
बढेको छ। पछिल्लो साता जन्डिसको समस्या लिएर उपचारका लागि राजधानीका अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर भएको छ।
जन्डिस देखिएका अघिकांश बिरामीमा हेपाटाइटिस ई र ए भेटिएको चिकित्सकले बताए। वीर, पाटन, त्रिवि शिक्षण, शुक्रराज ट्रपिकललगायतका सरकारी अस्पतालमा दैनिक पाँचजना जन्डिसका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। त्यस्तै नर्भिक, बयोधा, सुमेरु लगायत निजी अस्पतालमा जँचाउन जाने २० मध्ये पाँचजनामा जन्डिस देखिएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले भने, 'एक सातायता जन्डिसका बिरामी बढेका छन्, धेरैजसो ज्वरो आएर जँचाउन आएकामा जन्डिसको लक्षण देखिएको छ। कतिलाई त भर्ना नै गर्नुपर्ने स्थिति छ।'

वीर अस्पतालका एक चिकित्सकले भने, 'काठमाडौंमा एकातिर धुवाँ र धुलोको समस्या छ, अर्कोतिर जन्डिसका बिरामी बढ्दै गएका छन्, यी दुवै समस्याको मारमा सर्वसाधारण परेका छन्।' नर्भिक अस्पतालका डा. सुधांशु केसीले फोहोर पानी नखाए जन्डिसबाट बच्न सकिने बताए। उनले सबैलाई पानी उमालेर खान सल्लाह दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पद्मबहादुर चन्दले जन्डिस न्यूनीकरणका लागि विशेष सचेतता कार्यक्रम सुरु गरिएको जानकारी दिए।
चिकित्सकका अनुसार शरीरमा आइरनको मात्रा नष्ट भएपछि रक्त सञ्चारमा पैदा हुने एक खालको विकार बिलिरु बिन (रगतमा मृतकोषिका) को मात्रा बढ्दै गएपछि जन्डिस देखा पर्छ। प्रदूषित पानी वा अस्वस्थकर खानाका कारण पनि जन्डिस हुन्र्छ। त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधिक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि यो देखा पर्छ।