Headlines News :
fb
Home » » तीन करोडको खेलमा तीजको रहर आउँछ बरिलै कोही विदेशमा चल्तापुर्जा, कसैका 'ब्वाइफ्रेण्ड बन्छन् मुर्गा'

तीन करोडको खेलमा तीजको रहर आउँछ बरिलै कोही विदेशमा चल्तापुर्जा, कसैका 'ब्वाइफ्रेण्ड बन्छन् मुर्गा'

 २३ साउन, काठमाडौं । तीज नेपाली हिन्दू नारीहरुको ठूलो पर्व हो । त्यो भन्दा पनि बढि लोक कलाकारका लागि त यो महापर्वनै हो । तीजका बेला महिलाहरुले गच्छे अनुसारको खर्च गर्न प्रतिस्पर्धै हुन्छ, त्यो भन्दा ठूलो प्रतिस्पर्धा लोक कलाकारबीच यहि मौकामा तीजका एल्बमबाट कमाउने प्रतिस्पर्धा छ ।

हिन्दू नारीका लागि तीज अझै एक महिना बाँकी छ तर कलाकारलाई अहिले तीजको भ्याइ नभ्याइ छ । तीजका गीत निकाल्न गायक गायिकाहरुबीच प्रतिस्पर्धा चर्को छ । यहि मौकामा उत्कृष्ट तीज गीतलाई वितरण गर्न विभिन्न म्यूजिक कम्पनी पनि अगसर देखिएका छन् ।

गीतको भिडियो नबनाई चर्चामा आइदैन भन्ने सोचाई भने कलाकारमा बढ्दै गएको छ । यसैले पनि यसपटक लोकबजारका चर्चित मोडल, निर्देशकहरु भिडियो निर्देशन र अभिनयमा व्यस्त देखिए ।
तीजका गीतको अवधी निक्कै कम हुन्छ । एक महिना भन्दा धेरै न त गीत चल्नछन्, न भिडियो नै । तर पनि गायक-गायिकाहरु विभिन्न कारणका लागि लाखौ लगानी गरिरहेका छन् । मुख्यतः उनीहरुको आकर्षण विदेशमा कार्यक्रम गर्ने र यहि मौकामा लगानी उठाउनेमै हुन्छ ।
सयौं बजारमा, चर्चा थोरैको
यसपटक बजारमा एक सयको हारहारीमा गीत निस्किएको देखिन्छ । नेपालका चर्चित म्यूजिक कम्पनीका संचालकहरु गतबर्षको भन्दा यसबर्ष कम गीत बजारमा आएको बताउछन् । विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी यसपटक ३ वटा गीत मात्र बजारमा ल्याएको बताउछन् ।

‘अडियो क्यासेटको व्यापार सून्य जस्तै भएकाले कम्पनीहरु यसतर्फ आकषिर्त नभएका हुन् । अर्कोतिर तीजको गीतको अवधी थोरै हुने भएकाले पनि फाइदा छैन भन्दा पनि हुन्छ ।

 ‘ रेग्मीले भने ।
सगरमाथा म्यूजिकका संचालक हीरा केसी भन्छन्,’आत्मसन्तुष्टीका लागि मात्र २ वटा गीत बजारमा ल्याएका छौ ।’ उनले अडियो विक्री नभएकाले पनि प्रचारप्रसार नै नगरेको बताए । सीआरवीटी र पीआरवीटीका लागि मात्र गीतको प्रचार भएको देखिन्छ ।

यसपटक वुढासुब्बा म्यूजिकले तीज एल्बम बजारमा ल्याएको छैन । तर एल्बमको व्यवस्थापन मात्र गरेको देखिन्छ । विन्ध्यवासिनी म्यूजिकका संचालक रेग्मीका अुनसार तीजको गीत निकालेर कम्पनी र कलाकार दुबैलाई फाइदा हुन छोडेको छ । यो बर्ष गतबर्षको तुलानामा आधा गीत बजारमा आएको उनको भनाई छ ।
खर्चिलो भिडियो

चल्तिका केही कलाकार बाहेक अन्य सबैले म्यूजिक भिडियोमा रहरका लागि मात्र लगानी गरेका छन् ।
 यसबर्ष चर्चित निर्देशक शंकर वीसीले ३८ वटा म्यूजिक भिडियोको निर्देशन गरे । उनका अनुसार, एउटा गीतका लागि ५० देखि ७० हजारसम्म खर्च हुन्छ । अझ स्टूडियोमा छायांकन गर्ने र नायिकालाई लिने हो भने बजेट १ लाख सम्म पुग्छ ।

बजारमा आएका सबैजसो तीज गीतको भिडियो पनि निर्माण भएका छन् । म्यूजिक भिडियोमा मात्र १ करोड खर्च हुने आँकडा शंकरसँग छ । शंकर भन्छन्-’तीजको गीत भनेको २ करोडको खेल हो । तीज बजारमा १ करोड भिडियोतिर तथा १ करोड रेकर्डिङ र प्रमोशनमा खर्च हुन्छ ।

गायिका सुनिता दुलाले यसबर्ष करिब ६ लाख खर्च गरेर २ वटा गीत र भिडियो तयार पारेको बताइन् । उनका अनुसार महेश खड्का र सुरेश अधिकारीको संगीत भएकाले पनि गीत रेकर्डिङमा बजेट धेरै लाग्यो । भिडियो बनाउन पनि साढे २ लाख लगानी भएको उनको भनाई छ ।

मिडिया प्रमोशन र कभर डिजाइनमा मात्र साढे १ लाख खर्च भएको हिसाव उनले सुनाइन् । गायिका कोमल वलीले ‘हल्ला भो शिव जी’ बोलको गीतका लागि मात्र १ लाख खर्च गरेर भिडियो तयार पारेकी छन् ।

गीत रेकडिङमा मात्र ३५ हजार सकिएको उनको भनाई छ । टेलिभिजन प्रमोशनमा उनले डेढ लाख रुपैया एक महिनामा सिध्याएकी छन् । तीजको गीत निकालेर बजारसम्म ल्याउदा गोजीबाट ४ लाख हारहारीको बजेट सकिने उनले बताइन् ।

लगानी फिर्ताको आधार के त ?
तीजको भेल छोप्ने कमै मात्र कलाकार छन्, जसको लगानी फिर्ता हुने छनक देखिन्छ । गायिका सुनिता दुलालले यूट्यूब,सीआरवीटी, पीआरवीटी र विदेश कार्यक्रमबाट आफ्नो तीज लगानी फिर्ता हुने आशा पालेकी छन् ।

भदौको मध्य तिर तीजकै कार्यक्रममा उनी अमेरिका र क्यानडा जादैछिन् । यस्तै झापाका विभिन्न तीज कार्यक्रमका लागि आफूले एड्भान्स रकम लिइसकेको उनको भनाई छ । डीजीटल प्रविधिलाई आफूले वुझेकाले पनि लगानी फिर्ता गर्न गाह्रो नभएको दावी छ ।

तर तीजको गीत निकाल्ने सबै कलाकार यस्ता भाग्यमानी छैनन् । औलामा गन्न सकिने केही बाहेक सबैको लगानी रहर मात्र हो । धेरैजसो भने भीसीडी बजारमा ल्याएर आफन्तलाई विक्री गर्छन् । जसका कारण पनि लगानी फिर्ता हुने आधार देखिन्छ । भिडियो निर्देशक शंकर वीसी २ बर्षअघि सम्म २५ देखि ३० हजारसम्म भीडियो कलेक्शन विक्री हुन्थ्यो भन्छन्, तर अब यो एकादेशको कथा बनेको छ ।

गायिका कोमल वलीले आफूले विदेशका कार्यक्रम र नेपालकै स्टेज कार्यक्रमबाट लगानी फिर्ता गर्ने बताइन् । भीसीडी विक्री पनि ठप्प भएकाले यसपटक आफूले यतातर्फ ध्यान नदिएको उनको भनाई छ । एउटा भीसीडी तयार गर्न ९० रुपैयासम्म लागेपनि फिर्ता नआउने भएकाले यतातर्फ ध्यान नदिएको उनले अनलाइनखबरसँग भनिन् ।

