१ जेठ, काठमाडौं । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २२५८ औं जन्मजयन्तीका दिन सामाजिक सञ्जालका भित्ताभरि शान्तिका सन्देश लेखिए । नेतादेखि कलाकार, कर्मचारीदेखि पत्रकार सबैले शान्तिका सन्देश जोडतोडले घन्काए ।
सामाजिक सञ्जालका भित्ता हेर्दा देशमा हिंसाको कुनै गुञ्जायस नै नभएको र शान्ति नै शान्ति छाएको आभाष हुन्थ्यो । सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरमा देशमा जारी शान्ति प्रक्रिया दीगो भएको हेर्न चाहनेदेखि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश राख्नेहरु समेत थिए ।
बुद्ध जयन्तीका अवसरमा बुद्ध नेपालमै जन्मे पनि ज्ञान प्राप्त गर्न भने भारत गएकाले नेपालीहरु शिक्षा लिन विदेश जानुपरेको सम्म किस्सा बनाएको पाइयो ।
फेसबुकको भित्तामा लेख्ने भन्दा ट्वीटरमा ट्वीट गर्नेहरुले बुद्ध जयन्तीका अवसरमा शान्तिका सन्देशयुक्त नारा घन्काए । भारतले गौतम बुद्ध नेपालमा नजन्मेको भनी चलाएको अफवाहको पनि सामाजिक सञ्जालमा राम्रैसँग विरोध भयो ।
गौतम बुद्धबारे सिकारु नामका व्यक्तिले यसरी ट्वीट गरे-
मोदी आउन् कि सोदी, नेपाल प्राचीन युगदेखि भारतपरस्त हो । बुद्ध त उ बेलै ज्ञान लिन भन्दै भारत पुग्याथे, अनि जाबो क्यापिवली (केपी ओली) लाई के सराप्नु ।
बिर्खे जेडले बुद्ध ज्ञान प्राप्त गर्न भारततर्फ गएको प्रति ब्यंग्य गर्दै आफू पनि ज्ञान लिन विदेशतिरै लाग्ने बताउँदै यसरी ट्वीट गरेका छन्-
बुद्ध आफ्नो विचारमा अटल थिए, बुद्ध ज्ञान प्राप्त गर्न विदेशिए, त्यसैगरी बिर्खे पनि आफ्नो सोचमा अटल छ, शिक्षा प्राप्त गर्न बिदेशियो ।
दीपक कट्टेलले फेसबुकको वालमा बुद्धले बाँडेको ज्ञानको प्रशंसा गर्दै यसरी कविता लेखेका छन्-
मान्छेले घमण्ड किन गर्छ आखिर एकदिन मरेर जान्छ ।
जति फूलेर सुगन्ध छर आखिर एकदिन झरेर जान्छ ।।
आफ्नोपनको मिथ्या नाटक रच्नु व्यर्थ संसारमा ।
ढुकढुकीको एकमुठी सास आखिर एकदिन हरेर जान्छ ।।
तेरो र मेरो भन्दै कति दुख गर्छौ हे साथी ।
अन्तिमपलमा सबै दुःख आखिर एकदिन टरेर जान्छ ।।
राम दाहालले अहिलेको जमानामा ज्ञान पाउन बुद्ध भातरतर्फ गएको भए दोहोरो नागरिकता माग्ने प्रसंग निकाल्दै यसरी ट्वीट गरे-
बुद्ध जन्मेछन् नेपालमा तर ज्ञान पाउने, ज्ञान बाँढ्ने कर्म भारततिर गरेकाले बुद्ध बाँचेका भए आफूलाई एनआरएन भनेर दोहोरो नागरिकता माग्थे होलान् ?
सुमन कार्कीले फेसबुकको वालमा बुद्ध नेपालमै जन्मेकाले सरकारले विश्वभरि प्रचारमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।
पुरोहित, ….. लामा र पादरी सबैले बुद्ध जयन्तीको शुभकामना दिए । आज धार्मिक सहिष्णुताको देश नेपालमा जन्मने मान्छे आफंैमा भाग्यमानी छांै । हामी केही अपबादलाई छोडेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा घामझैं छर्लङ्ग छ । तर अलिकति कम्जोरी बैदेशिक प्रचारप्रसारमा भएको छ । अतः नेपाल सरकार र तपाई हामी स्वयम् आफ्नो ठाउँबाट त्यो कमीकम्जोरीलाई हटाउने कोशिस आजैदेखि सुरुवात गरौं ।
बुद्धको बाणीलाई भुलेर हरेक मानिस अहंकारी र हिंस्रक बनेकोतर्फ चिन्ता व्यक्त गर्दै सुर्यालिस्ट यसरी ट्वीट गर्छन्-
हरेक शब्दमा, हरेक भावमा एके-४७ को गोला बर्साउछौं, तैपनि सधैं भनिरहेका छौं, ‘बुद्ध नेपालमै जन्मेका हुन् ।’
बुद्धको महिमा वर्णन गर्दै राजकुमार दिक्पालले फेसबुकको भित्तामा लेखेका छन्-
कसको संगत गर्ने ? एक दिन भिक्षुहरुले बुद्धलाई सोधे, ‘भगवान हामीले कसको संगत गर्दा राम्रो हुन्छ ? बुद्धले भने, ‘पुरुष बुद्धको संगत गर्नू । (त्यसबेला भिक्षुणीहरुको व्यवस्था थिएन)
त्यसपछि भिक्षुहरुले फेरि बुद्धलाई भने, ‘भगवान, बुद्ध हजुरमात्रै हुनुहुन्छ, हजुर पनि धर्माेपदेशका लागि जानुहुन्छ, हामीले कसको संगत गर्ने ?
बुद्धले भने, ‘भिक्षुहरुको संगत गर्नू ।’
भिक्षुहरुले फेरि भने, ‘हामी भिक्षुहरु पनि त थोरै छौं, भिक्षाटनमा जानुपर्छ । यस्तो अवस्थामा कस्को संगत गर्ने ?’
बुद्धले भने, ‘त्यस्तो अवस्थामा जंगलको गैंडाजस्तै हुने । -गैंडा एक्लै हिँड्छ, बथानमा हुँदैन)
अर्थात खराबको संगत गर्नुभन्दा एक्लै हिँड्नु राम्रो ।’
fb