४ जेठ, भैरहवा । नेपाल आयल निगमको तेल ढुवानीमा संलग्न ट्यांकरमा मापदण्ड भन्दा बढी तेल ढुवानी हुने गरेको तथ्य खुलेको छ । गत बैशाख १६ गते रुपन्देहीमा तेल चोरी गरेर भण्डार गरिरहेको अवस्थामा बरामद ट्यांकरको विशेषज्ञ टोलीले छानविन गर्दा यस्तो रहस्य खुलेको हो ।
नेपाल आयल निगमले बनाएको नीति अनुसार १० चक्के ट्यांकरमा २० हजार लिटर र ६ चक्के ट्यांकरमा १२ हजार लिटर तेलमात्र एक पटकमा ल्याउन पाइन्छ । तर चोरी प्रकरणमा पक्राउ अधिकांश ट्यांकरले मापदण्डभन्दा बढी तेल भारतबाट ल्याएर बाटोमा गायव गर्ने गरेको नयाँ तथ्य खुलेको हो ।गत बैशाख १६ गते नियन्त्रणमा लिइएका १९ वटा ट्यांकरमध्ये १५ वटा ट्यांकरमा रहेको डिजेलको नापजाँच गर्ने क्रममा ती सबै ट्ंयाकरले मापदण्डभन्दा धेरै तेल बोकेको भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी विक्रमसिंह थापाले बताए ।
बरामदमध्ये बाँकी चारवटा ट्यांकरमा पेटोलियम पदार्थ नरहेपनि ती ट्यांकर पनि पेटोलियम पदार्थ चोरीमा संग्लन रहेको पुष्टि भएको छ । ती सबै ट्यांकरलाई प्रहरीले गत बैशाख १६ गते रुपन्देहीको पडसरी र मधवलीयाबाट नियन्त्रणमा लिएको थियो । ’दुई दिनसम्म गरिएको नापजाँचका क्रममा १५ वटै ट्यांकरले तोकिएको मापदण्डभन्दा बढी तेल बोकेको भेटेका छौं’, एस्पी थापाले भने, ‘ ट्यांकरको पेट्रोलियम नापजाँचबाट निगमले मगाएको भन्दा बढी परिमाणको तेल फेला परेको हो । ती ट्यांकरहरुमा ३५ लाख ३४ हजार २४ रुपैयाँ मूल्य बराबरको ३३ हजार ९ सय ८१ लिटर डिजेल पाइएको छ ।
त्यसैगरी १९ लाख ९५ हजार ९ सय ६८ रुपैयाँ बराबरको १९ हजार १ सय ९२ लिटर मट्टतिेल पनि भेटिएको छ । त्यस्तै ६२ हजार ५ सय १० रुपैयाँ मूल्य बराबरको ४ सय ७० लिटर पेट्रोल पनि भेटिएको हो । १५ वटा ट्यांकरबाट ५५ लाख ९२ हजार ५ सय २ रुपैयाँ मूल्य बराबरको ५३ हजार ६ सय ४३ लिटर पेटोलियम पदार्थ चोरी गर्न लागेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका एसपी विक्रमसिंह थापाले तेल चोरी प्रकरणको अनुसन्धानमा प्रगति भइरहेको बताउँदै अहिलेसम्म २७ जना पक्रउ परिसकेको जानकारी दिए । ‘अनुसन्धानलाई द्रूतगतिमा अघि बढाएका छौं, फरार अभियुक्तहरुलाई पनि छिट्टै पक्रन्छौं’, एसपी थापाले भने, ‘जनताको ढुकुटी रित्याउनेलाई कुनै पनि हालतमा छाडिन्न ।’
अनुसन्धानबाट पेट्रोलमा मट्टीतेल हालेर विक्री गर्ने गरेको प्रष्ट खुलेको बताउँदै एसपी थापाले १० चक्के ट्यांकरमा २० हजार लिटर र ६ चक्के ट्यांकरमा १२ हजार लिटरभन्दा बढी वा कम पेट्रोलियम ल्याउन नपाइन नियम मिच्दै कुनैले बढी र कुनैले बढी ल्याएको बताए । ’पेट्रोलमा मट्टीतेल मिसावट गरी विक्री गर्ने गरेको अनुसन्धानबाट प्रष्ट खुलेको छ’, एस्पी थापाले भने, ‘त्यसमा संग्लनहरुलाई कानुनी कठघरमा उभाएरै छाड्छौं ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत प्रदीपबहादुर क्षेत्रीले ट्यांकरमा हुने मेसरिङ प्लेटलाई एक देखि दुई सेन्टीमिटर सम्म कुच्चाएर ट्यांकरको प्रत्येक च्याम्बरमा ३० देखि ६० लिटरसम्म बढी तेल हाल्ने ठाउँ बनाएको भेटिएको बताए । ’भारत आयाल निगमले दिएको भन्दा बढी पेटोलियम पदार्थ हाल्न प्रत्येक ट्यांकरहरुमा रड, डिप नट र सिल मार्न प्रयोग हुने पदार्थ र तार बरामद भएको छ । यसले उनीहरुको बदमाशी प्रष्ट पारेको छ ।’ प्रनि क्षेत्रीले भने ।
fb