Headlines News :
fb
Home » » केमा व्यस्त छन् नेतापत्नी ?

केमा व्यस्त छन् नेतापत्नी ?

नारी सशक्तीकरणको मुद्दा कसले बढी चर्को स्वरमा उठाउने भन्ने विषयमा राजनीतिक दलका नेताबीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । हरेक भाषणमा उनीहरुले नारी सशक्तिकरणको सवाल उठाउन चुक्दैनन् । तर, यस्तो भाषण गर्नेमध्ये अधिकांश नेताले आफ्ना पत्नीलाई घर गृहस्थीमा सीमित राखेका छन् । >

नेपाली कांग्रेसका अधिकांश शीर्षस्थ नेताका पत्नी गृहणी छन् । कोही व्यवसायमा संलग्न भए पनि उनीहरुले श्रीमानको सहयोगीको भन्दा माथिल्लो हैसियत बनाउन सकेका छैनन् ।

पार्टीमा कार्यवाहक सभापति पाउनुपर्ने दाबी गरिरहेका रामचन्द्र पौडेलकी पत्नी सविता पौडल हुन् । उनी साधारण लेखपढ गर्न सक्छिन् । सधै शक्तिका वरिपरि रहेका पौडेल पत्नीको राजनीतिक भूमिका भने केही छैन । विशुद्ध गृहणी जीवन बिताइरहेकी छिन् उनी ।

कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको श्रीमती पढे लेखेकी क्षमतावान महिलामा गनिन्छिन् । भारतको पन्जाब विश्वविद्यालयबाट साइकोलोजीमा पिएचडी गरेकी देउवापत्नी संविधानसभामा समानुपातिकतर्फबाट सभासद् थिइन् । तर, पार्टीमा उनको खासै जिम्मेवारी छैन । साथी नामक संस्थाको संस्थापक अध्यक्ष रहेकी देउवा समानता इन्स्टिच्युट को निर्देशक र रुलर वुमन डेभलपमेन्ट एण्ड युनिटी सेन्टरकी अध्यक्ष छिन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत विदेशी रकम भित्र्याउनेमध्ये गनिएकी देउवापत्नीले श्रीमानलाई आर्थिक सहयोग गर्ने गर्छिन् ।

कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंह गृहणी हुन् । पार्टीमा उनको खासै भूमिका छैन । पार्टीमा सासू मंगलादेवी सिंहको भूमिका उनलाई हस्तान्तरण गर्ने चर्चा चले पनि पछि उनले अस्वीकार गरेकी थिइन् । कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाकी पत्नी कविता सिटौलाले रत्नराज्य क्याम्पसमा राजनीतिशास्त्र पढाउने गर्छिन् । उनी राजनीतिमा खासै सक्रिय छैनन् । आर्थिक स्रोतको स्थायी माध्यम नभएका महामन्त्री सिटौला उनकै कमाइबाट चल्ने गर्छन् । कांग्रेसका स्थायी अर्थमन्त्रीका रुपमा चिनिएका डा. रामशरण महतकी पत्नी रोशना महत कलेजकी अध्यापक हुन् । उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा भूगोल पढाउँछिन् ।

कांग्रेस नेता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालकी पत्नी दुर्गा रिजाल बानेश्वरस्थीत एपेक्स कलेज सञ्चालन गर्छिन् । कानुन, न्याय, संविधान तथा ंसघीय मामिलामन्त्री नरहरि आचार्यकी पत्नी शारदा शर्मा साहित्यका हुन् । कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीकी श्रीमती प्रतिमा केसी विशुद्ध गृहणी हुन् । साधरण लेखपढ गर्न जान्ने उनी पनि श्रीमान्लाई सघाउने गर्छिन् ।

एमालेका अधिकांश शीर्षस्थ नेताका पत्नी शिक्षण पेसामा आबद्ध छन् । पार्टी राजनीतिमा भने उनीहरु त्यति सक्रिय छैनन् । पार्टी अध्यक्ष झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अध्यापक हुन् । ०४७ सालदेखि अध्यापन पेसामा रहेकी उनले पाटन संयुक्त क्याम्पसमा विज्ञान पढाउँछिन् ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल राष्ट्रिय बाणिज्य बैंकमा जागिरे छिन् । अर्का वरिष्ठ नेता केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य नेपाल राष्ट्र बैंकको जागिरे थिइन । जागिरबाट अवकाश पाएकी उनी श्रीमान्लाई सघाउने गर्छिन् ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमकी पत्नी तुलसी थापामगर अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत रहेकी उनले महिला अधिकारवादी संस्था चलाउँछिन् । एमाले महासचिव ईश्वर पोखरेलकी पत्नी मीरा धुजू विद्यालयकी शिक्षिका हुन् ।

एमाले नेता भरतमोहन अधिकारीकी पत्नी सविता अधिकारी विद्यालय तहको शिक्षण पेसाबाट अवकाश पाएकी हुन् । पूर्वसञ्चारमन्त्री तथा पार्टी सचिव शंकर पोखरेलपत्नी सुजिता शाक्य अखिल नेपाल महिला संघकी सचिव हुन् । त्यस्तै पार्टीसचिव विष्णु पौडेलकी श्रमिती सपना पौडेल गृहणी हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डपत्नी सीता दाहाल गृहणी हुन् । साथै पार्टीको केन्द्रीय सल्लाहकार समेत हुन् । एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईपत्नी हिसिला यमी राष्ट्रिय स्तरमा चिनिएकी नेतृ हुन् । पार्टीमा अन्य नेताको पत्नीभन्दा उनी फरवार्ड छिन् । पार्टीको केन्द्रीय सदस्य र पूर्वमन्त्रीसमेत रहेकी यमी मेकानिकल इन्जिनियर हुन् । पार्टीका केन्द्रीय सदस्य पोष्टबहादुर बोगटीपत्नी राममाया बोगटी जिल्ला कमिटी नुवाकोटकी सदस्य छन् । सामान्य लेखपढ गरेकी उनको अधिकांश समय घर गृहस्थीमै बित्ने गर्छ ।

पार्टीका अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महरापत्नी सीता महरा पार्टी राजनीतमिा सक्रिय छैनन् । सामान्य लेखपढ गर्न जान्ने उनको पनि अधिकांश समय घर गृहस्थीमा बित्ने गर्छ । पार्टी प्रवक्ता दीनानाथ शर्मापत्नी सरला शर्मा नेवाः राज्य समितिकी सदस्य हुन् । सामान्य लेखपढ गर्न जान्ने उनको पनि अधिकांश समय घर गृहस्थीमा बित्ने गर्छ । अर्का केन्द्रीय सदस्य वर्षमान पुनकी पत्नी आनेसरी घर्ती मगर पार्टी राजनीतिमा अन्य महिलाभन्दा अघि छन् । पार्टीको केन्द्रीय सदस्य रहेकी उनी संविधानसभाको उपसभामुख हुन् । केन्द्रीय सदस्य अग्नी सापकोटाकी पत्नी तारा सापकोटा गृहणी हुन् । सामान्य लेखपढ गरेकी उनी पार्टीको साधारण सदस्य मात्रै छिन् ।

नेकपा माओवादी अध्यक्ष मोहन वैद्यकी श्रीमति सुष्मा वैद भर्खरै कक्षा १० मा पढ्दै छन् । कक्षा पाँचबाट अध्ययन सुरु गरेकी उनको अधिकांश समय घर गृहस्थीमै बित्ने गरेको छ । प्रवेशिका परीक्षासम्म अध्ययन गर्ने लक्ष्य बनाएकी उनी राजनीतिमा त्यति सक्रिय छैनन् । पार्टीका अर्का नेता रामबहादुर थापा बादलकी श्रीमति नयनकला थापा यसअघि विद्यालयकी शिक्षिका थिइन् । राष्ट्रिय महिला आयोगको अध्यक्षसमेत भइसकेकी उनीको पनि अधिकांश समय घर गृहस्थीमै बित्ने गर्छ । नयाँ पत्रिका दैनिकको आधारमा
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar