Headlines News :
fb
Home » , » श्रीकृष्णको फिल्मलाई एक दिनमै एक करोड

श्रीकृष्णको फिल्मलाई एक दिनमै एक करोड

"कोहिनूर"को कीर्तिमान
काठमाडौ, भाद्र १ - फिल्म 'कोहिनूर' ले एकै दिन करोड रुपैयाँ कमाइ गरेर नेपाली रजतपटमा कीर्तिमान बनाएको छ। श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य अभिनय रहेको श्रीकृष्णद्वारा नै निर्मित 'कोहिनूर' ले शनिबार मात्रै एक करोड रुपैयाँको व्यापार गरेको हो। अघिल्लो शुक्रबार रिलिज भएको आकाश अधिकारी निर्देशित यो फिल्मको कमाइ तीन करोड पुगिसकेको छ।

यसअघि फिल्म 'नाई नभन्नु ल
२' ले नयाँ वर्षको दिन राखेको ३२ लाख रुपैयाँको 'सिंगल डे कलेक्सन' को रेकर्डलाई 'कोहिनूर' ले अत्यधिक अन्तरमा तोडेको हो। 'कोहिनूरको शनिबारको व्यापार अप्रत्यासित नै भो,' फिल्मका काठमाडौं उपत्यका वितरक सुनिल मानन्धरले कान्तिपुरसँग भने, 'उपत्यकामा मात्र एकै दिन ५७ लाखको टिकट बिक्री गरेर अर्को रेकर्ड पनि राखेको छ।' नायक तथा निर्माता श्रीकृष्णको असामयिक निधनले पनि व्यापार प्रभावित गरेको हो। साउन २३ मा रिलिज 'कोहिनूर' ले भोलिपल्ट अघिल्लो शनिबार २४ लाखको मात्रै व्यापार गरेको थियो। रिलिजको दिन उपत्यकामा साढे तीन लाख रुपैयाँ उठाएको थियो।

'अचम्मै भयो' उपत्यकाबाहिर वितरणको अधिकार लिएको एफडी कम्पनीका प्रदीप उदयले 'कोहिनूर' को शनिबारको व्यापारलाई लिएर भने, 'दर्शकले फिल्म राम्रो त भनेका छन् नै, त्योभन्दा पनि नायक श्रीकृष्णको निधनको सेन्टिमेन्टले ठूलो प्रभाव परेको छ।' होम प्रोडक्सनकै अघिल्लो फिल्म 'कहाँ भेटिएला' बाट नायिकामा आफैंले भित्र्याएकी श्वेता खड्कालाई श्रीकृष्णले 'कोहिनूर' रिलिजको एक महिनाअघि मात्रै विवाह गरेका थिए। लगत्तै गम्भीर बिरामी भएका उनको फिल्म रिलिजको दोस्रो दिनै भारतको नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भएको थियो। मलामीसमेत अत्यधिक कमाएका श्रीकृष्णले यतिबेला फिल्ममा दर्शक पनि उत्तिकै पाए।

'हलभित्र हुने दर्शकभन्दा बाहिर हेर्न नपाएर र्फकनेको संख्या धेरै छ,' उपत्यकाका हलको रिपोर्ट लिन शनिबार दिनभर घुमेका सुनिलले थपे, 'हलका कर्मचारीले खाना खानसमेत भ्याएनन्।' जमलस्थित विश्वज्योति हलले नाइट शोसम्मको टिकट मध्याह्न १२ बजेभित्रै सकिएको जनाएको थियो।

अत्यधिक भीडका कारण बिर्तामोड र दमकमा केही दर्शक घाइतेसमेत भएका थिए। शनिबार उपत्यकाबाहिर ४६ स्टेसनमा फिल्म चलेको थियो भने दर्शको भीड थेग्न नसकेपछि राजधानीका गोपीकृष्णका पाँच हल, गुणका चार, अष्टनारायणका तीन, गंगा, कलंकी, बाराही र ललित हलका दुई/दुई स्त्रिmनमा 'कोहिनूर' चलाइएको थियो। रिलिजको दिन एक शो मात्रै दिएको क्यूएफक्सले बढाएर शनिबारदेखि पाँच शो दिएको छ भने एफक्युबले तीन शो। 'देशभर कुनै हल हाउसफुल नभएको रेकर्ड छैन,' उदयले भने, 'हिन्दी फिल्म 'सिंघम रिटर्नस्' लाई हटाएर 'कोहिनूर' लगाइएको छ।'

फिल्मले शनिबार चाबहिलस्थित गोपीकृष्णका पाँच हलका तीन शो हाउसफुल हुँदा झन्डै ९ लाख, अष्टनारायणबाट ७ लाख ३१ हजार र पोखराका बाराही 'क' र 'ख' तथा विन्दवासिनी हलबाट ७ लाख रुपैयाँको बटुलेको छ।

फिल्म रिलिजको नवौं दिन पार गर्दासम्म 'कोहिनूर' ले ३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकहरूले बताए। उपत्यकाबाहिर ३४ हलमा यो फिल्मले पहिलो दिन ७ लाख रुपैयाँ कलेक्सन गरेकोमा शनिबार ४० लाख रुपैयाँ उठाएको छ।

कुनै चाडपर्व नहुँदा र बलिउडमै राम्रो ओपनिङ गरेको अजय देवगण अभिनित फिल्म 'सिंघम रिटर्नस्' रिलिज भए पनि 'कोहिनूर' को व्यापार राम्रो हुनुलाई दर्शकले फिल्म हेरेरै नायक श्रीकृष्णप्रति समवेदना प्रकट गरेको बुझिएको छ। केही हलले त प्रांगणमा स्वर्गीय श्रेष्ठको तस्बिर नै राखेपछि दर्शकले फूल र अबिरसमेत चढाएका छन्। फिल्ममा समेत नायक श्रीकृष्णको निधन हुने र श्वेता विधवा बन्ने दृश्यले दर्शकलाई थप भावनात्मक बनाएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar