प्रदीप ज्ञवाली, एमाले प्रचार विभाग प्रमुख
पार्टी कामको एउटा नियमित अंग हो महाधिवेशन । तर, महाधिशवेशनलाई अत्यन्तै असहज बनाउने, समयमा सम्पन्न गर्ने कुरामा अनेकौं ढंगले आनाकानी गर्ने र आइरहेका बहसहरुलाई अस्वस्थ रुप दिनेखालका प्रवृत्तिहरुबाट हामी जोगिनुपर्छ ।
महाधिवेशन पार्टी कामको नियमित अंग भएकाले हामी बहस गर्छौं, छलफल गछौर्ं । सके सहमतिमा टुंग्याउँछौं, नभए विधानका आधारमा निप्ट्यारा लगाउने लोकतान्त्रिक विधि पनि तय भएको छ । यसमा नेकपा एमाले एकदम खारिँदै अगाडि आइसकेको छ ।
नेकपा एमालेका केही राम्रा पक्षहरु छन् । एमालेलाई धेरै कुरामा आलोचना गर्नेहरुले पनि एमालेको आन्तरिक जीवनको लोकतन्त्रलाई प्रशंसा गर्छन् । एमालेको संगठनात्मक व्यवस्थापनलाई प्रशंसा गर्छन् । हामी आफैंले यो गुणलाई कमजोर गर्ने हिसाबले जानुहुँदैन ।
एमाले महाधिवशेनका चार सन्दर्भ
यो महाधिवशेनमा चारवटा विशेष सन्दर्भहरु छन्, जसले यो महाधिवेशनलाई युनिक बनाइरहेको छ ।
पहिलो, हामी लोकतन्त्र ले स्थापना गरेको गरेको परिवर्तनलाई संस्थागत गर्ने विन्दुमा छौं । हाम्रो सुझबुझपूर्ण निर्णय र नेतृत्व भयो भने यो लोकतन्त्रले जनमुखी फ्लेबर लिने छ । यसको चरित्र जनमुखी हुनेछ । यो जनताको बहुदलीय जनवादले परिकल्पना गरेको बाटो हुँदै समाजवादतिर उन्मुख हुनेछ ।
शहरमा एउटा भनाइ चर्चामा छ, अब्राहम लिंकनले डेमोक्रेसीलाई फर द पिपुल, बाइ द पिपुल, अफ द पिपुल भने । अचेल डेमोक्रेसी फर द पिपुल हैन, फार द पिपुल (जनताबाट टाढा) भएको छ । By the people होइन Buy the people (जनतालाई किन) र off the people हुने गरेको छ । यदि एमालेले बर्चस्व र श्रेष्ठता कायम नगर्ने हो भने लोकतन्त्र खोक्रो बन्छ । हामी यो एउटा साह्रै महत्वपूर्ण सन्दर्भमा छौं । एमालेको श्रेष्ठता भएन भने लोकतन्त्र खोक्रो र पुँजीपतिहरुको खल्तीमा पुग्ने अवस्थामा हामी छौं ।
दोस्रो, शक्ति सन्तुलनको दृष्टिले नेकपा एमाले धक्का खाएर त्यसबाट माथि उठेर धुलो टक्टक्याउँदै संविधानसभाभित्र हाराहारीको शक्तिको रुपम स्थापित भएको छ । तर, शक्ति सन्तुलनको कुरा गर्नुहुन्छ भने यसपालिको संविधानसभामा वामपन्थीको मत घटेको छ । यो पन अिझ काठमाडौं महानगरपालिका जस्तो, बिराटनगर, वीरगञ्जजस्ता आन्दोलनका केन्द्र भनिने ठाउँहरुमा समेत वामपन्थी मत घट्दै गएको र कतै शक्ति सन्तुलन दक्षिणपन्थी दिशातिर ढल्किने त होइन भन्ने परिप्रेक्ष्यमा हामी महाधिवेशन आयोजना गर्दैछौं ।
तेस्रो, विश्वस्तरमा हेर्ने हो भने ल्याटिन अमेरिकामा वामपन्थीहरुको उभार देखिएको छ । विश्वव्यापी आर्थिक मन्दीपछि पुँजीवाद एउटा संकटग्रस्त अवस्थामा छ । पुँजीवादको विकल्प समाजवाद हो भन्ने कुरा जबरजस्त पुष्टि भइरहेको छ ।
एशियाको सन्दर्भमा भन्ने हो भने भारतमा विस्तारै दक्षिणपन्थ बलियो हुँदै गएको छ । बंगलादेशमा वामपन्थी आन्दोलन खुम्चिँदै गएको छ । श्रीलंकामा त्यहीखालको स्थिति देखिइरहेको छ । पाकिस्तान र अफगानिस्तानको कुरै गर्नुपरेन । यो परिस्थतिमा हामीसँग केही प्रतिकूलताहरु पनि छन् ।
र, चौथो, नेपालको कम्युनिष्ट आन्दोलन टेस्टेड हुँदै आएको छ । आफ्नो स्थापनाको ६५ वर्षमा यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई शानदार ढंगले नेतृत्व गर्यो । यद्यपि ००७ सालको आन्दोलनमा कम्युनिष्ट पार्टी सहयोगी भूमिकामा थियो । ००७ सालपछि सरकारमा कम्युनिष्ट पार्टीको कहीँ पनि छाप देखिँदैन । बरु २००८ सालपछि कम्युनिष्ट पार्टी प्रतिबन्धित भयो ।
आन्दोलनमा सहयोगीमात्रै हुँदा परिवर्तनपछि कम्युनिष्ट पार्टीले कहीँ पनि सेयरिङ पाएन । तर, ०४६ सालमा आइपुग्दा हामीले आन्दोलनको सहनेताका रुपमा आफूलाई स्थापित गरेका छौं । ०६२/०६३ सम्म आइपुग्दा कम्युनिष्ट पार्टी ‘डि-फ्याक्टो’ नेताको रुपमा स्थापित भयो ।
अहिले सुरु भएको परिवर्तनको प्रक्रियालाई संस्थागत गर्दै हामीले १ वर्षभित्र संविधान जारी गर्यौं र हाम्रा एजेन्डाहरुको उपस्थितिसहितको संविधान बन्यो भने प्रजापरिषदबाट सुरु भएको नेपालको अधिकार प्राप्तिको लडाइँ एक किसिमले टुंगिन्छ । लोकतन्त्रको लडाइँ एक किसिमले टुंगिन्छ । त्यस पछाडि मुलुक आर्थिक सम्वृद्धिको कार्यदिशामा अगाडि बढ्नुपर्छ । यो सामाजिक रुपान्तरणको दिशामा अब कम्युनिष्ट पार्टी च्याम्पियन भएर अगाडि बढ्न सक्छ कि सक्दैन ?
यिनै विशेष चारवटा विषयवस्तुमा हामी अगाडि बढिरहेका छौं । यिनै सन्दर्भमा नवौं महाधिवेशनको अर्थ छ र यिनै सन्दर्भमा नवौं महाधिवेशनको अर्ध छ भन्ने मलाई लाग्छ ।
यो महाधिवेशन हो कि महाभारतको युद्ध ?
म फेरि पनि जोड दिएर भन्न चाहन्छु, महाधिवेशन नियमित पार्टी कामको एउटा अंग हो । यसले विचारको व्यवस्थापन गर्छ । यसले संगठनको व्यवस्थापन गर्छ र यसले नेतृत्वको व्यवस्थापन गर्छ ।
तर, पछिल्लो समयमा पार्टी महाधिवेशनजस्तो पार्टी जीवनको अंगलाई पनि अलिकति असहज तुल्याउने, अलिकति गहु्रंगो बनाउने र बहसलाई तिक्तता दिने कामको जुन प्रयत्न भइरहेको छ, यसो गर्नुहुँदैन । हामी सबैले यसबाट बच्नुपर्छ ।
केही साथीहरुले भन्नुभएजस्तो नेकपा एमालेको अहिलेको मुख्य लडाइँ पार्टीलाई डनवाद र धनवादबाट मुक्त गर्ने टाइपको, त्यो मुख्य शत्रुको विरुद्ध लड्नका लागि गरिएको हो महाधिवेशन ? महाधिवशेन हो कि महाभारतको युद्ध हो यो ?
यदि यो महाधिवेशन हो भने यसलाई सकारात्मक ढ्रगले, सिर्जनात्मक ढंगले लग्नुपर्छ । पार्टीभित्रका समस्याहरुलाई अतिरञ्जित गर्नु हुँदैन । कपालमा चाँया परेको छ, तर सेम्पु लगाउने कि गर्धन काट्ने ?
fb