जनकपुरधाम: जनचेतनाको अभाव तथा असुरक्षित यौन सम्पर्कको कारण भारतबाट गाजर मूला झै एचआइभी सङ्क्रमित भित्रिने गरेका छन् । स्पर्स नेपालद्वारा सेभ द चिल्ड्रेन तथा ग्लोबल फन्डको सहयोगमा आज जनकपुरमा आयोजित क्षति न्यूनीकरण कार्यक्रममा सहभागी वक्ताले भारतमा काम गर्ने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको बताए ।उनीहरुले खासगरी भारतको मुम्बई, दिल्ली, पन्जाब, लुघियानालगायतका ठाउँबाट काम गरी फर्किने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको पाइएको चर्चा गरे । त्यसैगरी, वैदेशिक रोजगारको क्रममा खाडी मुलुक, अरब, कतार र मलेसिया जाने युवा घर फर्किंदा कोसेलीको रुपमा एचआइभी/एड्स रोग लिएर फर्किने गरेको पाइएको छ ।
सो कार्यक्रममा उपलब्ध गराइएको तथ्याङ्कअनुसार १८४ जना सम्पर्कमा आएको एचआइभी सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क २०६९ वैशाखदेखि २०७१ जेठसम्मको हो । सो संस्थाको सम्पर्कमा अहिले ३० जना एचआइभी सङ्क्रमित रहेका छन् ।
पछिल्लो दुई महिनाको अभिलेख हेर्दा धनुषामा ३८२ पुरुष र ३६८ महिला एचआइभी सङ्क्रमित छन् । त्यसमा सात जना समलिङ्गी पनि छन् । धनुषामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ५०३ रहेको छ भने १९ जनाको रगत परीक्षण गर्दा पाँच जनामा हेपाइटाइटिस–बी फेला परेको छ ।
जनकपुरमा लागु औषध सेवनकर्ताको लागि सुधारगृह नभएको र बाहिरबाट उपचार गराउन आउने एचआइभी सङ्क्रमित रोगीको बस्ने व्यवस्था नभएको जानकारी गराउँदै संस्थाले त्यसका लागि पहल गरिरहेको बताएको छ । सो कार्यक्रमअन्तर्गत संस्थाले एचआइभी सङ्क्रमित रोगीका १५ जना बालबालिकालाई जनही मासिक रु एक हजारका दरले छात्रवृत्ति दिने गरेको छ । -रासस
