२६ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका गाविस मिलाएर कम्तीमा १३ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षदेखि नै ती नगरपालिका कार्यान्वयनमा ल्याउने सरकारको योजना छ । उपत्यकालाई गाविसबिहीन बनाई ‘मेट्रोसिटी’का रुपमा विकास गर्ने अवधारणाअनुसार थप नगरपालिका घोषणा गर्न लागिएको हो । हाल काठमाडौंमा महानगरपालिकासहित दुई, भक्तपुरमा दुई र ललितपुरमा एक उपमहानगरपालिका गरी उपत्यकामा पाँच नगरपालिका रहेको राजधानी दैनिकमा खबर छ ।नगर क्षेत्र निर्धारण सिफारिस समितिका अध्यक्ष केशवानन्द गिरीले ललितपुर जिविसले दुईओटा नयाँ नगरपालिकाको नाम सिफारिस गरेको तथा काठमाडौं र भक्तपुरले पनि छलफल गरिरहेको बताए । ‘काठमाडौं र भक्तपुरले पनि २७ जेठभित्रै निर्णय गर्नेगरी सिफारिस गर्नेछन्,’ गिरीले भने, ‘त्यसपछि हामीले नगरपालिका बन्न योग्य भए/नभएको मापदण्डअनुसार निक्र्योल गरी सरकारलाई सिफारिस गर्नेछौं ।’ सरकारले गत २५ वैशाखमा ७२ ओटा नगरपालिका थप गरेको थियो । सोही दिन उसले देशभरका अन्य गाविसलाई पनि मिलाएर नयाँ नगरपालिका बनाउन गिरीको अध्यक्षतामा समिति गठन गरेको थियो ।
