Headlines News :
fb
Home » » चिनीबाट कति फाइदा कति हानी ?

चिनीबाट कति फाइदा कति हानी ?

डा. अरुणा उप्रेती
धेरै प्रकारका चिनी हाम्रो खानाबाट प्राप्त गर्न सकिन्छ जस्तै ग्लुकोज । जसलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्दछौं ।
ग्लुकोज एक शक्तिदायक चीज हो जुन प्रायः सबै फलफूल र तरकारीहरूमा पाइन्छ । ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ । फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलहरूमा पाइन्छ । ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ जसले मोटोपना हुन पाउँदैन । उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ । माल्टोज नामक ग्लुकोज गहुँबाट उत्पादित हुन्छ ।
ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्दछ, त्यसैले यसलाई शुद्ध क्यालोरी पनि भनिन्छ । अन्य पदार्थहरूजस्तो यसलाई पचाउनका लागि धेरै समय आवश्यक पर्दैन । यो तत्कालै पच्छ र रगतमा जान्छ र अत्यन्त कम समयमा यसले शक्ति प्रदान गर्दछ । शुद्धीकरण गरेर उत्पादन गरिएको चिनी बाहेक अन्य वस्तुहरूले पनि ग्लुकोज प्रदान गर्दछन्, जस्तैः टुसायुक्त खाना, गेडागुडी, सागसब्जी, दूध, बदाम, फलफूल, काजू, किसमिस आदि ।
हामीले तरबुजा, मौसम, सुन्तला, कागती, अङ्गूरका साथै हरियो तरकारी सिमी, केराउ, सलगम, सुन्तला, आरू, भुइँकटहर आदिबाट पनि शरीरलाई चाहिने शक्ति पाउँछौं । शक्ति प्राप्त गर्न हामीले बजारबाट अनेकथरीका नाम भएका ग्लुकोज किनेर खुवाउँछौं । यो पैसा खेरा फाल्नु मात्र हो, लाभ भने हुँदैन ।
चिनी कति फाइदा कति हानी ?
चिनीको रासायनिक नाम सुक्रोज हो । यसलाई मन्द सेतो विष भनिन्छ । अहिले त यसलाई सेतो मृत्यु पनि भनिन्छ । यो एकदम क्यालोरीयुक्त हुन्छ र यसमा शरीरलाई चाहिने खनिज पदार्थ, भिटामिन र लवणको एक अंश पनि हुँदैन । प्रकृतिले हामीलाई ग्लुकोजको मात्रा अन्य धेरै प्राकृतिक वस्तुहरूबाट प्रदान गरिरहेको छ । त्यसैले विभिन्न गुलिया मिठाईहरू हामीले खानु आवश्यक छैन । यो त शरीरलाई भन्दा जिब्रोको स्वादका लागि खाइने कुरा हुन् ।
चिनीबारे केही जानकारी
मह, चिनीजन्य खाद्यपदार्थ र उखुको रसबाट ग्लुकोज प्राप्त गर्न सकिन्छ । तर, ती सामान्य अर्थात् थोरै मात्रामा मात्रै खान योग्य छन् ।
मिठाई, बोतल वा टिनको बट्टामा बन्द पेय पदार्थ या जाम–जेली, कुनै पनि खाले चिनीयुक्त खानाले शरीरलाई फाइदा गर्दैन ।
किसानहरूले आफ्नो पशुपंक्षी हुर्काउनका लागि पोषणयुक्त खाना खुवाउँछन् तर तिनीहरूले कहिल्यै पनि चिनी खुवाउँदैनन् । किनभने चिनी पशुपंक्षीका लागि हानिकारक हुन्छ ।
पशुपंक्षीलाई बेफाइदा हुने कुरा मानवलाई कसरी फाइदा हुन्छ त ?
हामीले चिनी प्रयोग गरेनौं भने हामीलाई शक्ति कसरी प्राप्त हुन्छ भनेर धेरैले प्रश्न गर्लान् तर, हामीले यो तथ्य बिर्सिन हुँदैन कि चिनी त हालसालै उत्पन्न भएको हो । जब कि परापूर्वकालका मानिसहरूले हामीभन्दा धेरै काम गर्दथे ।
सूर्योदयदेखि सूर्यास्तसम्म लगातार शारीरिक परिश्रम गर्दथे । त्यतिखेर चिनी थिएन । त्यतिखेर पनि तिनीहरूले शक्ति प्राप्त गर्दथे । उनीहरूले प्राकृतिक रूपमा पाइने फलपफूलबाट नै शरीरलाई चाहिने शक्ति पाउँथे र स्वस्थ भएर बाँच्थे ।
चिनीबाट हुने स्पष्ट हानीहरूः–
दाँत कुहिने:
प्रत्येक दन्त विशेषज्ञ सम्बद्ध संस्थाहरूले यो तथ्य पत्ता लगाइसकेका छन् कि चिनी दाँतको प्रमुख शत्रु हो । दन्त विशेषज्ञहरूले धेरै मात्रामा गुलियो खानेकुरा नखान सल्लाह दिन्छन् ।
दन्तमञ्जन निर्माताहरूले गुलियो खानेकुराबाट बालबच्चालाई टाढा राख्नुपर्छ भन्ने चेतना जागरण गर्ने अभियान पनि चलाइरहेका छन् । यसले दन्त स्वास्थ्यमा गुलियो खानेकुराले पार्ने असरलाई सङ्केत गर्दछ ।
क्याल्सियम–फोस्फोरसको सन्तुलनः
चिनीले शरीर र रगतमा क्याल्सियम र फोस्फोरसको सन्तुलन बिगारिदिन्छ । चिनी शरीरमा बढी हुँदा क्याल्सियमको अनुपात घट्न जान्छ र रोग पैदा हुने कारण बन्दछ । यसरी पैदा हुने रोगमा जोर्नीहरू दुख्ने, हाड कमजोर हुने र  विषालु पदार्थहरू थुप्रिएर हुने अनेक रोगहरू पर्दछन् ।
भिटामिन बीको कमी:
चिनीमा कुनै पनि भिटामिन हुँदैन, तर यसलाई पचाउन भने भिटामिन बी कम्प्लेक्स चाहिन्छ । यो पचाउनकै लागि शरीरको अर्को भागबाट भिटामिन लिनुपर्ने हुन्छ वा अरू खाद्य पदार्थबाट प्राप्त गर्नुपर्ने हुन्छ । यसले स्वाभाविक रूपमा नै शरीरमा भिटामिन बी कम्प्लेक्सको कमी गराउँदछ ।
यसको नतिजा छाला तथा मुखमा समस्या देखिने, कब्जियत हुने, मुटुमा समस्या आउने, ठूलो आन्द्राको पाचन प्रक्रियामा गडबडी तथा स्नायु प्रणालीमा समस्या देखिन्छन् ।
नोटः
मानिसले चिनी बढ्दो मात्रामा खपत गर्ने गर्दछन् । बढी खपत गरे बापत प्राकृतिक नियमविरुद्ध रोगको रूपमा सजाय भोग्नु पर्दछ । प्रश्न उठ्न सक्छ, स्वास्थ्यका बारेमा राम्रो जानकारी राख्ने डाक्टरहरूले पनि यसको राम्रै उपभोग गर्छन् भने कसरी यो अहितकारक हुनसक्छ ? जान्नेले प्रयोग गर्दैमा अहितकर नहुने होइन ।
डाक्टर, अनुसन्धानकर्ता तथा अन्य खालका जानकार व्यक्तिहरूले धूमपान खराब छ भन्ने थाहा नपाएर उपभोग गरेका होइनन्, स्वास्थ्यप्रति बेवास्ता गरेकाले हो । चिनीको खपत पनि यही कारणले बढेको हो ।
चिनीले स्वास्थ्यमा के–कस्तो असर गर्छ भन्ने कुरा चिनी कम वा बढी खपत गरेर हेरौं । चिनीको खपत घटाएर त हेरौं, उपभोग घट्दा स्वास्थ्य स्थितिमा के–कस्तो असर पर्छ ? थाहा भई नै हाल्छ ।
चिनीले भिटामिन र क्याल्सियमको चोरी गर्छ
प्रशोधन गरिएको खानेकुराले शरीरको भिटामिन र लवणको चोरी गर्छ, अभाव गराउ“छ । गरीबले खाने भोजन सस्तो हुन्छ, उसले प्रशोधन गरिएको खाना खान सक्दैन । प्रशोधन नभएको खाना प्राकृतिक हुन्छ, स्वास्थ्यकर हुन्छ । तर, धनीले खाने खाना प्रशोधित हुन्छ, तयार गर्ने क्रममा मानिसले धेरै हस्तक्षेप गरेको हुन्छ ।
धेरै चिनी मिसाउँदा नून थप्छ, बोक्रा, गुदी छुट्याउँछ फ्याँक्छ, नकुहिने कुरा राखेर बट्टाबन्दी गर्छ । यो क्रममा या त हामीले अहितकर कुरा थपेका हुन्छौं वा पकाउने क्रममा राम्रा कुरा जलाउँछौं वा फ्याक्छौं  त्यसैले विडम्बना के देखिन्छ भने गरीबले पोषणयुक्त र धनीले असन्तुलित भोजन खाने गर्छन् ।
प्रशोधन गर्ने वा शुद्ध पार्ने क्रममा खानेकुरामा रहने भिटामिन तथा लवण धेरै नै खेर फालिन्छ । प्रशोधित रूपमा चिनी प्रयोग हुने मिठाई, सिरप, शर्बत, जाम, जेली, क्याण्डी, टफी, चकलेट जस्ता खानेकुरा मीठो र राम्रो बनाउने क्रममा शरीरका लागि उपयोगी तत्व खेर फालिएको हुन्छ ।
यसरी फालिने वस्तुहरूमा भिटामिन बी कम्प्लेक्स तथा क्याल्सियम हो । प्रशोधित चिनीमा यी दुई कुरा नरहने तर, पाचन प्रक्रियाका लागि भने आवश्यक हुन्छन् । अतः चिनी पचाउन शरीरमा पहिलेदेखि नै रहेका यी दुई कुराको खर्च हुन जान्छ । यो हुनु भनेको शरीरमा असन्तुलन सिर्जना हुनु हो ।
प्रोटिन, भिटामिन तथा लवणको कमी
हाम्रो पेटको क्षमता सीमित हुन्छ । त्यसैले जब हामी चिनीयुक्त खाना धेरै खान्छौं त्यसबेला प्रोटिन, भिटामिन तथा लवणयुक्त खानाको लागि पेटमा ठाउँ रहँदैन । फेरि चिनीयुक्त खानामा मन बस्न जा“दा अरू खानाप्रति कम रुचि हुन्छ । उदाहरणार्थ मिठाई, सिरप, चकलेट, आइसक्रीम खान खोज्नेले दालभात, फलफूल, सलाद नखाने वा कम खाने हुन्छन् ।
यो अर्को किसिमले पर्न जाने नकारात्मक असर हो । प्रशोधित चिनीयुक्त एवं रेशादार कम हुने खानाको उपयोग जति बढ्छ, उति नै मुटुको समस्या थपि“दै जान्छ ।
(डा. उप्रेतीको पुस्तक आफ्नो स्वास्थ्य आफ्नै हातबाट)
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar