चीनमा एक महिलाले ट्राफिक नियम लागू गराउन सडकमा तैनाथ एक प्रहरी अधिकारीलाई सडकमै भकुरेकी छिन् ।गलत ठाउँमा पार्क गरेपछि पूर्जी काट्न खोज्ने प्रहरीलाई ती महिलाले अस्पताल नै भर्ना हुने गरी भकुरेपछि उनले गरेको नौटंकी झनै अचम्मलाग्दो छ ।
दक्षिणी चीनको हेइकु शहरमा गलत ठाउँमा कार पार्क गरेको भेटिएपछि प्रहरीले चिट काटेको थियो । कारको चालक सिटमा बसिरहेकी ती महिलाले ओर्लिएर ट्राफिक प्रहरीलाई थप्पड बर्षाइन् । उनको कुटपिटका कारण घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ ।
तर, कुटपिटपछि आएका सहायताकर्मीहरुलाई निउ टुआन नाम गरेकी ती ३५ बषिर्य महिलाले दुई जना पुलिसले आफूमाथि आक्रमण गरेको आरोप लगाइन् । उनलाई तत्काल प्रहरी स्टेशन लगियो । निकै भावुक उनले आफू पीडित भएको भन्दै प्रहरी अधिकारीहरुलाई भ्रममा पार्ने प्रयास गरिन् ।
तर, घटनाका एक प्रत्यक्षदर्शीले खिचेका तस्वीरहरु प्रहरीलाई उपलब्ध गराउनुका साथै इन्टरनेटमा सार्वजनिक गरिदिए । जसमा पीडित भनिएकी महिलाले प्रहरीको अनुहारमा लगातार मुक्का र थप्पड हानेको देखिन्छ ।
प्रहरीले जब ती तस्वीरहरु देखायो, निउ टुआनले आसु झार्दै गल्ती स्वीकार गरिन् । उनले चिट काटेपछि दबावमा आएको बताएकी छन् ।
