Headlines News :
fb
Home » » एघार प्रहरीविरुद्ध आयोगमा हत्याको उजुरी

एघार प्रहरीविरुद्ध आयोगमा हत्याको उजुरी

 
खोटाङ– प्रहरी थुनामै ज्यान गुमाएका पाथेका–२ का किरण राई भुदेउको हत्या दाबी गर्दै हालिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानको आफन्तले बताएका छन्। उनीहरूले सोमबार जिल्ला प्रहरी कार्यालयका डिएसपीसहित ११ जनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी हालेका छन्। प्रहरीको यातनाका कारण भुदेउको मृत्यु भएको दाबी परिवारले गर्दै आएका छन्। 

प्रहरीले उजुरी दर्ता नमानेपछि आयोग गुहार्नुपरेको मृतकका पिता बुद्धिबहादुर राईले बताए। घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूको माग छ। जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक राजिव बस्नेत, प्रहरी निरीक्षक रमेश देवलगायतलाई विपक्षी बनाई दिइएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको आफन्त रन्जिब राईले बताए। ज्यान मारेको अभियोगमा २०७० साल जेठ २८ गते पक्राउ परेका भुदेउको गत २०७० साल असार २६ गते थुनामै ज्यान गएको थियो। पोस्टमार्टम रिपोर्ट तथा मानवअधिकार आयोगको छानबिन प्रतिवेदनले यातनाकै कारण मृत्यु भएको पुष्टि गरे पनि दोषीमाथि कारबाही नभएको भन्दै परिवार चिन्तित छन्। उनीहरू सोमबार पनि उजुरी दर्ता गराउन जिप्रका पुगेका थिए। डिएसपी गोविन्द शाह कार्यालयमा नभएको कारण देखाउँदै अस्वीकार गरेपछि उजुरीपत्र कार्यालयमै छाडेर फर्किएको रन्जिबले जानकारी दिए। 

मानवअधिकार आयोगले २०७० भदौ १९ गते घटनामा संलग्न प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का, प्रहरी नायब निरीक्षकहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद बिडारीलाई ज्यानसम्बन्धी महलबमोजिम र तत्कालीन प्रहरी नायब उपरीक्षक बस्नेत र प्रहरी निरीक्षक देवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सिफारिस गरेको थियो। आयोगले पीडित परिवारलाई आयोग ऐन २०६८ बमोजिम ३ लाख क्षतिपूर्ति पनि सिफारिस गरेको थियो। तर, आयोगको सिफारिस कार्यान्वयन नभएको आफन्त बताउँछन्। 
पीडित परिवारको निवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको आयोग उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताए।

 आँखामा रगत जमेको, अनुहार र हातखुट्टा सुन्निएको, रगत छादेको र पिसाबबाट रगत गएको देखिएकाले प्रहरी यातनाकै कारण राईको ज्यान गएको पीडित परिवारको दाबी छ। तर, जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिएका राईको निमोनियाका कारण ज्यान गएको प्रहरीले बताउँदै आएको छ। कुटपिट र यातना दिइएको छोरोलाई प्रशासन र प्रहरीले निमोनियाका कारण ज्यान गएको भन्दै घटना ढाकछोप गर्न खोजेको आमा लक्ष्मी राईले बताइन्। आयोगले 'मल्टिपल ब्लनफोर्स इन्जुरी इन लोअर लिम्ब्स'का कारण भुदेउको ज्यान गएको प्रतिवेदन सार्वजनिक गरेको थियो। आफन्तले राईको मृत्युलाई शंकास्पद मानेपछि जिल्लाबाहिरका चिकित्सक ल्याएर मानवअधिकारकर्मीको रोहबरमा चार दिनपछि शव पोस्टमार्टम गरिएको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar