काठमाडौं, भाद्र २ । मलेसियामा जारी एसीसी युथ सिक्सटिन प्रिमियर क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दै नेपाल उपाधि नजिक पुगेको छ । ६ टिम सहभागी राउण्ड रोविनका आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।
तीन खेलको समाप्तिसम्म नेपाल ६ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ५ अंकका साथ दोस्रो स्थानमा रहँदा समान ३-३ अंकका सिंगापुर र बहराइन क्रमशः तेस्रो र चौथो स्थानमा छन् । १ अंकको ओमान र अंकविहीन थाइल्याण्ड भने उपाधि होडबाट बाहिरिइसकेका छन् ।
पहिलो खेलमा थाइल्याण्डलाई १० विकेटले तथा दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको नेपालले तेस्रो खेलमा हिजो ओमानलाई १ सय २ रनले हरायो । नेपालले निर्धारित ४० ओभरमा अलआउट हुनुपुर्व १ सय ६४ रन जोडेकामा ओमानले २९ ओभर १ बल क्रिजमा टिकेर ६२ रनमात्र बनाउन सक्यो ।
नेपाललाई शानदार जित दिलाउने क्रममा अनिल खरेलले १६ रन खर्चेर ६ विकेट लिए । आजको खेलमा नेपालले बहराइनको सामना गर्दैछ । बहराइन केही कमजोर देखिएकाले पनि नेपाल हावी हुने अनुमान गरिएको छ ।
अन्तिम खेलमा नेपालको भिडन्त बुधबार मलेसियासंग हुनेछ । आजको खेलमा नेपालले सकारात्मक परिणाम निकाल्दा यदि मलेसिया सिंगापुरसंग पराजित भए एक खेल खेल्न बाँकी छँदै नेपालले उपाधि पक्का गर्नेछ ।
यो उपाधि जिते नेपालले एसीसी युथ सिक्सटिन क्रिकेटमा पहिलो पटक उपाधि जित्नेछ । यसअघि एसीसी युथ सिक्सटिन एलिट कपका नामले भएको दुई प्रतियोगितामा नेपाल दुवै पटक फाइनलमा पराजित भएको थियो ।