२०७१ साउन, २७ काठमाडौं
गुल्मी पिपलधाराका भेषबहादुर जिसीले इनारभित्र खसेको चप्पल लिन जाँदा ज्यान गुमाएका छन्। मंगलबार बिहान राजधानीको बोराटारस्थित हरिभद्र घिमिरेको निर्माणधीन घर बाहिर ईनार खनिरहेका जिसी जमिनमा फर्किसकेपछि खसेको चप्पल लिन इनारभित्र छिरेका थिए।
सुरूमा बाल्टीन र डोरीको सहायताले चप्पल नआएपछि उनी भित्र छिरेका थिए। केही बेर सम्म नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर उद्धार गर्दा जिसीको मृत्यु भइसकेको जानकारी महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डिएसपी अर्जुन चन्द ठकुरीले दिए।
गुल्मी घर भएर पनि बोराटार बस्दै आएका उनी घिमिरेको घरमा लामो समयदेखि ईनार खन्ने काम गर्दै आएका थिए। प्रहरीले जिसीको शव पोष्टमार्टमका लागि महाराजगंज स्थित टिचिङ अस्पताल पठाएको छ।