काठमाडौं,बैशाख २४ गते ।
जापानको परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा चार सदस्यीय उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउनुहुने भएको छ । राष्ट्रपति डा रामवरण यादव र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्ता भने निर्धारण भइसकेको छैन ।
दुईदिने भ्रमणका क्रममा उहाँले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी दूतावासले हिज अपराह्न जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, उक्त दूतावासले भेटवार्ता गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छैन । जापानी प्रतिनिधिमण्डलले भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्र र जापानको अनुदान सहयोगमा निर्मित काठमाडौं–भक्तपुर सडकको निरीक्षण गर्नेछ । उक्त सडक जापानी सहयोगमा सन् १९८७ र २०१० मा निर्माण गरिएको हो ।
‘नेपालको विकास प्रयासमा जापान सरकार र त्यहाँका जनता सघाउन तयार छन् र त्यसले दुई मुलुकबीच विद्यमान मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई भविष्यमा अझ सुदृढ तुल्याउने विश्वास गरेका छौं,’–विज्ञप्तिमा भनिएको छ । रासस