काठमाडौ, वैशाख २८ - चीनको कुनमिङ विमानस्थलबाट उडेको चाइना इष्टर्नको बोइङ ७३७ काठमाडौंमा ३३५ मा अवतरण गर्नु पर्नेमा पौने पाँचमा कलकत्ता विमानस्थलमा उत्रियो । टोकियोबाट सांघाई हुँदै ३० अप्रिल २०१४ मा कुनमिङ पुगेको थिएँ । यो दोस्रो यात्रा थियो यो मार्ग हुँदै ।
अहिले पूर्वी चीन र जापान बस्नेहरुमात्रै नभएर युरोप र अमेरिकाका नेपाली, बंगलादेशी, भारतीय र पाकिस्तानीहरु समेत कुनमिङ हुँदै आआफ्ना गन्तव्यमा जाने क्रम बढिरहेको देखिन्छ । चीनले यो नयाँ विकास गरेको ठाउँ भएर हो कि युनान प्रान्तको कुनमिङ विमानस्थल प्रयोग गर्नेहरुलाई भाडा दर निकै सस्तो छ ।
नेपालका लागि जापानबाट कम्तिमा ९० हजार नेपाली रुपैयाँ लाग्छ तर कुनमिन हुँदै जाने हो भने ठ्याक्कै आधा सम्ममा पनि पाउन सकिन्छ दुईतर्फी नै । नेपाली पर्यटन क्षेत्रका लागि त यो रुट बरदान नै भएको छ । सस्तो भएका कारण पनि होला चिनियाँ पर्यटकले यो रुट प्रसस्त प्रयोग गर्ने गरेको पाइन्छ ।
कुमिनको रमाइलो पाटो पनि छ । त्यहाँ नेपालबाट उड्दा रातिको ९ बजेतिर पुगिन्छ र जापान लगायत अरु मुलुकहरुका लागि पनि विहानको उडान हुन्छ । यो रुट प्रयोग गर्ने विदेशीलाई २४ घण्टे चीनको भिसा विमानस्थलमै उत्तिखेरै बिना झन्झट उपलब्ध गराइन्छ । नेपाली पनि अपवादमा परेका छैनन् । यसैमा पनि खुसी हुनुपर्ने अवस्था छ । सिंगापुर र फिलिपिन्स बाहेक अरु मुलुकले नेपालीलाई अनअराइबल भिसा दिने गरेका छैनन् ।
अनि कुनमिङमा बाहिर निस्कना साथै बंगलादेशी मित्रहरु समाउन आइपुग्छन् । उनीहरुले त्यहाँ विमानस्थलबाट चार पाँच किलोमिटरको दुरीमा घर भाडामा लिएर लज चलाइरहेका छन् । एकजनाको लाने-ल्याउने, बस्ने र खाने समेत गरेर एक सय आरएमबी अर्थात करिब नेपाली दुई हजार लिने गर्छन् । खाना त नेपालीका लागि मिल्ने नै भैगयो । सरसफाइ भने त्यस्तै हो । पैसा अनुसारको सेवा । हाम्रै नेपालमा हुने हो भने गाडी भाडामै मात्र त्यति सकिन्छ ।
जापानबाट नेपाल जाँदा पनि त्यस्तै हो । करिब ३ घण्टाको उडानबाट सांघाई पुगिन्छ । अनि भिसा त्यहीं नै पाइन्छ २४ घण्टाका लागि । सांघाइबाट कुनमिनका लागि ३ घण्टा २५ मिनेटको उडान भर्नु पर्छ । अन्तिम उडान मध्यरातको १२:२५ मा कुनमिन पुग्छ । सांघाइबाट कुनमिनलाई आन्तरिक उडानमा पारिएको छ । त्यहाँको झन्झट भनेको सामान बुझ्नु पर्छ । तर क्वारेन्टाइन र भन्सार समेतको जाँचमा भने अल्झिनु पर्दैन । सरासर सामान बुझ्यो बाहिर निस्क्यो । बाहिर त बंगाली भाइहरुको तानातानले रमाइलो सुरु भैहाल्छ । त्यहाँबाट नेपालका लागि भोलि पल्ट दिउसो २:२५ को उडान भएकाले रातभर भन्दा पनि बिहान भर आरामले सुत्न पाइन्छ ।
कुमिनबाट काठमाडौं उडान समय पनि ३ घण्टा १० मिनेट मात्र हो । यो रुटको मात्रै नभएर चाइना भएर गरिने यात्रामा ख्याल गर्नु पर्ने एउटा महत्वपूर्ण कुरा के हो भने जहाज भित्र राखिने अर्थात हातमा बोकिने सामान बाहेकका सुटकेस वा झोलामा फोन, क्यामेरा लगायत मूल्यवान बस्तु छन् भने चोरिहुने सम्भावना बढी छ । चेन र चावी जस्ताको तस्तै सामान चट भएका र सामान बुझ्दा सुटकेस वा झोला खोलिएको अवस्थामा भेटिएका धेरै घटना सुन्नमा आएको छ ।
...
