Headlines News :
fb
Home » » घर नफर्किंदै सम्बन्धविच्छेद, वैदेशिक रोजगारका पीडा

घर नफर्किंदै सम्बन्धविच्छेद, वैदेशिक रोजगारका पीडा

डडेलधुरा, जेष्ठ ४ -  'म त हिँडे अब मलाई फोन नगर्नु, पाप, धर्म जे होला आफैं भोग्छु,' धर्मबहादुर रोकायाले मोबाइलमा आएको पत्नी राधाको यस्तो एसएमएस पत्याउन सकेनन् । ३ वर्षअघि अभिभावकसँग विद्रोह गरी प्रेमविवाह गरेका उनले हुनेखाने घरकी छोरीले यसो गर्लिन् भन्ने कल्पना पनि गरेका थिएनन् । रोजगारीका लागि विदेश जाँदा जिल्लाको दुर्गम गाउँ जोगबुढाबाट उनकी पत्नी विमानस्थलसम्म काठमाडौं पुगेकी थिइन् । 'विदेश पुगेपछि धेरैले घर बिर्सिन्छन्, त्यसो गर्‍यौ भने म आत्महत्या गर्छु,' विमानस्थलमा राधाले आँसु पुछ्दै भनेका शब्द उनी झलझली सम्भिmन्छन् । घर नफर्किंदै उनका सपना चकनाचुर भए । कम्पनीमा काम गरिरहँदा पत्नीले पठाएको एसएमएस पढेपछि उनी मूर्छित भए ।

आलीताल ३ का बलराम धामी पनि यस्तै नियतिको सिकार भए । १ छोरीका बाबु उनले रोजगारीका लागि मलेसिया पुगेको २ वर्षमै पत्नी गाउँकै काका नाता पर्नेसँग बेपत्ता भएको खबर उनले पाए । बेलापुरका नरेन्द्र ऐरले पनि रोजगारीका लागि कतार पुगेको २ वर्षपछि पत्नी अर्कैसँग गएको र आफन्तले जारीसमेत बुझेको खबर पाए । मणिलेकका दलबहादुर कामीलाई पत्नी आफैंले फोन गरेर दोस्रो विवाह गरेको जानकारी दिइन् । 'लाउँला र खाउँला बाचाबन्धन गराएर बिदेसिनुपर्छ, आउँदा न सम्पत्ति हुन्छ, न परिवार,' रोकायाले भने ।

जिल्ला प्रहरी प्रमुख डीएसपी भोजदेव खतिवडाको भनाइमा यी उदाहरणमात्र हुन्, बिदेसिएका कतिपय पति/पत्नीका समस्याबारे दिनैपिच्छे उजुरी/जानकारी आउने गरेका छन् । 'पतिले कमाएर पठाउने पैसा र छोराछोरी सदरमुकाममा पढाउने निहुँमा गाउँ छाडेपछि यस्ता घटनामा अचानक वृद्धि भएको छ,' खतिवडाले भने, 'बिदेसिएकाहरू घर फर्किंदा न कमाएको धन नै पाउँछन् न पत्नी नै ।' प्रहरीले यस्ता घटनामा मिलापत्र गराउने, समाजका मान्छे र अभिभावक राखेर दुवै पक्षलाई परिवार विखण्डन हुन नदिन दबाब दिने र नमिले मात्र अदालत पठाउने गरेको उनले बताए ।

विदेशमै पत्नीसँग सम्बन्ध टुटेको खबर सुन्ने युवाको बढ्दै गएको छ । '३ महिनायता यस्ता डेढ दर्जन घटना सार्वजनिक भएका छन्,' कानुनी सहायता परियोजना डडेलधुराका अधिवक्ता नरेन्द्र रोकायाले भने, 'वैदेशिक रोजगारमा गएका युवाका परिवारले सम्बन्धविच्छेद चाहेका घटना त ६ दर्जन नाघेका छन् ।'

जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेदका ४२ वटा मुद्दा दर्ता भएका छन् । अदालतसम्म नपुगी कानुनी सहायता परियोजनाको मध्यस्थतामा मिलापत्र गर्नेको संख्या अझै ठूलो छ । अधिवक्ता रोकायाका अनुसार ८ महिनायता ६२ वटा मुद्दा आएका छन्, पति विदेशमै छँदा अर्कैसँग बिहे गर्ने र पति फर्केपछि सम्बन्धविच्छेद चाहने दुवैखाले घटना

छन् । 'महिलाका लागि कानुनी सहजता, चेतना वृद्धि र सम्पत्तिमा महिलाको पूर्ण अधिकार स्थापित भएका कारण सम्बन्धविच्छेद माग्नेको संख्या उल्लेख्य भएको हो,' उनले भने । उनका अनुसार केही समययता सम्बन्धविच्छेद माग्ने महिलाको संख्या बढेको छ । घरेलु हिंसा र अनैतिक यौन सम्बन्ध त्यसका मुख्य कारण हुन् । 'पुरुषले सम्बन्धविच्छेद मागेका कमै मुद्दा छन्,' रोकायाले भने, 'ग्रामीण क्षेत्रका महिलामाथि हुने पारिवारिक हिंसाले पनि सम्बन्धविच्छेद बढेको

हो । सम्बन्धविच्छेद माग्ने चेतना भएका

महिला अदालत पुग्छन्, नसक्नेहरू लोग्ने हुँदाहुँदै अर्कैसँग भाग्छन् । चर्को हिंसामा परेका महिलाले आत्महत्यासमेत गरेका घटना छन् । 'मुलुकी ऐनको संशोधनपछि महिलालाई प्रदान गरिएको असीमित अधिकार पनि सम्बन्धविच्छेद बढ्नुको मुख्य कारण हो,' डडेलधुरा बारका पूर्वअध्यक्ष युवराज जोशी भन्छन्, 'सामाजिक र पारिवारिक संरचना नै खल्बलिने गरी अधिकारको प्रयोग उचित देखिएको छैन ।' उनका अनुसार स-साना पारिवारिक झगडामा पनि सम्बन्धविच्छेदका मुद्दा आउन थालेका छन् । सञ्चारको विकास, आधुनिक तडकभडक र यौन असन्तुष्टिले यस्ता घटनामा वृद्धि भएको प्रहरीको ठम्याइ छ । डीएसपी खतिवडा भन्छन्, 'सहरी क्षेत्रमा सुनिने यस्ता घटना गाउँमा पनि सामान्य बन्न थालेका छन् ।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar