हुन्छ भन्ने ठानेरै त होला, धेरैले निकै दुःख दिइरहने भए पनि बुद्धि बंगारा निकाल्न मान्दा रहेनछन्।
काठमाडौँ बस्ने एउटा नाम चलेको अफिसमा काम गर्ने व्यक्तिले आफ्नो छोराको साह्रै दुःख दिइरहेको बुद्धि बंगारा उखेल्न मानेनन्। रातबिरात दाँत दुख्यो भनेर डाक्टरलाई फोन आउने रहेछ। उनले दाँत निकाल्न सल्लाह पनि धेरै पटक दिए। तर बुद्धि बंगारा निकाले सुस्त मनस्थितिको भइन्छ भन्ने लागेकोले बाउले मानेका रहेनछन्।
यो हप्ता एउटा बुद्धि बंगारा उखेलेर फ्याँकियो। त्यसअघि दाँत दुखाइले निकै पीडा दियो। यही क्रममा थप खोज्ने क्रममा इन्टरनेट र दन्त चिकित्सकबाट पाएका जानकारी रोचक लागेर तपाईँहरु समक्ष बाँड्दैछु।
किराले खाइसकेको र दुःख पनि दिइराखेको भएर मैले भने निकाल्ने सल्लाह पाउँदा दुई पटक सोचिनँ।
बुद्धि हराउला भन्ने डर लागेन त ? फेसबुकमा कसैले सोधे पनि।
बुद्धि त हुनेले पो हराउने डर मान्नु, हामीलाई केको डर- ब्रजेश खनालले ट्विटरमा निकै रमाइलो जवाफ दिए।
आखिर किन बुद्धि बंगारालाई बुद्धिसित जोडिने रहेछ त ? नेपालीमा मात्र हैन अंग्रेजीमा समेत यसलाई विजडम टुथ नै भनिँदो रहेछ। ल्याटिनमा dens sapientiae को अर्थ पनि उस्तै रहेछ।
खासमा सबैभन्दा पछि उम्रने भएकोले र पछि भनेपछि स्वतः मानिस अलि बुद्धिमानी भइसक्ने भएकोले यसलाई बुद्धि बंगारा भनिएको हुनुपर्छ। बुद्धि बंगारा निकालेपछि बुद्धिमा नै असर पर्छ कि पर्दैन, त्यो भने तपाईँ आफै बुद्धि बंगारा निकालेर परीक्षण गर्नुस् भन्न नमिल्ने :P
३२ लक्षणमा एक लक्षण ३२ वटा दाँत हुनु पनि हो। बुद्धि बंगारा बिना दाँत ३२ वटा पुग्दैनन्। लक्षण हराउने भएर पनि मान्छेले बुद्धि बंगारा निकाल्न आनाकानी गर्ने हुन् कि खै !
डेन्टिस्टले आफ्नो अनुभवबाट बनाएका केही बुँदा यस्ता रहेछन्-
बुद्धि बंगाराले उम्रँदा पनि साह्रै दुःख दिन्छ। मेरा दन्त चिकित्सकका अनुसार यो दाँत निकाले पनि खासै कुनै फरक पर्दैन। यो दाँत चपाउने दाँत पनि हैन। छेउको कुनामा रहने दाँत भएकोले ब्रस गर्दा पनि राम्रोसँग ब्रस पनि पुग्दैन। त्यसैले किराको आक्रमणमा सबैभन्दा कमजोर पनि यही हुन्छ।
दुर्घटना हुँदा यही दाँतले कठिन परिस्थिति निम्त्याउन सक्ने भएकोले अनि वयस्क अवस्थामा यसलाई निकाल्दा गाह्रो हुने भएकोले दाँत आइसकेपछि सानै उमेरमा नै यसलाई निकाल्न विदेशमा सिफारिश गरिन्छ भन्ने पनि सुनेँ।
कुरा ठ्याक्कै त्यस्तै नभए पनि अलि अलि हो रहेछ। थर्ड मोलर पनि भनिने बुद्धि बंगारा निकाल्ने बारे विज्ञहरुबीच बहस रहेछ। डेन्टल पाठ्यपुस्तकहरुमा केही असर पर्ने बुद्ध बंगारालाई निकाल्ने सुझाव दिइएको हुने रहेछ। देश अनुसार पनि दाँत निकाल्ने कि नकाल्ने भन्ने निर्णयमा असर पर्ने रहेछ। अमेरिका र बेलायतमा पनि फरक पर्ने रहेछ।
बेलायतको National Institute for Health and Clinical Excellence ले रोग नलागेको बुद्धि बंगारा निकाल्दा फाइदा हुने कुनै प्रमाण नरहेको भन्दै नउखेल्न सिफारिश गर्छ।
American Association of Oral and Maxillofacial Surgeons ले भने परिस्थिति हेरी वयस्क हुँदा निकाल्न कठिन हुने हुँदा कम उमेरमै दन्त चिकित्सकको सल्लाह अनुसार उखेल्ने सल्लाह दिन्छ।
पीडादायी इतिहास (प्रहरी धरहराबाट साभार)
एलिजाबेथ प्रथम इङ्गल्यान्डकी महारानी थिइन्। तिनी दाँतको दुखाइबाट बच्न सकिनन्। महारानीको कालो दाँत देखेका एक जना जर्मन पर्यटकले बताएअनुसार “गुलियो धेरै खाने भएकोले अंग्रेजहरूमा यस्तो हुनु सामान्य” थियो। डिसेम्बर १५७८ मा दाँतको दुखाइले महारानीलाई दिनरात सताउन थाल्यो। उनका डाक्टरहरूले उनलाई दुखेको दाँत उखेलेर फाल्न सल्लाह दिए तर उनले मानिनन्। दाँत उखेल्दा हुने पीडाको कारण उनी डराएकी हुनुपर्छ। दाँत उखेल्न महारानीलाई मनाउन लन्डनका विशप जोन आल्मरले महारानीकै अगाडि आफ्नो एउटा दाँत निकाल्न लगाए। सायद कुनै बिग्रेको दाँत निकाल्न लगाएको हुनुपर्छ। विचरा बूढा, बचेखुचेका दुई-चारवटा दाँतमा पनि एउटा त गइहाल्यो!
एलिजाबेथ प्रथमको समयदेखि लगभग एक शताब्दीपछि फ्रान्समा लुइस चौधौंले राज्य गरिरहेका थिए। दाँतको दुखाइले तिनलाई जिन्दगीभर कहिल्यै छोडेन। सन् १६८५ मा तिनले माथिपट्टिको सबै दाँत उखेल्न लगाए। कसैकसैले दाबी गरेअनुसार दाँत दुखेकै सुरमा राजाले त्यस वर्ष उपासनाको स्वतन्त्रतासम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए, जुन निर्णय वास्तवमा अत्यन्तै विनाशकारी थियो।
आधुनिक दन्तचिकित्साको जन्म
लुइस चौधौंको विलासी जीवनशैलीले पेरिसको समाजमा पारेको प्रभावले गर्दा नै दन्तचिकित्साको विकास सम्भव भयो। भाइ-भारदारबीच र समाजमा सफल हुन हेर्दामा पनि चिटिक्क देखिनुपर्थ्यो। चपाउनको लागि भन्दा पनि राम्रो देखिनको लागि नक्कली दाँतको माग बढ्न थाल्यो। यसले गर्दा धनीमानीहरूको लागि काम गर्ने डेन्टिस्टहरूको समूह बन्न थाल्यो। पेरिसका प्रमुख डेन्टिस्ट पायर फोसार थिए। तिनले फ्रान्सको सेनामा छँदा चिरफारसम्बन्धी काम सिकेका थिए। दाँत उखेल्ने काम केही सीप नभएका हजाम र नक्कली डाक्टरहरूको हातमा छोडेकोमा तिनले सर्जनहरूको आलोचना गरे। आफूलाई डेन्टल सर्जन भनेर चिनाउने पहिलो व्यक्ति पनि तिनी नै थिए।
आफूले जानेको सीप गूपचूपमै राख्ने प्रचलनलाई तोड्दै, सन् १७२८ मा फोसारले एउटा किताब लेखे र आफूलाई थाह भए जति सबै प्रकिया सार्वजनिक गरे। त्यसैले तिनलाई “दन्तचिकित्साको पिता” भनिन्छ। आफ्ना बिरामीहरूलाई भुँइमा बस्न लगाउनुको सट्टा दाँतको उपचार गर्दा प्रयोग गरिने विशेष खालको कुर्सीमा बसाउने पहिलो व्यक्ति पनि तिनी नै थिए। तर फोसार दाँत उखेल्ने व्यक्ति मात्र थिएनन्, तिनले दाँत उखेल्ने पाँच प्रकारका साधनसमेत विकास गरे। तिनले डेन्टिस्टहरूले चलाउने ड्रिलको विकास गरे अनि दाँत भर्ने तरिका पनि तिनैले निकालेका थिए। तिनले दाँतको जरा (रूट क्यानल) भर्ने र जरामा नक्कली दाँत अड्काउने तरिका पनि थाह लगाए। तिनले हस्तिहाडबाट नक्कली दाँत बनाउँथे अनि माथिपट्टिको दाँतलाई ठीक ठाउँमा अड्याउन स्प्रिङ प्रयोग गर्थे। फोसारले दन्तचिकित्सालाई पेसाको रूपमा विकास गरे। तिनको ख्याति समुद्रपारि अमेरिकासम्म फैलियो।
अमेरिकाका प्रथम राष्ट्रपतिले भोगेको पीडा
लुइस चौधौंको समयदेखि एक शताब्दीपछि अमेरिकामा जर्ज वाशिङ्टनलाई पनि दाँतको दुखाइले सताएको थियो। तिनी २२ वर्षको भएदेखि हरेक वर्षजसो एउटा-एउटा दाँत उखेल्नुपरेको थियो। बेलाइती सेना विरुद्ध लडिरहेको कन्टिनेन्टल आर्मीको नेतृत्व गरिरहेका वाशिङ्टन कत्ति दयनीय अवस्थामा थिए होला, कल्पना गर्नुहोस् त! सन् १७८९ मा अमेरिकाको प्रथम राष्ट्रपति बन्ने बेलासम्ममा त तिनी पूरै थोते भइसकेका थिए।
थोते भएको कारण कुरूप हुँदै गएको र नक्कली दाँत टम्म नमिलेकोले गर्दा वाशिङ्टनलाई मानसिक तनाव पनि थियो। नयाँ मुलुकको राष्ट्रपतिको रूपमा राम्रो छवि बनाउन संघर्षरत तिनी आफ्नो रूपरङबारे अत्यन्तै सजग थिए। त्यति बेला नक्कली दाँत बनाउँदा, दाँत बनाउने साँचो प्रयोग नगरी हस्तिहाडबाट सीधै बनाइन्थ्यो। त्यसैले ठीकसँग मिलाएर राख्न गाह्रो हुन्थ्यो। अंग्रेजहरू पनि वाशिङ्टनजस्तै अप्ठ्यारोमा परेका थिए। भनिन्छ, आफ्नो नक्कली दाँत देखिएला भनेर नै अंग्रेजहरू मुख खोलेर मजाले हाँस्न छोडेका हुन्।
वाशिङ्टनको नक्कली दाँत काठबाट बनेको थियो भन्ने कथा छ तर यो कुरा साँचो होइन जस्तो देखिन्छ। तिनीसित मान्छेको दाँत, हस्तिहाड र सीसाबाट बनेका नक्कली दाँतहरू थिए तर काठबाट बनेको चाहिं होइन। सम्भवतः राती-राती सुटुक्क गएर चिहान खन्नेहरूबाट तिनका डेन्टिस्टहरूले दाँत लिन्थे। व्यापारीहरू सेनाको पछि-पछि पनि लाग्थे अनि युद्धमा मरेका वा मर्नै आँटेका सिपाहीहरूको दाँत निकाल्थे। नक्कली दाँत राख्नु भनेको धनाढ्यहरूको विलासी जीवनमा पर्थ्यो। सन् १८५० को दशकमा रबरलाई सल्फरसित पकाएर गन्धरहित बनाउने भल्कनाइजेसन प्रक्रियाको आविष्कार भएपछि नक्क्ली दाँत अड्याउन यही रबर प्रयोग गर्न थालियो। यसपछि मात्र नक्कली दाँत जनसाधारणको लागि सर्वसुलभ भयो। वाशिङ्टनका डेन्टिस्टहरूले दाँतको उपचारमा निकै दक्षता हासिल गरिसकेको भए तापनि दाँत दुख्नुको कारण तिनीहरूले राम्रोसित बुझिसकेका थिएनन्।