कुनमिङबाट उडेको जहाजले काठमाडौं विमानस्थलमा उत्रने तयारीको संकेत गरेर सिटको पेटी बाँध्न लगाए पछि घडीको सुइ नेपाली समय अनुसार घुमाएको आधा घण्टा सम्म पनि जहाजले आकाशमै फन्को मात्रै मारिरह्यो । यात्रुलाई कुनै जानकारी दिइएको थिएन । एक छिन पछि जहाजको आवाजमा थोरै परिवर्तन आयो र उचाइ लिन थाल्यो । त्यसको केही बेर पछि मात्रै एयर होस्टेज आएर कानमा फुसफुसाइन् जहाज त काठमाडौंको मौसमको खराबीले कलकत्ता जाँदै छ । यो जानकारी अरुले भन्दा पहिले पाउने सौभाग्य विजिनेस कक्षमा बसेका कारण मिलेको थियो । अरुलाई भने कलकत्तामा उत्रनु भन्दा केही समय अघिमात्रै जानकारी गराइयो ।
कलकत्तामा विमान अवतरण गरेपछि यात्रुहरुको छटपटि सुरु भयो । तर गर्न सकिने कुरा धैर्यको प्रदर्शन बाहेक केही थिएन । बाहिर निस्कन पाइने कुरै भएन । यस्तो अवस्थामा परिवारजनलाई खबर गर्नु पहिलो कर्तब्य हुने नै भयो । धन्य जापानको फोन बोकेका कारण कलकत्तामा रोकिएको जहाज भित्र पनि नेटवर्क टिप्यो र श्रीमतीलाई जापानमा फोन गरेर सकुशल भएको जानकारी गराएँ । यता जहाजमा भने तेलभर्ने र शौचालयहरु सफा गर्ने काम भैरहेको थियो । नेपाली समय अनुसार ७ बजे कलकत्तामा रोकिरहेको जहाज गुड्न थाल्यो ।
स्वभाविक रुपमा काठमाडौंको मौसमी प्रतिकुलता सकिएछ र अवको एक घण्टा पछि त पुगिने भो भनेर मन खुसी भयो । जहाज उडेको एक घण्टा बितिसक्दा पनि ओर्लने त कुनै सुरसारै छैन । यति बेलासम्म उडान कर्मचारीले कुनै औपचारिक जानकारी गराएका थिएनन् । त्यति नै खेर फेरि म भन्दा पल्लोपट्टी बसेका एक जना बिदेशीलाई एयर होस्टेलले केही भनिरहेको देखें । उनी एउटा महत्त्वपूर्ण बैठकमा भाग लिन नेपाल आउँदै गरेका इटलीका एकजना भूकम्पविद प्रोफेसर मोन्टी थिए । हामी बीच कुराकानी भइरहको थियो । अगाडिका आठ सिटमा हामी दुई जना मात्रै थियौं । पछाडि भने करिब १० जना नेपाली र केही जापानी बाहेक सबै चिनियाँ पर्यटकले जहाज भरिएको थियो । मलाई चाला ठिक छैन भन्ने लागिसकेको थियो । नभन्दै प्रोफेसर मोन्टीलाई जसरी नै मेरो कान छेउमा आएर एयर होस्टेजले भनिन् ‘सरि सर, वी आर गोइङ ब्याक टु क कुनमिङ’ । अर्थात हामी कुनमिङ नै फर्कदै छौं । काठमाडौंको मौसममा सुधार नभएकोले क्याप्टेनले कुनमिङ नै लैजाने निर्णय गरेछन् ।
...
नेपालमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल नहुनुको पीडा हो यो । यो पीडा भोग्ने नेपाली र नेपाललाई आफ्नो गन्तव्य बनाएर हिडेकाहरु धेरै छन् । दोस्रो विमानस्थल हुन्थ्यो भने त्यहाँ अवतरण गर्न सकिन्थ्यो । यात्रु र विमानलाई पुर्याउनु पर्ने रेखदेख पुग्न सक्थ्यो ।
काठमाडौंको आकाश छोइसकेको जहाज कलकत्तामा अवतरण गराएर फेरि जहाज कम्पनीकै मुलुक लानु पर्ने जरुरत हुने थिएन । तेस्रो मुलुकमा त्यत्तिकै जहाज अवतरण गराएको अवस्थामा राखिरहनुको कुनै तुक नै भएन । यात्रुलाई पनि सास्ति विमान कम्पनीलाई पनि न वार न पारको अवस्था । कलकत्ता विमानस्थलको भारतीय निकायले विमानलाई केही समय पर्ख र निर्णय गरको अवस्थामा बसिराख्न पनि सहयोगी भूमिका नखेलेको पाइयो । उसका लागि पनि यो अप्रत्यासित घटना थियो र त्यहाँबाट जहाज नउड्दा सम्म जिम्मेवारी लिनुपर्ने अवस्था । उता नेपालमा १२ बजे पछि अवतरणको अनुमति चालक दलले पाएनछ । अव यात्रुलाई जहाजमै राखिरहनुको सट्टा कुनमिङ नै लैजानु उपयुक्त हुने निष्कर्षमा क्याप्टेन पुगेछन् । कुनमिङ पुगे पछि आफ्नै देशको प्रशासन अनि कम्पनीका अन्य कर्मचारीहरुको समेत सहयोग पाइने भएकाले यात्रु व्यवस्थापन सहज हुने नै भयो । यसरी हामी दिउसोको ३ बजे कुनमिङबाट उडेर रातिको १:३० मा कुनमिङ नै पुग्यौं ।
...
समग्र चिन्ता एकातिर छँदै थियो मेरो चिन्ता भने अर्कोतिर पनि थियो । मैले नेपालमा जापानी रेष्टुरेन्ट चलाइरहेका एक जना जापानी मित्रको अनुरोधमा जापानको फ्रोजन सालमोन माछा ल्याइदिएको थिएँ । जहाजमा कुनमिङ फर्किरहदा त्यो माछाको अवस्था के हुने होला भन्ने चिन्ताले सतायो । तर उपाय केही थिए । केबल चिन्ता गर्नु मानव स्वाभाव र जिम्मेवारी बोधको एउटा पक्ष मात्रै थियो । सामान निकाल्न दियो भने बस्ने होटलमा अनुरोध गरेर फ्रिजमा राख्ने केही व्यवस्था मिलाउन प्रयाश गर्ने बारेमा सोचिरहेको थिएँ तर कुनमिङमा ओर्लिए पछि थाहा भयो हाम्रो काठमाडौंको लागि अर्को उडान भोलि बिहान ८:३० को लागि तय भइसकेको रहेछ । सामान निकाल्न मिल्दैन भन्ने जानकारी पाएँ । आफ्नै सामान पनि साथमा कम्प्युटर र मोवाइलहरुबाहेक केही थिएन । फेरफार कपडा र दाह्री फाल्ने सामानले जहाज छोड्नै पाइनँ । सबै यात्रुलाई पुन एकपटक चीनको अध्यागमनको प्रकृया पुरा गराएर विमानस्थलबाट आधा घण्टा टाढाको ताङ्युन होटेल लगियो र दुई दुई जनालाई एउटा कोठा उपलब्ध गराइयो । सबै प्रकृया पुरा गरेर कोठामा पुग्दा नै रातिको तीन बज्न लागिसकेको थियो । बिहान ६ बजे त होटलमा लिनका लागि बस आउने जानकारी गराइसकिएको थियो
...
