो पेशा छोडेका पनि छन् । तर पवित्राले भने कहिल्यै पेशा छोड्ने अथवा पेशा परिवर्तन गर्नेबारे सोच्नु परेको छैन । ‘परिस्थिति अनुकूल नहुँदा कहिलेकाहीँ यो व्यवसायमा घाटा पनि लाग्न सक्छ । तर घाटा लाग्ने बित्तिकै हरेश खाएर यो पेशा नै छाड्यो भने त डुबिन्छ, निरन्तर लागि प¥यो भने घाटा पनि पुर्ति हुन्छ,’ देवकोटा भन्नुहुन्छ ।
एउटा महिला संगठनको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर पनि देवकोटाले राजनीति र व्यवसायलाई सँगसँगै लिएर जान सक्नुलाई उहाँमा भएको कार्यकुशलता मान्छन् छिमेकीहरु । कुनै महिलामाथि हिंसा हुँदा, कुनै महिलालाई अप्ठ्यारो पर्दा उनीहरुलाई न्याय दिलाउने अभियानको नेतृत्व गर्ने पवित्राले महोत्तरीमा कुखुरा पालन व्यवसायको पनि नेतृत्व गरिरहनुभएको छ । उहाँको सिको गरेर यहाँका धेरै महिला कुखुरा पालन व्यवसायमा लागेर स्वरोजगार भएका छन् ।
राजनीति गर्नेहरु आर्थिक रुपमा परनिर्भर बन्नु नहुने उहाँ बताउनुहुन्छ । ‘राजनीति गर्ने भनेको कमाउन होइन । तर राजनीतिलाई कमाई गर्ने माध्यम बनाउँदा मुलुकमा भ«ष्टाचार मौलाएको’ उहाँको तर्क छ ।
राजनीति गर्नेहरु आर्थिक रुपमा परनिर्भर नबन्ने हो भने आफूलाई अनुकूलको कुनै उत्पादनको काममा जोडिनु पर्ने उहाँको सुझाव छ । ‘राजनीतिमा लागेका नेता कार्यकर्ता उत्पादनको काममा जोडिएर आफ्नो र घर परिवारको आवश्यकता पूरा गर्ने हो भने मुलुक धनी हुने थियो, र भ्रष्टाचार पनि घट्ने  थियो,’ देवकोटाले भन्नुभयो ।
गाई पालनबाट मासिक ४० हजार


कैलाली धनगढी नगरपालिका ७ पटेलाका धनबहादुर चौधरीका दौंतरी सबै कामको खोजीमा विदेश पुगेका छन् । तर उहाँलाई गाउँमै केही गर्ने मन लाग्यो र सुरु गर्नुभयो गाईपालन व्यवसाय । गाई पाल्न थालेपछि उहाँले साथीहरुले विदेशमा गरेको कमाई बराबर घरमै बसेर कमाई रहनुभएको छ ।
उहाँसँग अहिले जर्सीको साँढे सहित १७ वटा गाई र वाच्छी छन । गाईको दुध, गोबर र गौमुत्र बिक्रिी गरेर मासिक ५० हजार रुपैंया कमाई हुने उहाँले बताउनुभयो । धनबहादुर पेशाले पशु प्राविधिक पनि हुनुहुन्छ । उहाँले उच्च शिक्षा पढिसकेपछि सरकारी नोकरीका लागि प्रयास नै गर्नुभएन । ‘मलाई राम्रो गाई फार्म खोल्ने र नयाँ काम गरेर पहिचान बनाउने रहर थियो, त्यसमा म सफल भएँ’ उहाँले भन्नुभयो, ‘साथीहरुले विदेश जाँउ समेत भने, तर कहिल्यै पनि विदेश जाने ईच्छा नै जागेन ।’
ताल–तलैयामा गएर माछा मार्ने र मजदुरी गरेर खाने थारु समुदायमा गाईभंैसी जपाल्ने काम कमै गरिन्छ । ‘मैले पशुपालन व्यवसाय सुरु गर्छु भन्दा पनि थारु समुदायका मानिसहरु हाँस्ने गर्थे’ उहाँले भन्नुभयो ।
पटेलामा रहेको झण्डै डेढ बिघा जग्गामा घाँस लगाएर बनाएको गाई फार्ममा उहाँसँग ५ दुध दिने, ६ ब्याउने, ५ बाच्छी र एक जर्सी साँढे गरी १७ गाई र साँढे छन । उहाँले एकजना भारतीय नागरिकले बेहडाबाबा मन्दिरमा चढाएको जर्सी साँढे आफ्नो गाई फार्ममा ल्याएर पाल्नु भएको हो । कैलालीको उर्मा गाविसमा पर्ने बेहडाबाबा मन्दिर, भारतको उत्तर प्रदेश र विहारमा रहेका भारतीयहरुले कुलदेवता मान्ने गर्छन ।
‘कसैको भाकल होला र मन्दिरमा चढायो होला, गाई फार्म नजिकै रहेको मन्दिरमा जर्सी साँढे देखें, अनि यो त जर्सीको साँढे हो भनेर मन्दिरसँग समन्वय गरेर फार्ममा ल्याई पालेको छु’ उहाँले भन्नुभयो ‘जर्सीको साँढे किन्न, खोजेपनि त्यती सहजै पार्इंदैन ।’
५ वटा दुधालु गाईबाट दैनिक झण्डै ५० लिटर दुध बेच्ने गरेको उहाँले बताउनुभयो । ‘दुध मात्रै होईन, गाईको गोबर जैविक मल बनाएर बेच्छु, झन् गाईको मुत्र त जैविक विषादी हुन्छ’ उहाँले भन्नुभयो, ‘हामी तरकारीबारी र खेतमा रासायनीक विषादी हाल्छौं । तर गौमुत्र भनेको जैविक विषादी हो, हामीहरुले परीक्षण गरी बिक्री गरिरहेका छौं । दुध जस्तै यसबाट पनि राम्रो आम्दानी भएको छ’ फार्मभित्रै ठुलो ट्यांकीमा संकलन गरेको गौमुत्र देखाउँदै धनबहादुरले भन्नुभयो ।
‘मेरो साथीहरु अहिले दुबई, मलेसियामा छन, तर मैले यहीँ ६ जनालाई रोजगार दिएर व्यवसाय संचालन गरिरहेको छु । प्राविधिक भएकाले अरुको गाई फार्ममा समस्या भए सहयोग गर्ने गरेको छु, त्यहाँबाट पनि केही आम्दानी भईहाल्छ’ उहाँले भन्नुभयो, ‘धनगढीको क्याम्पस रोडमा एग्रोभेट पनि राखेको छु ।’
धनबहादुरसँग गाईका चर्चित जातहरु होलीस्टन, साईवाल र जर्सी छन । तराई र स्थानीय किसानका लागि यी जातहरु त्यति उपयुक्त नभएको उहाँले बताउनुभयो । अहिले उहाँले जर्सी साँढे र स्थानीय जातको गाई क्रस गराएर नयाँ जात उत्पादन गरेर पनि विक्री गरिहनुभएको छ । ‘माथिका तीन जात एकदमै कमजोर हुन्छन, एकदमै स्याहार चाहिन्छ, छिटो छिटो रोग लाग्छ, गाई रोग लागेर बस्यो भने उठ्दैन, त्यो बोईलर कुखुरा जस्तै हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँले त्यो जोखिम कम गर्न पनि जर्सी साँढे र स्थानीय गाई क्रस गराई नयाँ जातको जर्सी उत्पादन गरिरहेको बताउनुभयो । ‘यो नयाँ उत्पादन गरेको जातको गाईलाई जस्तो घाँस र दाना दिएपनि बिरामी हुँदैन, दुध पनि ८ देखि १० लिटरसम्म दिन्छ’ उहाँले भन्नुभयो । ‘एक दुई गाई पाल्न चाहने किसानले यस्तो गाई किन्न मन पराउँछन, किनकी यसमा जोखिम हँुदैन र सामान्य गाई भन्दा तेब्बर दुध दिन्छ ।’
धनबहादुरले आफ्नो फार्मलाई अध्ययन केन्द्रका रुपमा विकसित गराउने लक्ष रहेको बताउनुभयो । ‘हाम्रो देशमा चितवनमा मात्रै जर्सी गाई किन्न पाईन्छ, होइन भने भारतका विभिन्न सहरहरुमा जानुपर्ने, त्यहाँ पनि जातमा ठगी हुने सम्भावना हुन्छ, त्यसैले नेपाली हावापानी र वातावरण सुहाउँदो स्थानीय र जर्सी क्रस गाई लोकप्रिय हँुदै गरेको छ’ उहाँले भन्नुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar