Headlines News :
fb
Home » » शुद्धिकरणका अधिकृत रंगेहात समातिएपछि...

शुद्धिकरणका अधिकृत रंगेहात समातिएपछि...

१० लाख घूससहित अधिकृत पक्राउ

(दस लाख रुपैयाँ घूस लिएर र्फकंदै गर्दा पक्राउ परेका सम्पत्ति
 शुद्धीकरण विभागका अधिकृत शम्भुप्रसाद चालिसे (बायाँ चेक सर्ट)
झोलाबाट पैसाको बिटो निकालेर अख्तियार टोली अघिल्तिर नाङ्लामा राख्दै।);

दस लाख रुपैयाँ घूस लिएर र्फकंदै गर्दा पक्राउ परेका सम्पत्ति शुद्धीकरण विभागका अधिकृत शम्भुप्रसाद चालिसे (बायाँ चेक सर्ट) झोलाबाट पैसाको बिटो निकालेर अख्तियार टोली अघिल्तिर नाङ्लामा राख्दै। तस्बिर : निमेषजंग राई/कान्तिपुर
काठमाडौ, भाद्र १ - गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेका व्यक्तिलाई सफाइ दिन १० लाख रुपैयाँ घूस लिएर फर्कदै गर्दा सम्पत्ति शुद्धीकरण विभागका अधिकृत शम्भु चालिसे रकमसहित पक्राउ परेका छन्।

अधिकृत चालिसे आरोपितको घरबाट घूस लिएर फर्कदै गर्दा शनिबार साँझ भैसेपाटीमा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ।

तम्घास-१ घर भई हाल भैसेपाटी-४ मा बस्दै आएकी मुनु गुरुङलाई गैरकानुनी रूपमा सम्पत्ति कमाएको आरोपमा विभागले अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा 'सफाइ पाउने मन भए मागेजति रकम चाहिन्छ,' भन्दै विभागबाट घम्क्याएपछि पीडितले अख्तियारमा खबर गरेकी थिइन्।

अनुसन्धानमा संलग्न अख्तियार टोलीका अनुसार, पछिल्लो समय रंगेहात पक्राउ गर्ने क्रम बढेपछि विभागका केही कर्मचारीले कार्यालय समयको साटो बिदाका दिन घरमै आएर रकम लिने बताएका थिए। सोही योजनाअनुसार चालिसेले सफाइको पत्रसहित गुरुङको घरमै गएर १० लाख रुपैयाँ बोकेर फर्कदै गर्दा बाटोमा पक्राउ परेका हुन्। उनले गुरुङलाई सफाइको पत्र तयार भइसकेको भन्दै देखाएर रकम पाएपछि मात्रै उक्त पत्र पाउने बताएर फर्किंदै थिए।

गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका क्रममा जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रमुखका रूपमा कार्यरत चालिसे त्यसपछि विभागमा सरुवा भएका हुन्। उनले पीडितबाट लिएको रकम निर्वाचन तालिमका क्रममा प्राप्त कालो झोलामा राखेर घर फर्कदै थिए।

पक्राउ परेका उनलाई भैसेपाटीको बाटोमै राखेर अख्तियारको टोलीले खानतलासी लिएको थियो। पाँचवटा सेतो खाममा १० मुठा नोट बोकेर हिँडेका उनले पक्राउ पर्नासाथ 'प्रारब्धको खेल' भन्दै प्रतिक्रिया दिए। रकम बरामद भएपछि भने उनले 'घरायसी कामका लागि सापटी लिएको' बताए।

अख्तियार टोलीले नाङलोमा रकम राखेर त्यसकै आधारमा बरामदी मुचुल्का तयार गरेको हो।

चालिसेको झोलाबाट टोलीले गुरुङका नाममा दिएको सफाइपत्र पनि बरामद गरेको छ। भदौ ३० गते जारी गरेको पत्रमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा गुरुङमाथि छानबिन भएपछि प्रमाण, बयान र अन्य कागजातका आधारमा प्रमाणित नभएकाले हाललाई उजुरी तामेलीमा राखिएको उल्लेख छ। पत्रमा अनुसन्धान अधिकृत जितेन्द्र बस्नेतको हस्ताक्षर छ।

घटनामा विभागका उच्च अधिकारीहरूको पनि संलग्नता हुनसक्ने अख्तियारका एक अनुसन्धान अधिकृतले बताए। ठूलो परिमाणको घूस भएकाले उच्च तहको मिलेमतो हुनसक्ने अख्तियारको आशंका छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा विभागका महानिर्देशक चूडामणि शर्मा सम्पर्कमा आउन चाहेनन्।
(भिडियो सहित)

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar