Headlines News :
fb
Home » » बलात्कार गर्न आएको भन्दै बन्चरो प्रहार

बलात्कार गर्न आएको भन्दै बन्चरो प्रहार

 धनगढी– एक महिलाले बन्चरो प्रहार गर्दा अत्तरिया गाविसका एक पुरुष गम्भीर घाइते भएका छन्। आइतबार मध्यराति अत्तरिया गाविसकी ३१ वर्षीया ममता चुनाराले स्थानीय पूर्ण साउदलाई बन्चरोले हिर्काएकी हुन्।

मध्यराति बलात्कार गर्ने उद्देश्यले ढोका फोडेर भित्र छिरेपछि आत्मरक्षाका लागि बन्चरो हानेको चुनाराले बताएकी छिन्। 'म दुई नाबालक छोरासँग सुतिरहेकी थिएँ, राति १ बजे झ्यालबाट कपाल तानेपछि निद्रा खुल्यो। त्यसपछि ढोका खोल भन्दै करायो। ढोका फुटाउन थाल्यो,' अत्तरिया नगरपालिका–२ चौकीडाँडाकी उनले भनिन्, 'भित्रै छिरेपछि बन्चरोले हानेकी हुँ, अँध्यारोमा केही देखिनँ। त्यसपछि ऊ भाग्यो। मैले तुरुन्तै छिमेकी र प्रहरीलाई खबर गरें।' ढोका फोड्नुअघि बाहिर अरू दुई जनाको पनि आवाज सुनेको उनले बताइन्।

प्रहरीका अनुसार साउदको अवस्था चिन्ताजनक छ। खबर पाएलगत्तै राति २ बजे नै प्रहरी नायब निरीक्षक मीनबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगे पनि साउदलाई फेला पार्न सकेको थिएन। सोमबार बिहान ५ बजे ममताको घरबाट दक्षिणतर्फ केही पर खोलामा उनी बेहोस अवस्थामा फेला परेका थिए। 'उनलाई तत्काल उपचारका लागि पदम अस्पताल पुर्यामयौं,' सिंहले भने। घरको ढोका तोडफोड भएका आधारमा महिलाले प्रतिरक्षाकै लागि बन्चरो हानेको देखिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। साउदसँग गएका भनिएका अन्य दुईको भने पहिचान हुन सकेको छैन।

यद्यपि साउदले होसमा आएपछि आफू बलात्कार गर्न गएको नभई महिलाले आफूलाई बन्दी बनाएर बन्चरो हानेको र साथमा अरू कोही नभएको बयान दिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक कुलदीप चन्दले बताए। 'साउदले आफूले ढोका तोडफोड नगरेको र घरभित्रै रहेका बेला महिलाले हातखुट्टा बाँधेर बन्चरोले हिर्काएको बताएका छन्,' उनले भने। उनको टाउकोमा पाँवटा र बायाँ खुट्टाको गोलीगाँठोमा अर्को गहिरो चोट रहेको प्रहरीले जनायो। अवस्था चिन्ताजनक रहेकाले उनलाई सोमबारै हवाईजहाजमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

पति रोजगारीका लागि मुम्बई रहकी ती महिला सात वर्षीय र दस वर्षीय छोराका साथ घरमा बस्दै आएकी छन्। मध्यरातमा ढोका फोडेर बलात्कार गर्न खोज्नेलाई आत्मरक्षाका लागि बन्चरो प्रहार गरेकाले ममतामाथि कुनै कारबाही नहुने प्रहरी उपरीक्षक जोशीले प्रस्ट्याए। 'घटनाको अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'आत्मसुरक्षाको उद्देश्यले बन्चरो हानेकाले साउदको मृत्यु नै भए पनि उनलाई कारबाही हुँदैन। महिलाले बहादुरी प्रदर्शन गरेकी छन्।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar