२१ जेठ, काठमाडौं । रोजगारीका लागि बिनाश्रमस्वीकृति बिदेसिएका ५३ हजार ५ सय ४ नेपाली युवा वैध भएका छन् । उनीहरु एजेन्टमार्फत भारतको बाटो हुँदै विदेश गएका थिए । अवैध हुँदा उनीहरु सामाजिक सुरक्षा र सरकारी तथ्यांकभन्दा बाहिर थिए । लुकेरै काम गर्दा कदाचित मृत्यु भए परिवारहरु बिमाबापत ५ लाख र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका थिए । सरकारको तथ्यांकमा नदेखिने भएकाले समस्या पर्दा उद्धार गर्नसमेत अप्ठ्यारो थियो ।
त्यही कारण अवैध कामदारलाई वैध बनाइएको वैदेशिक रोजगार विभागले जनाएको कारोबारमा खबर छ । नेपालबाट अवैध रुपमा गए पनि उनीहरु गन्तव्य मुलुकभने वैध थिए । ‘त्यस्ता कामदारको तथ्यांकै नहुने हुँदा विदेशमा कति कार्यरत छन् भन्ने यकिन हुन सकिएको थिएन,’ विभागका प्रवक्ता बद्रीकुमार कार्कीले भने, ‘पहिले अवैध ढंगबाट गएका कामदारले पुनः त्यही मुलुक र कम्पनीमा जान निवदेन दिए उनीहरुलाई वैधानिक रुपमा श्रमस्वीकृति दिइरहेका छौं, वैध भएपछि अप्ठ्यारोमा उद्धार गर्न र क्षतिपूर्ति दिन सजिलो हुन्छ ।’ चालु आवका १० महिनामा १ लाख ५० हजार १ सय ६९ कामदारले पुनः श्रमस्वीकृति लिएका छन् । वैध हुनेमा ४७ हजार ६ सय ७३ पुरुष र ५ हजार ८ सय ३२ महिला छन् ।
fb