जापान र दक्षिण कोरियामा आयोजना हुने तीज विशेष कार्यक्रमबाट लगानी उठ्छ भन्नेमा उनी ढुक्क छिन् । तर स्टेज कार्यक्रम र विदेशको सफर चल्तीका केही अनुहार बाहेक अन्यका लागि लंकामा सुन छ कान मेरो वुच्चै जस्तो हो ।

लहड, रहर र बाध्यता
कलाकारहरु तीजमा घाटाको व्यापार किन गर्छन् त ? यो प्रश्नको जवाफ एउटै छैन । तीजका एल्बम ३ प्रकारले निकालिन्छ । अधिकांश नयाँ कलाकार रहरका लागि एल्बम निकाल्छन् । मेरो पनि एल्बम बजारमा आएको छ है भन्ने देखाउनका लागि लगानी गर्नेहरु धेरै छन् ।

चल्तीका कलाकारका लागि भने वाध्यता जस्तै नै छ । १ बर्ष तीजका एल्बम बजारमा नल्याउँदा हराइएला कि भन्ने डर उनीहरुमा छ । अर्कोतिर, चल्तीका कलाकारको एल्बम दर्शक तथा श्रोताका लागि पनि प्रतिक्षामा रहने भएकाले, यो उनीहरुको वाध्यता पनि हो । गायिका सुनिता दुलाल आफूले एल्बम निकाल्नु वाध्यता भएको बताउँछिन् ।

ब्याइफ्रेण्ड बन्छन् मुर्गा
चल्तीका गायिकाहरु एल्बममा लगानी आफै गर्छन् । कारण तीजको गीत बजारमा ल्याउँदा उनीहरु स्टेज कार्यक्रममा व्यस्त हुन्छन् । विदेशमा घुम्न पुग्छन् र लाखौ कमाउँछन् । तर आधा दर्जन पनि यस्ता कलाकार छैनन्, जसको लगानी फिर्ता भएको होस् ।

विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी धेरै कलाकारको गीतमा लगानी गर्ने मानिस फरक-फरक हुने बताउछन् । कसैका प्रेमीहरु प्रेमिकाका लागि लाख खर्च गरिदिन्छन् । कतिपयले भने लगानी गर्ने मोडल खोजेका हुन्छन् । म्यूजिक भिडियोमा खेल्ने रहरका कारण पनि लगानी गर्ने मोडलहरु बढ्दै गएका छन् । कतिपय गायिकाले ब्याइफ्रण्डलाई मुर्गा बनाउने गरेका छन् ।

सीआरवीटी र पीआरवीटी पनि कमजोर
तीजका गीतका सीआरवीटी यसबर्ष कमजोर बनेका छन् । म्यूजिक व्यवसायिहरु यसपटक तीजको गीतको सीआरवीटी कमजोर भएको बताउछन् । केही समयअघि सम्म एउटै गीतको सीआरवीटी ५० हजारसम्म गएको अनुभव विन्ध्यवासिनी म्यूजिकका सुवास रेग्मी को अनुभव छ ।

कलाकारले एउटा गीतबा ५० हजार बढि कमाउथे । तर यसपटक तीजका गीत उत्कृष्ट २० भित्र पनि पर्न सकेका छैनन् । रेग्मी भन्छन् ‘नेपाल टेलिकममा यसपटक गीत नै डाउनलोड राम्रोसँग हुन सकेका छैनन्, एनसेलमा चोरी बढेको छ’ ।

सुवासको जस्तै तर्क सगरमाथा डीजीटलका हिरा केसीको पनि छ । उनले पनि यसपटक सीआरवीटी र पीआरवीटी कमजोर रहेको बताए । तीजको गीत सिजनमा निस्कने भएकाले पनि छोटो समयका लागि मात्र डाउनलोड हुन्छ, झन यसपटक कमजोर बनेको छ । गीतमा अश्लिलता बढ्नु पनि यसको मुख्य कारण रहेको म्यूजिक व्यवसायिहरुको धारणा छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar