Headlines News :
fb
Home » » कालिगण्डकी जलविद्युत आयोजनामा कमसल सामग्री प्रयोग गरी लाखौं घोटाला

कालिगण्डकी जलविद्युत आयोजनामा कमसल सामग्री प्रयोग गरी लाखौं घोटाला

काठमाडौं, वैशाख १६ – कालिगण्डकी जलविद्युत आयोजना अन्र्तगत स्याङ्गजामा रहेको स्टेसनमा नियमित मर्मतका लागि आवश्यक प्राविधिक सामग्रीमा कम गुणस्तरका सामग्री प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । विगत १० वर्षदेखि कायम गरिँदै आएको गुणस्तरभन्दा कम गुणस्तरका सामग्री प्रयोग गर्ने गरी बोलपत्र आह्वान भएपछि अख्तियारमा उजुरी परेको हो । जलविद्युत आयोजनामा प्रयोग भएका विभिन्न मेसिनहरुलाई वार्षिकरुपमा नियमित मर्मत गरिन्छ । मर्मतका लागि आवश्यक सामग्री बोलपत्र आह्वान गरी खरिद गरिन्छ । यसपटक पनि कालिगण्डकी जलविद्युत आयोजनाको स्याङ्गजास्थित स्टेसनमा प्रयोग हुने टर्बाइन मर्मतका लागि आवश्यक सामग्री बोलपत्रमार्फत आह्वान गरिएको थियो । यद्यपि, विगत १० वर्षदेखि नेपाल विद्युत प्राधिकरणले आफै निर्धारण गरेको गुणस्तरलाई वेवास्ता गर्दै निकै कम गुणस्तरको सामग्रीहरु आह्वान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७०/८/२३ गते द राईजिङ नेपाल राष्ट्रिय दैनिकमा विज्ञापन गरी मेटालिक पोलिमर टाइप – १ (सिरामिक आर मेटल), मेटालिक पोलिमर टाइप–२ (सिरामिक एस मेटल) तथा इमर्सन ग्रेड पोलिमर माग गरेको थियो । तर, यसपटक यी सामग्रीहरुको गुणस्तर पहिले माग गरिएभन्दा निकै कम गुणस्तरका छन् । प्राधिकरणले माग गरेको यी सामग्रीहरुमा पहिले निर्धारण गरिएका गुणस्तरहरुमा ७ देखि ४० प्रतिशतसम्म कम क्षमता भएका सामग्रीहरु माग गरिएको छ । त्यस्तै विगतमा हरेक सामग्रीको बारेमा विवरण खुलाइनेमा यस पटक त्यस्तो गरिएको छैन । उदाहरणका लागि मेटालिक पोलिमर टाइप – १ मा यसको आयु पहिले पाँच वर्षको माग गरिए पनि अहिले आएर ३ वर्ष मात्र पुग्ने गरी माग गरिएको छ । त्यस्तै यसमा यसको कम्प्रेसिभ क्षमता पहिले १३००० पीएसआई माग गरिएकोमा अहिले ९८०० पिएसआई मात्र माग गरिएको छ । त्यसैगरी यस तŒवमा आवश्यक विभिन्न क्षमताहरुलाई नजरअन्दाज गरी बोलपत्रमा उल्लेख नै गरिएको छ । यसरी मेटालिक पोलिमर टाइप–२ (सिरामिक एस मेटल) तथा इमर्सन ग्रेड पोलिमरको पनि क्षमता कम गरी आह्वान गरिएको छ ।

हेर्नुहोस् पहिले र अहिलेको तलको तुलनात्मक तालिकाः

जलविद्युत आयोजना हेर्ने विभिन्न इन्जिनियरहरुका अनुसार आयोजनामा प्रयोग हुने टर्वाइन लगायत विभिन्न उपकरण तथा मेसिनहरुले सँधै कडा बहाव भएको पानीको सामना गर्नुपर्ने हुन्छ । यसका साथै यस्ता उपकरणहरुले बालुवा लगायतका खनिजको सामना गुर्नपर्ने भएको हुँदा जलविद्युत आयोजनामा प्रयोग हुने उपकरणहरु विशेष गुणस्तरका मात्र प्रयोग गरिन्छ । रातोपाटीसँग कुरा गर्दै एक इन्जिनियरले भने, ‘विगत १० वर्षदेखि निर्धारण हुँदै आएका सामग्रीका मापदण्डमा धेरै परिर्वतन भएको देखियो । यसले आयोजनामा जडित टर्बाइन लगायतका उपकरणमा चाँडै खिया लाग्ने तथा बिग्रने हुन्छ । यसले सामग्रीको उत्पादकत्व पनि घटाउँछ । किन यसरी गुणस्तर कम गरियो बुझ्न गाह्रो छ । पक्कै पनि त्यहाँ ठूलै चलखेल भएको हुनुपर्छ ।’

 बोलपत्र आह्वान नै शंकास्पद

नेपाल विद्युत प्राधिकरणले २०७०/८/२३ का दिन राष्ट्रिय दैनिक पत्रिकामा ३० दिनको म्याद राखी बोलपत्र आह्वान गरेपनि उक्त बोलपत्रको आवश्यक कागजात २० दिनपछि मात्र वेभसाइटमा राखिएको थियो । यसरी ढिला गरेर आवश्यक कागजात राखिनुनै शंकास्पद रहेको उक्त बोलपत्रमा सहभागी हुने एक कम्पनीले रातोपाटीलाई बतायो । ‘समय सीमा निकै कम हुनेगरी आवश्यक कागजात उपलब्ध गराइयो । त्यही भएर हतारमा हामीले बोलपत्र हाल्न बाध्य भयौं । तर, यसको गुणस्तर निकै घटाइएको थियो,’ आर्या इन्टरनेशनल कम्पनीका मेकानिकल इन्जिनियर अनुज श्रेष्ठले बताए ।

कमिशनको खेल

यसरी ७ देखि ४० प्रतिशतसम्म गुणस्तरमा कमी गरि डेभकन नामक कम्पनीलाई उक्त टेन्डर पार्न मिलेमतो भएको देखिन्छ । डेभकन कम्पनीको ब्रोसरमा भएको सामग्रीको गुणस्तर अनुसार यसपटक बोलपत्र आह्वान गरिएको थियो । अहिले त्यही कम्पनीले नै टेन्डर हात पारेको छ । यसका ठूलो कमिशनको खेल भएको आशंका गरिएको छ ।
 हेर्नुहोस्, डेभकन कम्पनीको ब्रोसरः



यसरी घोटालाको आरोप लागे पछि यस बोलपत्रसँग सम्बन्धित नेपाल विद्युत प्राधिकरणका निर्देशक सुधिर सिंह भने विगतदेखि यस ठेक्कामा धेरै कम्पनीहरुले प्रवेश पाउन नसकेपछि गुणस्तर घटाइएको बताउँदै पन्छिन थालेका छन् । कुन कम्पनीले गुणस्तर घटाउने सल्लाह दिइयो त्यो भने उनी खुलाउँदैनन् । ‘अरु कम्पनीलाई प्रवेश दिने नाममा गुणस्तरलाई नै वेवास्ता गर्नुमा कुनै तुक छैन । बरु अहिले प्रविधिको विकाससँगै आएका अझ बढी गुणस्तरका सामग्री आह्वान गरिएको भए चित्त बुझाउन सकिन्छ । तर, गुणस्तर घटाएर अन्य कम्पनीलाई प्रवेश दिनुमा नै यहाँ ठूलो चलखेलको आशंका गर्न सकिन्छ,’ यस प्रक्रियामा सहभागी एक अर्को कम्पनीको भनाई छ । कालगण्डकी ‘ए’ जलविद्युत केन्द्रले पनि विगतकै गुणस्तरका सामग्री मगाउन लिखित सल्लाह दिए पनि त्यसलाई उल्टाउँदै अहिले कम गुणस्तरका सामग्री माग गरिएको छ । करिब ४३ लाख रुपैयाँ बराबरको यस सामग्री खरिद प्रक्रियामा ठूलै चलखेल भएको आशंका गरी अहिले अख्तियारमा मुद्दा दायर भएको छ । स्रोतका अनुसार अहिले निर्देशक सिंहलाई अख्तियारले यस टेन्डर प्रक्रियाका कागजातसहित अख्तियारमा बोलाएको छ । यसरी कमसल सामग्री माग भएपछि अहिले कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको नियमित मर्मत प्रक्रिया रोकिएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar