Headlines News :
fb
Home » » गणेश थापाले झन्डै दुई करोडमा भोट बेचेको आरोप

गणेश थापाले झन्डै दुई करोडमा भोट बेचेको आरोप

काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको अर्को आरोप लागेको छ।

कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड ८२ लाख ५४ हजार दुई सय ७३ रुपैयाँ दिएको बेलायती अखबार सन्डे टाइम्सले जनाएको छ। दक्षिण अफ्रिकामा सन् २०१० को विश्वकप फुटबल सुरु हुनुअघि त्यसका लागि मतदान भएको थियो।

मतदानमा अफ्रिकी र दक्षिण एसियाली मुलुकका फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दाबी सन्डे टाइम्सले गरेको छ। सन्डे टाइम्सको आइतबार प्रकाशित विशेष रिपोर्टमा हमामले थापालाई सन् २०१० को मार्च र अगस्टमा उक्त रकम उपलब्ध गराएको उल्लेख छ।

कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड ८२ लाख ५४ हजार दुई सय ७३ रुपैयाँ दिएको खुलासा।
त्यतिबेला हमामबाट आर्थिक लाभ लिनेमा दक्षिण एसियाली राष्ट्रका अन्य फुटबल पदाधिकारी पनि रहेको समाचारमा उल्लेख छ। समाचारअनुसार हमामले ब्याङ्किङ कारोबार गर्ने 'केम्पो कम्पनी' मार्फत सम्बन्धित व्यक्तिको खातामा उक्त रकम पठाएका थिए। सन् २०१० मा थापा दक्षिण एसियाली फुटबल महासंघको अध्यक्ष थिए।

हमामले दक्षिण एसियामा बंगलादेशलाई २५ हजार, पाकिस्तानलाई १५ हजार र अफगास्तिानलाई ४० हजार पाउन्ड दिएको दाबी अखबारले गरेको छ। एएफसीका उपाध्यक्षसमेत रहेका थापा ६४ औं फिफा कंग्रेसमा भाग लिन शुक्रबार ब्राजिल गएकाले उनीसँग सम्पर्क हुन सकेन।

दुई वर्षअघि पनि एन्फा अध्यक्ष थापाका छोरा गौरव थापालाई हमामले एक लाख अमेरिकी डलर दिएको समाचार सार्वजनिक भएको थियो। त्यतिबेला एन्फा अध्यक्ष थापाले हमाम र गौरवको व्यक्तिगत लेनदेन भएको दाबी गरेका थिए। गौरवले व्यक्तिगत ऋणस्वरूप सन् २००९ को जुलाईमा दुईपटक गरी हमामसँग पैसा लिएको र त्यो ऋण चुक्ता गरिसकेको दाबी थापाले गरेका थिए।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar