मानव शरीरको बलियो अस्थिपञ्जर तथा समग्र स्वास्थ्यका लागि भिटामिन डी अति नै महत्त्वपूर्ण छ। शरीरका महत्त्वपूर्ण मांसपेशी, मुटु, फोक्सो, मस्तिष्क आदि अंगलाई आफ्नो काम सरल र सक्षम रूपमा गराउन र शरीरमा हुनसक्ने बाह्य संक्रमणसँग लड्ने क्षमता वृद्धि गर्नसमेत भिटामिन डीको ठूलो महत्त्व हुन्छ। शरीरको हड्डी अर्थात् अस्थिपञ्जर प्रणालीको संरचना निर्माण तथा तिनको मजबुतीकरणका लागि क्याल्सियम र फोस्फोरस नामक तत्त्वहरू अति नै आवश्यक पर्छन्। तर, हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फोस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डीको मात्रा नभएमा वा कमी भएमा खानामा निहित ती क्याल्सियम र फोस्फोरस तत्त्व हाम्रो शरीरले ग्रहण गर्न सक्दैन।
खानामा हुने क्याल्सियम तथा फोस्फोरस हाम्रो आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका खेल्छ। हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन डीको मात्रामध्ये करिब ८०-९० प्रतिशत भिटामिन डी सूर्यको किरणबाट प्राप्त गर्छौं भने करिब १०-२० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्त्वबाट प्राप्त हुन्छन्। जब भिटामिन डी हाम्रो शरीरमा शोषित हुन्छ, त्यो एक प्रकारको हरमोनमा परिणत हुन्छ। हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हर्मोनलाई क्याल्सिट्रिवल भनिन्छ।
क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई हाम्रो आन्द्रामा शोषण गर्ने/गराउने र त्यसपछि तिनलाई पुन: मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउने कार्यमा मद्दत गर्छ।
भिटामिन डीको महत्त्व
- शरीरमा क्याल्सियम र फोस्फोरस नामक तत्त्वको शोषण र तिनको पाचनका लागि भिटामिन डी अति नै आवश्यक हुन्छ।
- यो शरीरको प्रतिरक्षा प्रणाली (रोग प्रतिरोधात्मक क्षमता)लाई नियमित गर्ने र शरीरमा हुने संक्रमणसँग लड्ने क्षमता विकास गर्ने एक महत्त्वपूर्ण तत्त्व हो।
- यसले हृदयाघातको जोखिम न्यूनीकरण गर्छ।
- यसले हाम्रो मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ।
- बालबालिकामा यसले दम (श्वासप्रश्वास रोग)को समस्या घटाउने र तिनको आवृत्ति कम गर्छ।
- यसले महिलामा हुनसक्ने बाथरोगको जोखिम कम गर्छ।
- आवश्यकभन्दा अलिक बढी मात्रामा भिटामिन डी लिँदा यसले क्षयरोगजस्तो रोग छिटो निको पार्न मद्दत गर्छ।
- यसले बिरामीमा हुनसक्ने अर्बुदरोगको जोखिमसमेत कम गराउँछ।
भिटामिन डी कमी हुँदाका समस्या
शरीरमा भिटामिन डी कम हुँदा ज्यादै थकाइ लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि मुख्य छन्। तर, कोहीकोहीमा भने कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। भिटामिन डी कम भई जटिल अवस्थामा शरीरका हड्डीहरू नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो पर्नसक्ने हुन्छ। कसैकसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको सङ्क्रमण भइरहनेजस्ता घटना पनि हुन सक्छन्।
भिटामिन डी कमी हुनसक्ने सम्भावना
समाजमा भिटामिन डी कमी भई समस्याग्रस्त हुने धेरै व्यक्ति वा समूह छन्। तल उल्लेख गरिएका मानिसमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ :
- गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरै बेर घाममा बस्नुपर्ने हुन्छ। त्यसकारण नेपालीहरू जो पश्चिमाझैं पूरै निख्खर छाला हुनुको साटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ।
- वयस्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्छ।
- त्यसरी नै जो व्यक्ति दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहन्छ, त्यस्तो व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रूपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ।
- धेरै समय घरभित्रै बिताउने वा रात्रिकालीन जागिर गर्ने र अस्पतालमा लामो समयसम्म काम गर्नेहरूमा पनि भिटामिन डी कमी हुने गर्छ।
- पृथ्वीको भूमध्यरेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम भई भिटामिन डीको कमी हुन्छ। जस्तै- अमेरिकाको उत्तरी भूभाग र क्यानडामा बसोबास गर्ने मानिस।
- स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिएनन् भने तिनमा पनि भिटामिन डी कमी हुने सम्भावना हुन्छ।
- थप भिटामिन डी नलिने गर्भवती महिला।
- अस्वाभाविक ज्यादा तौल भएका व्यक्ति।
'भिटामिन डी'का काम
हाम्रो शरीरको छालामा जब सूर्यको किरण पर्छ तब छालामा भिटामिन डी बन्ने गर्छ। त्यसपछि शरीरले बनाएको भिटामिन डीलाई शरीरले उपभोग गर्नसक्ने तुल्याउन थुप्रै रासायनिक प्रक्रिया हुन्छन्। तबमात्र शरीरले त्यसलाई उपयोग गर्नसक्छ।
सूर्यको किरण पर्नासाथ छालाले उत्पादन गरेको भिटामिन डी सुरुमा कलेजोमा पुग्छ। थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले भिटामिन डी ग्रहण गरी त्यसलाई पनि कलेजोमै पठाउँछ। कलेजोले त्यसलाई २५ ओएचडीमा परिणत गर्छ।
चिकित्सकले रगतमा भिटामिन डी जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्त्व नै २५ (ओएचडी) हो। यही तत्त्वलाई रक्त सञ्चारका माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पु:याउने काम हुन्छ। मिर्गौलाले उक्त तत्त्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्छ।
सामान्यत: हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन डीको मात्रा प्रतिमिलिलिटर रगतमा ३० देखि ८० न्यानोग्राम हुने गर्छ। रगतमा भिटामिन डीको मात्रा कम हुँदा माथि उल्लेख गरिएका विविध समस्या देखा पर्छन् र मात्रा बढी हुँदा पनि त्यसले विषादीजस्तो काम गर्छ। त्यस अवस्थालाई हाइपरभिटामिनोसिस भनिन्छ।
आवश्यकभन्दा बढी भिटामिन डी
धेरैजसो मानिस आफूलाई कुनै समस्या नहुँदा पनि थप भिटामिन डीको मात्रा लिने हुँदा तिनले आवश्यकभन्दा बढी नै भिटामिन डी लिने सम्भावना हुन्छ। यदि ज्यादा मात्रामा उक्त भिटामिन खायौं भने त्यसले हाम्रो शरीरमा विषादीकै जस्तो असर गर्छ। भिटामिन डी चिल्लो पदार्थमा धुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हट्दैन। त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउँछ। रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई हाइपरक्याल्सिमिया भनिन्छ। हाइपरक्याल्सिमिया हुँदा निम्न लक्षण देखा पर्छन् :
- अत्यधिक थकाइ लाग्ने, दिग्भ्रमित हुने वा अलमलमा पर्ने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पेट दुख्ने, मांसपेशी कमजोर भएको महसुस हुने, दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने, तिर्खाएको महसुस हुने, खाना अरुचि हुने वा खाना खान मन नलाग्ने।
हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श गर्नुपर्छ। साथै थप भिटामिन डी सेवन गर्दा वा पुन: सुचारु गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ।
'भिटामिन डी' प्रशस्त पाइने खाना :
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो। भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै खानामा थोरै मात्रामा मात्र पाइन्छ। भिटामिन डीयुक्त खानामध्ये केही निम्न छन् :
- टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा।
- थप भिटामिन डीद्वारा प्रवद्र्धित खानाहरू जस्तो कि दुग्धजन्य पदार्थ (चीज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी।
- कलेजो
- चिज
- अन्डाको पहेँलो भाग
खानाका लागि सिफारिस गरिएको भिटामिन डीको मात्रा
उमेर (पुरुष/महिला दुवै)
०-१ वर्ष दैनिक ४०० आईयू
१ वर्ष-७० वर्षसम्म दैनिक ६०० आईयू
७० वर्षमाथि दैनिक ८०० आईयू
तर, ओस्टियोपोरोसिसजस्ता रोग भएका बिरामीले भने उल्लिखित मात्राभन्दा बढी नै भिटामिन डी खानुपर्ने हुनसक्छ तर चिकित्सकको सल्लाहमा मात्रै।
- डा. नेपाल नर्भिक इन्टरनेसनल हस्पिटलका वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।
fb