होटलको कोठामा छिर्ना साथ कपडा फेर्न नपाए पनि दाह्री फाल्ने र नुहाउने काम सकेर सुत्ने विचार बन्यो । तर होटलको दाह्री काट्ने ब्लेड त ग्रह फाल्न राखिने भुत्ते हतियार जस्तो पो रहेछ । सुरु त गरिहाँले तर निखार्न सकिने लक्षणै देखिएन । गालामा ब्लेड चलाउँदा पीडा हुन थाल्यो । जसोतसो लेलिन कटमा काम टुंग्याए । मेरो कोठामा चीनमा चिकित्साशास्त्र अध्ययन गरिरहुनु भएका एकजना पूर्वेली मित्र साहजी हुनुहुन्थ्यो । भेट कुनमिङमै भएको हो ।
चीनमा फेसबुक चल्दो रहेनछ । अहिले परिवार र साथीभाइहरुलाई आफ्नो अवस्था एकैसाथ जानकारी गराउन सजिलो माध्यम फेसबुकमा कुनै अपडेट राख्नै पाइएन । नेट पनि नाम मात्रकै । घरि काम गर्ने घरि नगर्ने । फोन रोमिङ भए पनि नेपाल गर्न मिलेन । जापानमा भने फोन सम्पर्क भएकाले अलिक राहत मिल्यो । यस्तो बेलामा आफूलाई भन्दा पनि परिवारजनलाई बढी सास्ती हुने गर्छ । छरिएका परिवारलाई सबै तिर चिन्ता मात्रै । समयमा खबर गर्न नमिल्दा र नसक्दा आफूलाई छटपटी हुने ।
...
कुनमिङबाट काठमाडौंका लागि दोस्रो प्रयास मे को २ तारिख स्थानीय समय अनुसार बिहान ८:३० लाई तय भएको थियो तर जमिन छोड्दा ९ बजिसकेको थियो । त्यतिखेर कुनमिङमा भने घनघोर बर्षा भइरहेको थियो । तर पनि जहाजको आउजाउमा कुनै रोकाबट देखिएन । हामी चडेको चाइना इष्टर्नको बोइङ ७३७ जहाज काठमाडौं विमानस्थलमा उत्रने तयारीमा लाग्दा देखि दै जहाज मुनीको आकाशमा बादल मडारिरहेको देखिन्थ्यो । एकछिनमै जहाज बालदभित्र छिर्यो । घरि उचाइ घटाउँदै त घरि आकाशिदै जहाजले अवतरण प्रयास गरिरहेको अनुभव त भैरहेको थियो तर मलाई भने जहाज हराइरहेको अनुभव भयो । कतै केही देखिने होइन । न जमिन देखिन्छ नत आकाश नै । उडान कर्मचारीबाट कुनै जानकारी दिएको पनि छैन ।
निर्धारित समय अनुसार नेपाली समय करिब ११ बजे जमिन छुनु पर्ने जहाज ११:३० सम्म पनि कुहिरोको काग जस्तो हुन पुगेको महशुश भएर ओठमुख सुक्न थाल्यो । यसो पल्लो पट्टी बसेका तिनै प्रोफेसर मोन्टीलाई हेर्छु त तिनी पनि सोहोरिइसकेका । यत्तिकैमा जहाजले उचाइ लिएको संकेत गर्यो । बरु अहिले बस्न सक्दैन भने हिजो जस्तै कलकत्ता वा कतै अर्को नजिकको विमानस्थलमा लगेर राखिदिए हुन्थ्यो भन्ने लाग्यो । तर नजिक नभएर क्याप्टेनले फेरि कुनमिङ नै लाने निर्णय केहि बेर उचाइ लिएर अघि बढे पछि सुनाए ।
यात्रुसँग कुनै विकल्प थिएन । तैपनि चिनिया नागरिकहरु आफ्नै भाषामा के के हो भनेर कराउन थाले विमान कर्मचारीका छेउ गएर । सायद उनीहरु भनिरहेका थिए- किन कुनमिङ ? बरु कलकत्ता वा अरु कुनै नजिको विमानस्थलमा लग र फेरि मौसम अनुकुल भए पछि उडाउ । तर त्यसो भएन । हामी ७ घण्टाको उडानबाट लखतरान हुँदै कुनमिङ नै उत्रन बाध्य भयौं । कुनमिङ पुगेर यता उता सम्पर्क गर्दा थाहा भयो आज विहानका अन्य उडान पनि मौसमको खराबीले काठमाडौमा बस्न नसकेर कलकत्ता र बनारस पुगेका रहेछन् । चिनिया यात्रुले विमास्थलका कर्मचारीलाई घेरेर कराउन थाले । पछि थाहा भयो उनीहरु प्रश्न गरिरहेका थिए काठमाडौंको अवस्था नबुझि किन विहान चाडै विमान उँडाएको ? किन नजिकका विमानस्थल नलगेर कुनमिङ नै ल्याएको ? आदि आदि । उनीहरुको प्रश्न जायज थियो । त्यसकारण कर्मचारीहरुलाई मुस्किल पारिरहेको बुझ्न कठिन थिएन । खासमा रातिमा अवतरण गर्न नसकेको जहाज विहानको मौसमको अवस्था नबुझिकनै उडाउनु गलत थियो ।
...
कुनमिङमा उत्रिए पछि काठमाडौंमा सम्पर्क गर्दा मौसम सुध्रिसकेको र घाम लागिरहेको खबर पायौं । अरु विमानहरु सामान्यरुपमा अवतरण भैरहेको पनि सुन्यौं । त्यसपछि सबैको दवाबले पुन उडाउने प्रकृया शुरु भयो । खासगरी धेरै जसो चिनियाँहरु कुनमिङमा बस्दैनौं नेपाल नै लैजा भनिरहेका थिए । उनीहरुलाई हामी नेपालीले काठमाडौंको मौसमको जानकारी गराएका थियौं । करिब २५ जना जतिले भने यात्रा रद्द गर्ने निर्णय गरे । प्रा. मोन्टी पनि तिनीहरु मध्येकै एक थिए । हामी नेपाली समय अनुसार ४:३० मा पुन कुनमिङबाट काठमाडौंका लागि तेस्रो पटक उड्यौं । मन भने अनेक तर्क वितर्क र चिन्ताले भरिएको थियो । जहाजमा दिएको खाना पनि खान मन लागेन । सँधैको काठमाडौं केन्द्रित विकास र सोचाइले देश कति पछाडि परिरहेको छ भन्ने कुराले फेरि पनि मन खायो । मेरो बुझाइमा अर्को अन्तराष्ट्रिय विमानस्थल बन्न नसक्नुको कारण त्यही हो ।
...
४० लाख भन्दा बढी नेपाली नै गैरआवासीयको दर्जामा विश्वका ६५ भन्दा बढी मुलुकमा स्थायी अस्थायी बसोवास गरिरहेका छन् । पर्यटन राष्ट्रिय आयको एक प्रमुख स्रोत भएको र प्राथमिकतामा परेको क्षेत्र पनि हो । आफ्नै नागरिक र पर्यटकका निम्ति अत्यावश्यक पूर्वाधार विकास गर्ने काम हुनसकेको छैन । दोस्रो र त्यसपछि तेस्रो अन्तराष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने सुरुङमार्ग वा द्रुत राजमार्ग व्यवहारिक रुपमा राष्ट्रको प्रमुख प्राथमिकतामा नपर्दा सम्म अहिले हामीले भोगेको पीडा अरु पनि धेरै नेपालीले र नेपाल घुम्न चाहने विदेशीहरुले भोगिरहनु पर्ने कुरामा कुनै सन्देह छैन ।
प्रशंग यात्रा तिरै मोडौं । हामीलाई लिएर उँडेको जहाज निर्धारित समयमै नेपाल प्रवेश गर्दा जमिनमा बत्ति बलेको देखियो । काठमाडौं प्रवेश मार्गमा पनि डाडा काँडामा बत्तिको उज्यालो देख्दा र उडान कर्मचारीले काठमाडौंको मौसम ठीक छ हामी अवतरण गर्दैछौं भन्ने जानकारी दिए पछि मात्रै मन खुसी भयो । जहाज काठमाडौं उपत्यका भित्र मात्रै के छिरेको थियो जहाज भित्र एकै चोटी तालिको गढगडाहट शुरुभयो । एकै छिनमा जहाजको पांग्राले धर्ती छोयो ।
३ घण्टा १० मिनेटको उडानका लागि १९ घण्टा आकाशमा र करिब ५ घण्टा रोकिएको जहाजमा कटाउनु परेको सास्ती समाप्त भयो । खुसीले सबैको अनुहार उज्यालो भयो र एकैसाथ चिच्याएर खुसी साटा साट गरे यात्रुहरुले । चालकदललाई धन्यवाद दिदै ताली बजिरहे । जहाज भित्रको वातावरण यस्तो लाग्थ्यो मानौं हामी काठमाडौं विमानस्थल नभएर सगरमाथाको शिखर चुमिरहेका छौं वा हामीले त्यो भन्दा पनि अझ बढी जीवनको कुनै ठूलो सफलता हात पारिरहेका छौं ।
fb