Headlines News :
fb
Home » » मुख खोलिन् मोनिकाले क्लिन्टन यौनकाण्डकी पात्रले दशकपछि खोलिन् मुख

मुख खोलिन् मोनिकाले क्लिन्टन यौनकाण्डकी पात्रले दशकपछि खोलिन् मुख

 काठमाडौ, जेष्ठ ३ - मोनिका लेविन्स्की । महाशक्ति राष्ट्र अमेरिकका राष्ट्रपति विल क्लिन्टनको दोस्रो कार्यकालमा मच्चिएको चर्चित यौनकाण्डकी मुख्य पात्र । यो काण्डपछि विपक्षी रिपब्लिकनले क्लिन्टनमाथि महाअभियोग लगाई सत्ताच्यूत गर्न खोजेका थिए । यता, यौन प्रकरणले मानसिक रूपमा विक्षिप्त मोनिकाले कयौंपटक आत्महत्या गर्ने सोच बनाएकी थिइन् । उनै मोनिका झन्डै दशकपछि आफूलाई दह्रो बनाउँदै लेख्छिन्, 'कालो ह्याट जलाउने र नीलो गाउन गाड्ने बेला आयो ।'

उनले यसै साता अमेरिकी म्यागेजिन 'भेनिटी फेयर' मा लेखेकी छन्- 'मेरो विगतले कसैको भविष्य बन्न सक्छ । त्यसैले मैले मेरो विगतलाई फरक रूपमा अन्त्य गर्ने निर्णय गरेकी हुँ ।'

अमेरिकी राष्ट्रपतीय इतिहासमा वाटरगेट काण्डपछि 'मोनिकागेट' दोस्रो काण्ड थियो । जुन काण्डमा तत्कालीन अमेरिकी राष्ट्रपति क्लिन्टन र ह्वाइट हाउसकी 'इन्टर्न' मोनिकाबीचको यौन सबन्धको समाचारले विश्व हल्लाएको थियो । रिपब्लिकनको महाअभियोग प्रस्ताव असफल भएपछि क्लिन्टनले सफल अवतरण गरे । तर मोनिका भने सार्वजनिक जीवनबाट विलुप्त भइन् । आखिर कहाँ गएकी थिइन् मोनिका ? दस वर्षपछि एकाएक कसरी प्रकट भइन् ?

सन् २०१० मा एक अमेरिकी युवाको आत्महत्याले उनलाई ठूलो आघात पार्‍यो । ती युवाले आफ्नो साथीसँग किस गरेको तस्बिर सार्वजनिक भएपछि समाजमा समलिंगीका रूपमा चिनिने भयले आत्महत्या गरेका थिए । मोनिकामा पनि आत्महत्या गर्नेसम्मको हीनताबोध पलाएको थियो । 'त्यो केटाको मृत्युले मलाई धेरै दिनसम्म रुवायो, तर अब म दह्री भइसकेकी छु,' उनी लेख्छिन्, 'म त्यस्तालाई सहयोग गर्न चाहन्छु । सायद मेरो कहानी सार्वजनिक गरेर म कालाक्षण र हीनताबोधबाट गुजि्ररहेकाहरुको साथी बन्न सक्छु कि ।'

पुरुषप्रधान विश्वको एकै मनोविज्ञान हुनुपर्छ, मोनिका त्यतिखेर 'गसिप' को दह्रो मसला थिइन् । कालो ह्याटसँग नीलो गाउन लगाएकी मोनिकालाई सञ्चारमाध्यमले खुबै बेचेका थिए । सन् १९९८ को करिब दुई वर्ष उनको बारेमा समाचार बनाउन नसक्ने सञ्चारमाध्यमले ठूलो क्षति बेहोर्नुपथ्र्यो । विश्कै आँखामा उनी मसलेदार समाचार थिइन् । तर उनको पीडा उनकी आमाले मात्र बुझेकी थिइन् । जसले हरेक क्षण छोरीको आँखामा मृत्यु मडारिएको देख्थिन् । त्यसैले उनी एक क्षण पनि छाड्न चाहन्नथिन् । 'म निदाउँदा पनि कयांै रात उहाँ जागै बस्नुहुन्थ्यो, मेरो सिरानीमा अडेस लागेर,' उनी लेख्छिन्, 'किनकि म अपमान र घृणाले आत्महत्या गर्छु कि भन्ने उहाँलाई डर थियो । मैले पनि धेरैपटक आत्महत्या गर्ने सोचेकी थिएँ ।'

त्यसबेला उनलाई साथ दिने आमाबाहेक कोही थिएन । सञ्चारमाध्यमले त उनलाई आजित बनाइसकेका थिए । वकिलले समेत अपमान गरिरहेको उनलाई महसुस हुन्थ्यो । जवाफ दिन नसकिने कानुन व्यवसायीको तिखा प्रश्न, एफबीआईको अनुसन्धान चक्करले उनको जीवन नै अन्धकार बनाइदिएको थियो । कानुन व्यवसायी केन्नेथ डब्लु स्टारले सोधपुछ गरेको क्षण जीवनकै डरलाग्दो रहेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, 'म यति भयभित थिएँ कि सोधपुछ कोठमा रहेका सबैलाई मार्न चाहन्थे र आफू पनि मर्न चाहन्थे ।'

उनलाई लागेको छ, सारा विश्वले क्लिन्टनलाई जोगाउन उनलाई 'बलीको बोको' बनाएका थिए । क्लिन्टन प्रशासन, उनका चम्चाहरू, पक्ष विपक्षी दलका नेता कार्यकता र सञ्चारमाध्यमले उनको एउटा 'छवि' बनाइदिएका थिए र त्यसमा सत्ता र शक्तिको रंग भरिदिएका थिए । क्लिन्टन र आफूबीच सहमतिमै भएको सम्बन्धलाई पनि अपराधझैं चर्काइएको थियो । त्यसमा क्लिन्टनले फाइदा उठाएको उनको बुझाइ छ । 'निश्चय नै मेरो बोसले फाइदा उठाएँ,' उनले लेखेकी छन्, 'तर म र क्लिन्टनबीच जे भयो, मलाई त्यसमा गहिलो अपसोच छ, दोहोर्‍याएर भन्न चाहन्छु, जे कुरा भयो त्यसमा मलाई गहिरो अपसोच छ ।'

उनी क्लिन्टनप्रति गहिरो अनुरागमा थिइन् । क्लिन्टनलाई माया गर्थिन् । त्यसैले त्यतिबैलै बरबरा वाल्टर्सको अन्तरवार्तामा उनले क्लिन्टनसँग प्रेम बसेको बताएकी थिइन् । स्टारको बयानमा समेत भनेकी थिइन्, 'उनीप्रति गर्व लाग्थ्यो । मलाई 'सिक' बनाएका थिए उनले । कहिलेकाहीं चाहिँ उनको दुष्साहस देखेर घृणा लाग्थ्यो ।'  

मोनिकासँगको सम्बन्धलाई लिएर क्लिन्टनले त्यसबेला संसद्मा झूट बोलेका थिए । पत्नी हिलारीले मोनिकालाई 'खराब आइमाई' को संज्ञा दिएकी थिइन् । ढेड दशकपछि हिलारी राष्ट्रपतीय दौडमा रहेका बेला मोनिकाले मौनता तोड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले आफ्ना गुम्सिएको मन नखोलेसम्म सास फेर्न नसकेको लेखेकी छन्, 'कति मौन बस्नु, कति लुक्नु । भाग्दा भाग्दै जीवन नै सकिन लाग्यो ।'

यौन प्रकरणपछि उनी जीवनदेखि भागेको भाग्यै छिन्, कहिले मृत्युदेखि, कहिले मालिकदेखि, कहिले देशदेखि कहिले परिस्थितिदेखि । सन् १९९९ मा टेलिभिजनकर्मी वाल्टर्सलाई अन्तरवार्ता दिएपछि उनी सार्वजनिक जीवनबाट टाढिएकी हुन् । शान्त जीवन खोज्दै उनी न्युयोर्क, पोर्टल्यान्ड र ओरेजनतिर भांैतारिन् । दैनिकी गुजार्न काम खोज्थिन् । तर सबैले क्लिन्टकै प्रसंग जोड्थे । उनले दस लाख डलर आम्दानी हुने काम समेत सकारात्मक नभएरै गर्न मानिन् । उनी गलत उद्देश्यका लागि फिट हुन्थिन् । 'सही कामका लागि कहिल्यै योग्य भईनँ,' उनी दुःखेसो पोख्छिन् ।

कतिसम्म भने विश्व विश्यात गायिका वियोन्सेले हालै आफूलाई उल्लाएर गाएको गीतको शब्दले समेतले घोचेको छ उनलाई । वियोन्सेले 'पार्टिसन' एल्बमको चर्चित गीतमा 'हि पप्ड अल माई बटन्स एन्ड रिप्ड माई ब्लाउज, हि मोनिका लेवेन्स्िकड अल अन माइ गाउन' भन्ने शब्द छन् । त्यसमा प्रतिक्रिया दिँदै मोनिका लेख्छिन्, 'धन्यवाद वियोन्से । तिम्रो अर्थ क्लिन्टन मोनिकाको गाउनमा डुबे भन्ने होला, मोनिका हैन ।'

त्यसबेला पनि उनी लक्षित थुप्रै गीत, प्रहसन, कथा र लेखले उनलाई आजित बनाएपछि लन्डन हानिएकी थिइन् । त्यहाँ उनले मनोविज्ञानमा स्नातकोत्तर गरिन् । सायद मनोविज्ञान अध्ययनको प्रभाव हुनुपर्छ, उनले दुनियाँको मनोभावना बुझ्न थालेकी छन् । उनी दह्री भएकी छन् । पत्रिकाले पनि सेतो पोसाकमा सोफामा ढल्किएको तस्बिर मुखपृष्ठमा छाप्दै 'लजालु एवं जीवन्त' शीर्षकमा लेख छापेको छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar