परासी : जंगलमा रमाउने बाघ पछिल्ला दिनमा मानव बस्ती पस्न थालेको छ। नवलपरासीको त्रिवेणी क्षेत्रमा अहिले बाघले आतङ्क नै मच्चाई रहेको छ। उक्त बाघलाई नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती सहितको टोलीले चार दिनदेखि जंगलमा खोजतलास गरेपनि फेला पार्न सकेको छैन। बाघ जंगल छाडेर शुक्रवार रातीदेखि बस्ती आएर आतङक मच्चाउन थालेपछि सर्वसाधारण हतास भएका छन।मानव क्षति पुर्याउँदै एक सातादेखि त्रिवेणीस्थित मध्यवर्ती सामुदायिक वनमा आतंक मच्चाएको बाघलाई नियन्त्रणा लिन बिहिवार तिनवटा हात्ती सहित दुई जना रेञ्जरको कमाण्डमा टोली पठाईएपनि अहिले सम्म फेला पार्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन कमलजंग कुँवरले बताए। हिरो, सुन्दरप्रताप र दिपेन्द्रगज नाम गरेका हात्तीमा सवार १४ जनाको टोलीले चार दिन लगाएर बनमा खोजी गरेपनि फेला पार्न नसकेको कुवरले बताए।
दुई वटा वच्चा सहित सुत्केरी अवस्थमा रहेको उक्त बाघ जंगल छाडेर त्रिवेणी ८ स्थित साहुमारा गाउँको उखुबारीमा गएको जानकारी आएकाले शनिवारदेखि त्यस क्षेत्रमा खोजी कार्य शुरु गरिएको त्रिवेणी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लक्ष्मण गौतमले बताए। गाउँ नजिक गएको बाघले बाख्रा र अन्य पशु चौपायालाई मार्न थालेको उनले बताए। १५ दिन अघिदेखि आतंक मच्चाएको बाघले अहिले सम्म त्रिवेणीका एक स्थानिय महिला र १० भन्दा बढी चौपायलाई मारेको छ भने एकजना महिलालाई घाईते बनाएको छ।

