Headlines News :
fb
Home » » मन परेकीलाई जबर्जस्ती सिन्दुर हालेपछि...

मन परेकीलाई जबर्जस्ती सिन्दुर हालेपछि...

बझाङ : चौधारी ५ का अर्जुन खातीले गाउँमा चल्दै आएको चलनअनुसार आफूलाई मन परेकी सोही गाविस ४ की सूर्यकलाकुमारी रावललाई जबर्जस्ती तानेर बिहे गर्ने प्रयासमात्र गरेनन्, गोठसम्म पुर्‍याएर सिउँदोमा सिन्दुर पनि हालिदिए। उनको योजना थियो- गोठमै भए पनि सिन्दुर हालेपछि खसी काटेर भोज गर्ने। तर पढ्दै गरेकी सूर्यकला सचेत भएका कारण अर्जुनले भोज गर्ने योजना पूरा गर्न पाएनन्।

उमेर पुगेका युवक र युवतीबीच
मन मिलेर सहमति भएमा परिवारले नमाने पनि बिहे गर्न रोकटोक हुन्न। तर सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भने केटा पक्षलाई कुनै युवती मन परे जबर्जस्ती तानेर बिहे गर्ने चलन अझै कायमै छ। अहिले पनि बझाङका लेकगाउँ, छान्ना, दौलीचौरलगायत दुर्गम गाउँमा युवतीलाई जबर्जस्ती तानेरै बिहे गर्ने चलन छ।

यसैको पछिल्लो शृंखला हो- अर्जुनको बिहे गर्ने प्रयास। उनले सोमबार मोरीबगरबाट घरतर्फ एक्लै जाँदै गरेकी सूर्यकलालाई बीच बाटोबाटै जबर्जस्ती तानेर बिहे गर्न स्थानीय महेश खातीलगायत साथीको सहयोग पनि मागेका थिए।

अर्जुनले आधा बाटोसम्म तानेर लगे पनि सूर्यकलाले बिहे गर्न अस्वीकार गरेपछि बिहीबार घटना सार्वजनिक भएको हो। गाउँमा चल्दै आएको चलनअनुसार केटाले मन पराएकी केटीलाई तानेर घरमा लगी सिन्दुर हालेपछि बाध्य भएर केटीले बिहे स्वीकार्नु पर्थ्यो।

युवतीले बिहे गर्न नमानेपछि अर्जुनले साथीहरूको सहयोग लिएर जबर्जस्ती तान्दै भैंसी गोठसम्म पुर्‍याएर सिउँदोमा सिन्दुर भरेका थिए। जबर्जस्ती तान्दा सूर्यकलाका लुगासमेत च्यातिएका छन्। सूर्यकला गाउँकै स्कुलमा पढिरहेकी छन्।

सूर्यकला र उनका अभिभावक अर्जुनसँग बिहे गर्न राजी थिएनन्। त्यसैले सिन्दुर हालेपछि लाजले पनि सूर्यकलाले बिहे स्वीकार्ने अर्जुनलाई लागेको थियो। तर सूर्यकलाले गाउँमै पहिलोपटक यस्तो चलनविरुद्ध विद्रोह गरिन् र जबर्जस्ती तान्ने अर्जुनविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालयसम्म पुगिन्।

जबर्जस्ती तान्न थालेपछि सूर्यकला चिच्याउँदा उनकी आमाले देखेपछि केटाहरूको समूह भागेको थियो। सूर्यकलाले बिहीबार सदरमुकाम चैनपुर आएर जबरजस्ती विवाह गर्न खोजेको र कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। जबर्जस्ती तान्दा उनको शरीरमा घाउ पनि लागेको छ। उनलाई उपचार गर्न मंगलबार जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा सूर्यकलाले भनिन्, 'मेरो विचारविपरीत जबर्जस्ती विवाह गर्नु खोज्नु गैरकानुनी हो। यसमा संलग्नलाई कानुनी कारबाही हुनुपर्छ।'

मटेला प्रहरीचौकीका इन्चार्ज काशीनाथले घटना भएकै दिन राति सूर्यकलाले फोनबाट जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको बताए। उनले भने, 'प्रहरी चौधारी गएका छन्। अभियुक्त फेला परेका छैनन्।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar