Headlines News :
fb
Home » » गृहमन्त्री कि एसएसपी ठूलो

गृहमन्त्री कि एसएसपी ठूलो

देशमा अहिले दुई दशाको चर्चा छ। 'वामदेव दशा' र 'रमेश खरेल दशा'। यता 'वामदेव दशा' लागेको छ रमेश खरेल नामक 'मिडिया पुलिस' लाई। उता 'रमेश खरेल दशा' लागेको छ, देवादिदेव वामदेवलाई।

वामदेवले गृह नपाउँदा एमाले सिंगो दल नै बल्खुमा झिँगा धपाउन विवश थियो। एक किसिमबाट पाण्डवबीचका भीमजस्तै गदाबाज मुष्टीबाजको रूपमा बुझ्छन् सर्वसाधारण जनताले वामदेवलाई। एमाले संगठन नै निरिह बनाउन सक्ने महावीर बलशाली सर्वशक्तिमान वामदेवलाई वामदेवकै निजी 'घर मन्त्रालय' मुनिको जाबो प्रहरी संगठनको भुसुना एसएसपी खरेलले निरिह बनाइदिनु भनेकै हो दशा लागेको अर्थात् 'रमेश खरेल दशा' लागेको।



जिन्दगीमा कहिले पनि कुनै पनि कुरामा सम्झौतै नगर्ने विख्यात अडानबाज सुशीलदासमेतलाई अन्तत: अडान छोड्न विवश पार्ने तत्त्व अर्थात् वामदेवको शक्तिको बयान गर्नै पर्दैन। जो सामुन्ने आए तिनलाई सुँडले पानी छ्यापेरै सिध्याउन सदैव सफल वामदेव गौतम नामक यो गजराजलाई अहिले खरेल भुसुनाले आच्छु-आच्छु पारेको छ। सानै ग्रह भए पनि राहु र केतु ग्रहलाग्दा कति हानि हुन्छ, हरेक जन्मदिनमा ज्योतिषीको ढोकामा पुग्नेहरूलाइै ज्ञातै छ। तसर्थ दशा सानै भए पनि नलाग्नु र लागिसकेपछि भने कसको के लाग्दो रहेछ त? बिचरा सुर्जे भगवान्जस्ता वामदेवको हालत नाजुक भइरहेको उदाहरण हाम्रै सामुन्ने छ।

त्यो रमेश खरेल नामक भुसुनालाई धपाउन पुच्छरहरूको उपयोग पनि गरिएकै हो। तर तिनै पुच्छर अर्थात् डनहरूलाई पो धमाधम हनुमान मन्दिरसामुको खोरमा कोचेर भुस पारिदियो भुसुनाले। आफूजस्तै हरामी छ यो पुलिस केटो भन्ने थाहा छँदैछ वामदेवलाई। चुपचाप गरे त भइहाल्थ्यो नि रमेशेले। किन पोलिथिन ब्यागमा हावा फुकेर पड्काउँदा पनि ३१ तोपै पड्काएको जस्तो सारा मिडियालाई हतारहतार भन्ने खुराफत गरिरहेको होला नि मिडिया पुलिसे रमेशले?

कन्स्टेबलदेखि आईजीपीसम्मले नियमित गणेश परिक्रमा गरिरहेकै छन्। सिडिओदेखि डनसम्मबाट अप्रत्यक्ष दर्शन ढोगभेट भइरहेकै छ। त्यो घमन्डी भ्यागुतो रमेश भने घरमा त आऊँ भन्दा नि आउँदैन। घरमा नआए कमसेकम अफिसै भए पनि आऊ भन्दा पनि आउँदैन। रमेश किन आउन नहुने? न्यायाधीशहरू नियुक्ति भएपछि बल्खुमा दण्डवत् गर्न आउने। साहित्यकारजस्ता अभिमानी राष्ट्रका गहनाहरू त कमलादीको गेटपास माग्न घरघर धाउन मिल्ने। यो डन्ठे नाइके, जसको बढुवा, सरुवा, पदक र खजाना गृहमन्त्रीको एक चुटकीमा पाएस् खाएस् या पूर्ण भुस गरिन्छ भने, त्यो आउन किन नहुने? वामदेवका मनमा यस्ता कुरा खेलेको धेरै भएको रहेछ। त्यसैले केही समयअघि रमेशकै थातथलो काभ्रेमै आफ्ना डन्डा र झन्डाहरूका बीचमा प्वाक्क बोलिहाले, 'त्यो रमेशे को हो? घरमा आइज भन्दा पनि आउँदैन। म गृहमन्त्री ठूलो कि त्यो जाबो एसएसपी ठूलो? त्यसका हाकिम हातमा गह्रुँगो सामान बोके पनि सोही बोझासहित दर्शन नमस्ते गर्दै बढुवा माग्न आउन मिल्ने, त्यो भुसुना भने यसो घरमा आउन नि नमिल्ने?' वामदेवको विचारमा यो यस यस अर्थात् हो हो पी अर्थात् पर्सन हुनुपर्नेमा नो नो पी किन भइरहेको छ। देशको गृहमन्त्रीको उपत्यकामा भने हैकम नहुने?

हो, त्यही काभ्रे दिवसका क्षणदेखि भने वामदेवलाई लाग्न थालेको हो, 'रमेश खरेल दशा'। वामदेवका जन्मजात बैरी मिडियाहरूलाई के चाहियो? त्यसपछि त दिन थाले दनादन दनक वामदेवका छातीमाथि नै। गृहमन्त्री भए पनि यसपटक विगतमा झैं एअरपोर्टलाई सुवर्ण द्वार नबनाएकाले केही स्कुप नपाइरहेका थिए मिडियाहरू। न त गृहमन्त्रीले यसपटक ठमेलमा भोग बन्द गरेर न्युज बन्ने कामै गरे। अचानक काभ्रे काण्डले स्कुप आयो। त्यसै त बुहारी भटमास खाएकी भनेजस्तै मिडियाले हिरो रमेशलाई सुपर हिरो बनाएर भटमास खुवाएर वामदेवको नामलाई बदनामको दुर्गन्धमय बनाइदिइहाल्यो।

वामदेवमाथि दशा लगाउन सकेपछि रमेश खरेललाई कसले छुने? आफ्नै पूर्व सिनियर रमेश श्रेष्ठहरूलाई बेज्जत गरेको खबर मिडियामा तत्कालै पास गर्दै आदर्शवादी महानायक बन्दै गएका रमेश खरेललाई आफ्नो प्रिन्स साइजलाई किङ साइज बनाउने अवसर जु:यो। यता दशा लागेका वामदेवविरुद्ध सारा देश उठेजस्तो भयो। अखबारमा लेखहरू, पाठक प्रतिक्रियाहरू, फेसबुक, ट्विटहरूमा जताततै रमेशको महानता र वामदेवको निचताको महाभारत सिरियल नै छापिन थाल्यो। फेसबुक र ट्विटहरूमा त अश्लील, फोहरी विशेषणले समेत वामदेवलाई माल्यार्पण गर्न थालिएको खबर पनि मिडियाले ततायो।

तर दिन सबैको कहाँ उस्तै हुन्छ र? सुर्जे भगवान्लाई त जाबो चन्द्रले छेकेर ग्रहण लगाई कालाम्य बनाइदिन्छ भने एसएसपी रमेश खरेल त को हुन् र? उत्ताउलो गाईलाई बाघले खाई जस्तै भई त हाल्यो, जब रमेशले ठोके, 'सुन, सुन हाम्रा एआईजीहरू ब्रिफकेस बोकेर बढुवाका लागि शक्तिकेन्द्र अर्थात् वाममन्दिर धाउँदै हिँडिरहेका छन्।' ढुंगो खोज्दा देवता मिल्यो। कुचो लगाउनुपर्ने कसिंगरलाई हावाले बढार्‍यो। यसपछिको कथा सरल छ। वामदेवले आफ्ना लागि बन्द हनुमानको ढोका खोल्ने औसर भेटे। उपत्यका कब्जामा आयो। हेक्वा खिच्ने, छानबिन गर्ने, सबै कार्य भए। तर निर्वाचन आयोगले सरुवा गर्न दिएन। र बिदा बसे रमेश। चुनाउको घोषणा भएपछि अर्कै व्यक्ति पुलिस हाकिम हुनै पाउँदैन। अर्थात् बिदा रोकिने नजिर छ।

केही समयअघि रमेशकै थातथलो काभ्रेमै आफ्ना डन्डा र झन्डाहरूका बीचमा गृहमन्त्रीले प्वाक्क बोलिहाले, 'त्यो रमेशे को हो? घरमा आइज भन्दा पनि आउँदैन। म गृहमन्त्री ठूलो कि त्यो जाबो एसएसपी ठूलो?
वामदेव र रमेशको प्रेमकथाको आफ्नै चर्चा र महत्त्व होला, तर रमेश खरेलले खुलारूपमा र पछि छानबिनमा समेत अप्रत्यक्षरूपमा गृहमन्त्री तथा मन्त्रालय र बोर्डलाई नै ब्रिफकेस ग्रहणकर्ताका रूपमा औंला ठड्याइसकेका छन्। सिस्टम नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा खुलेआम पुलिस अफिसर स्वयंले पर्दाफास गरेपछि किन मौन छ सरकार? के नसुने झैं गरिरहेका छन् कांग्रेस र एमालेले? प्रधानमन्त्री र मुख्य सचिवमाथि यसको दायित्व स्वत: पर्छ कि पर्दैन? रमेशमाथिको छानबिन विभागीय हो। उसले गल्ती गरेको हो भने त्यो एक व्यक्तिको हो। चिन्ताजनक कुरा होइन। तर उसले गरेको उद्घोषण भने एक व्यक्ति वा एक घटनामा सीमित हुन सक्दैन। यो लोकतन्त्र नै लिक बाहिर विध्वंसतर्फ उन्मुखताको उदाहरण हो। झन् आरोपित अधिकृतहरूलाई नै चोचामोचो मिलाई हाकाहाकी बढुवा गरेर यी हेर भनेर सब देखाइसकियो।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar